सिड्नी

२०७६ फाल्गुण २ शुक्रबार ११:१२:०० मा प्रकाशित

लामो समय मुङ्लानिएको
उमेर मुङ्लानले नै छिनाएको
बयमा ऐले चालिस पार गरेको
त्यो ऐत बहादुर हुनुपर्छ ।

 

अर्थात् थुप्रै ऐतबहादुरहरूकोझुण्ड हुनुपर्छ 
कति सपनाहरू आए तिनका नजिक
कति पनि विपना बन्न सकेनन्
सपना देखाउनेका कति महल र हवेली बने
तिनका झोपडी पनि उसै भत्किए
वर्तमानमा सपनाको साम्राज्य भत्किए झैं ।


लामो सुस्केरा छाडेर
लखतरान ऐतबहादुरहरू भाडाको चुकुल खोल्छन्
पल्टन्छन् निदाँउछन् सपनामा पनि सपना देख्दैनन्
विपनामा पनि सपना देख्दैनन्
सपना फोविया बनेको छ ऐतबहादुरहरूलाई ।


ऐतबहादुरहरू,
मुङ्लानमा कोही मरूभूमिमा हिमाल खोज्छन्
त्यो पनि सपना नै बन्छ
कोहि हिऊँमा घाम खोज्छन्
त्यो पनि सपनै बन्छ
हुँदा हुँदा आजकाल सपना ऐतबहादुरहरूलाई
भय बनेको छ
नमीठो डर बनेको छ
नमीठो कहर बनेको छ ।


सपना देखाउनेहरू पनि उता आफ्नै जमिनमा भयभित हुनथालेका छन्
र लुकि लुकि मुङ्लानमा हवेली कस्न थालेकाछन् ।
 

ताजा खबर