नयाँ राजदूत नआउँदै रामचन्द्र,आरजु र मधेशवादी नेता दिल्ली दौडाहामा

२०७६ फाल्गुण २ शुक्रबार १२:०१:०० मा प्रकाशित

काठमाडौं । भारतीय राजदूत विनय मोहन क्वात्रा फागुनको दोस्रो हप्ताभित्र नेपाल आइपुग्दैछन् । उनले नेपाल आएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र लिनेछन् । त्यस अगावै उनले दिल्लीबाटै नेपाल बसाईंमा गर्ने कामबारे गृहकार्य गरिरहेको बुझिएको छ । नेपाल मामलाका जानकार र नेपालमा कुटनीतिज्ञका रुपमा काम गरिसकेकाहरुसँग परामर्श गरिरहेका छन् । नेपाल मामाघर भएका भारतीय विदेश सचिव भएकाले पनि यसपटक नेपाल मामलामा भारतले विशेष महत्व दिनसक्ने देखिएको छ । 

मोदीका अति विश्वासपात्र क्वात्रा नेपाल पठाइनुलाई अर्थपूर्ण मानिएको छ । गुजराती मूलकै क्वात्रा मोदीले विश्वास गरेरै फ्रान्स पठाइएका थिए । उनी फ्रान्समा रहँदा भारतले राफेल लडाकु हेलिकोप्टर खरिद गरेका थियो । क्वात्रा भविष्य बोकेका कुटनीतिज्ञका रुपमा चिनिन्छन् । अहिले भारतको विदेश मन्त्रालयमा नेपाल हेर्ने डेक्समा पियुष श्रीवास्तव छन् । उनी नेपालमा डिसिएम भइसकेका कुटनीतिज्ञ हुन् । 

क्वात्रा नेपाल नआउँदे केही नेपाली नेताहरु दिल्ली पुगिसकेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरामीको बहाना गर्दै दिल्ली पुगी राजनीतिक भेटघाट गरी   फर्किए । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा पनि दिल्ली पुगेर फर्किइसकेकी छिन् । अहिले मधेश केन्द्रित दलका नेताहरुको दिल्ली दौड चलेको छ । राजेन्द्र महतो, शरत्सिंह भण्डारी देखि राजकिशोर यादव समेत दिल्लीमा छन् । उनीहरुले पनि महत्वपूर्ण भेटघाट गरेको बुझिएको छ । महेन्द्र राय यादव दिल्ली पुगेर फर्किइसकेका छन् । क्वात्रा नआउँदै दिल्लीको सक्रियताका रुपमा यो घटनालाई लिइएको छ । मधेश केन्द्रित दलहरुभित्र विभाजनको रेखा कोरिँदै गर्दा तिनका नेताहरुको दिल्लीयात्रालाई महत्वका साथ लिइएको छ । 

को हुन् क्वात्रा 

सन् १९८८ को भारतीय विदेश सेवा आइएफएस ब्याचका अफिसर नरेन्द्र मोदी क्वात्रा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । उनलाई पछि प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो । मोदीले निकै रुचाएका विदेश मन्त्रालयका कर्मचारी हुन् उनी । मोदीले उनलाई निजी सचिव बनाउन खोजेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए । 

क्वात्रा विज्ञानका विद्यार्थी थिए । एमएससी गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आइएफएस बनेका थिए । जेनेभामा पोष्टिङ्ग हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए । उनीसँग झण्डै ३० वर्ष विदेश सेवामा काम गरेको अनुभव छ । सन् १९८८ मा भारतीय विदेश सेवामा आइपिएस अफिसरका रुपमा सेवा शुरु गरेका उनीसँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । जेनेभामा रहँदा नै अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन पनि गरेका थिए । 

क्वात्राले संयुक्तराष्ट्र संघ सम्बन्धित डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्को दश वर्ष राष्ट्र संघ सम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा समेत काउन्सिलरका रुपमा काम गरे । उनी पछि डिसिएम समेत भएका थिए । उनी चीनबारे समेत जानकार छन् । भारतीय विदेशमन्त्री एस. जयशंकर राजदूत हुँदा समेत उनले काम गरेका थिए ।

क्वात्रा नेपालबारे समेत जानकार छन् । उनी सन् २००६ देखि २०१० सम्म नेपाल बसेका थिए । काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार ब्युरोको प्रमुख भएर काम गरे । नेपाललाई त्यतिबेला क्वात्राले नजिकबाट बुझ्ने मौका पाएका थिए । सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रुपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । क्वात्राले दुई वर्ष भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी फ्रान्सका लागि राजदूत भएका थिए । 

आजको विमर्शले लेखेको छ– नेपालमा बसेर काम गरिसकेका, चीन, अमेरिका, यूरोपसमेत बसेर काम गरेका उनीसँग कुटनीतिक क्षेत्रको राम्रो ज्ञान छ । यसकारण पनि क्वात्राको नेपाल बसाईंलाई निकै महत्वका साथ हेरिएको छ ।
 

ताजा खबर