'सुनसान छ डबल सुब्बाको गाउँ, बैरागी काइँला एकपटक पौवासार्ताप जाउ'

२०७६ फाल्गुण १ बिहीबार १३:२०:०० मा प्रकाशित

हरेक दिन ढल्किएपछि जब साँझपर्छ अनि मनमा यस्तो लाग्छ– आजको दिन पूरा बाँच्न पाइयो । अनि ईश्वरलाई धन्यवाद दिन मन लाग्छ । भोलिपल्टको सूर्योदय देखेपछि फेरि अर्कोदिन हेर्न दिएकोमा फेरि ईश्वरलाई धन्यवाद दिन मन लाग्छ, सबैको लागि कामना गरेर । खै किन हो अचेल लाग्छ– हरेक साँझ मेरो अन्तिम साँझ हो । त्यसैले अचेल हुट्हुटी लाग्छ– प्रत्येक दिन केही नयाँ देखियोस् ।

पाँचथरको पौवासार्ताप मेरो लागि नयाँ गन्तव्य । राँके बजारभन्दा केही माथि रहेको गुम्बाडाँडाबाट पश्चिम लाग्नु पर्ने । खै किन हो, त्यो स्थानले धेरै अघिबाट मलाई तानिरहेको । एक्लै घुमेर आउँ लागेको हो धेरैपल्ट । तर मौका जुरिरहेको थिएन । यसपटक अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले त्यहाँ पुग्ने अवसर जु¥यो । त्यसका लागि मित्र धर्मेन्द्र नेम्वाङप्रति आभारी छु ।

पहाडप्रति किन प्रेम छ मेरो मनभरि, मलाई नै थाहा छैन । तर त्यहाँ पुगेपछि लाग्छ– सबै सोहोरेर मनभरि सजाउँ । हराउँ यिनै डाँडापाखाहरुमा । अनि कसैले नभेटुन् कुनै जुनीमा पनि । म एक्लै भेटिरहँुँ यी सबै–सबै थोक जस्तो लागेर आउँछ । प्रकृतिप्रतिको त्यो भोको प्रेमको अर्थ मैले आफैं बुझेको छैन, किन त्यस्तो हुन्छ मेरो मनमा ? यस पटकको पौवासार्तापको यात्राले त्यो भोक अझै बढी जगायो । 

यो यात्रा लामो थिएन– एक रात र एक पूरै दिन मात्र । तर त्यहाँ पुगेपछि लामो इतिहासको मधुरो दृश्यले केही प्रश्नहरु उब्जायो मनभरि । 

हामी एउटा असल मान्छेको नाममा स्थापित संस्थाको कार्यक्रममा सहभागी हुन पुगेका थियौं । अमर नेम्वाङ त्यो परिचय रहेछ, जो बौद्धिक मात्र होइन, आफ्ना उमेरका हरेक क्षण राजनीतिसँग जोडिएर गाउँबाट कहिल्यै टाढा बस्न मन नगर्ने व्यक्तित्व । जनप्रतिनिधिविहिन द्वन्द्वकालका केही बर्ष बाहेक राजनीतिक जिम्मेवारीबाट कहिल्यै पाखा बस्नु नपर्ने गरी स्थानीय नागरिकबाट अनुमोदित व्यक्ति । जीवनका उत्तराद्र्धतिर वातावरणीय साहित्यमा गहन पदार्पण गरेका प्रकृतिप्रेमी साहित्यकार ।

गतबर्ष जनप्रनिनिधिको रुपमा रहँदा नै सार्वजनिक मंचमा वेहोस भएर लडेपछि देहत्याग गरेका उनका नामबाट उनकै सन्तानहरुले प्रतिष्ठान स्थापना गरेछन् र विविध सामाजिक कार्यहरुको थालनी भएको रहेछ । त्यसैका लागि डा. देवीप्रसाद दुलाल र मुनाराज शेर्मालाई साहित्य सेवाका लागि निर्वाह गरेको भूमिकाका लागि पहिलो पल्ट एक लाख राशीको पुरस्कार संयुक्त रुपमा प्रदान गरिने कार्यक्रम थियो यसपालि । त्यसै कार्यक्रममा मित्र धर्मेन्द्र नेम्वाङको निम्तामा अमर नेम्वाङप्रति श्रद्धासुमन अर्पण गर्न पुगियो त्यहाँ ।

 अमर नेम्वाङ सशरीर रहँदा मेरो कहिल्यै पनि उनीसँग साक्षात्कार भएन । मैले नामले मात्र सुनेको हुँ उनका सद्गुणहरु । आफैंले प्रत्यक्ष अनुभूति गर्न पाइनँ । तर उनको नामसँग मेरो कर्म कहीं न कहीं जोडिदिएकै रहेछन् ईश्वरले । त्यसैले त उनको नाम पछ्याउँदै उनको गाउँ पुग्ने अवसर जु¥यो । उनको घरमा बास बस्न जु¥यो । त्यति मात्र होइन, उनको घरको दालभात खान पनि जु¥यो । यो घटनाले लाग्छ– खासमा प्रविधिले सशरीर भेट हुने साइत नजुरे पनि भावनात्मक सम्बन्धको लेखान्त त उहिल्यै कहिले लेखिएकै रहेछ । 

अमर नेम्वाङ मात्र भेटिनँ मैले पौवासार्तापमा । नेम्वाङ परिवारको एउटा इतिहास पनि भेटें । एउटा ठूलो, सम्मानित र इतिहास निर्माण गर्न सफल परिवारको मूलथलो भेटें । मूलथलो संरक्षण बिर्सिएर आआफ्नो भविष्य बनाउन उडेका नेम्वाङ परिवारको विरह लाग्दो गाउँ पनि देखें । 

पौवासार्ताप पुगेपछि लाग्यो– पहाडका हरेक गाउँ यही गाउँ जस्तै होलान् । जहाँ बूढाबूढी छन्, केटाकेटीहरु पनि छन् । बाहिर निस्कन नसकेर घर रुँघेर बसेका घरेलु महिलाहरु  छन् । स्कूल पढ्ने किशोरीहरु पनि छन् । तर अधिकांश युवाहरु छैनन् । गाउँ छ, तर गाउँलेपन छैन । प्रकृति छ, त्यसको उपभोग गर्ने उत्साह छैन । सबैका अनुहारहरु थाकेका  छन् ।

 भएका अधिकांश मान्छेहरु रक्सीले मातेका छन् । किन मात्छन् उनीहरु त्यति धेरै, उनीहरु आफैंलाई थाहा छैन । पुग्नु पर्ने कहीं छैन । अवसरहरु छैनन् । कसैलाई कुनै किसिमको आडम्बर देखाउनु पनि छैन । प्रतिस्पर्धा गर्नु पनि छैन । संघीयता आए पनि त्यहाँबाट चिच्याएको आवाज पल्लो डाँडोमा ठोकिएर पराकम्पन आउनु बाहेक अन्त कहीं पुग्दैन । त्यसैले शान्त तलाउ जस्तो देखिन्छ पहाड, आफैंै मातेर पल्टिएको । तर राजनीति भूमरी त्यहाँभन्दा बढी कहाँ परेको होला र ?

 पौवासार्तापमा यस्तो घर पुगियो, जहाँबाट विभिन्न समयमा राजनीति, साहित्य, खेलकुद लगायत विविध विषयमा राष्ट्रिय पहिचान बनाएका नेम्वाङहरुले सधैं शिर झुकाएर नमन गर्नुपर्ने पैतृक देवस्थल रहेछ । तर ती नेम्वाङहरु जसले शरीरभरि पितृहरुको रगत कुदाएर पनि आफ्नो थातथलो बिर्सिएछन् लाग्यो । किनकि पौवासार्ताप पहाड भएका नेम्वाङहरुको मूल खाँवो थिए मनप्रसाद (हर्कबोली) नेम्वाङ । जसले बनाएको एउटा ठूलो घर रहेको छ । त्यो घर आज निर्जन भएको छ । मक्काउँदै गएको छ । जंगल भएको छ त्यो घरआँगन । अहिले त्यहाँ पितृ भइसकेका आत्माहरु बाहेक कोही बस्दैनन् ।

 प्रजातन्त्रको आन्दोलनमा कोइराला परिवारपछिकै योगदान दिने परिवारका रुपमा यही परिवार आउँछ । पाँचथरमा बसेर कांग्रेस उत्पादन गर्ने घर यही हो भन्दा अत्युक्ति हुँदैन । मनप्रसाद र उनका छ जना श्रीमतीबाट फैलिएको परिवारको जालो आज अनुमानित चार सय पुगिसकेको होला । त्यत्रा विघ्न सन्तान फैलाउने र कांग्रेसजनका लागि समेत तीर्थस्थल जस्तो रहेको त्यो घर किन त्यसरी परित्याग गरियो ? मनभरि प्रश्नैप्रश्न जन्मिन्छ ।

 मनप्रसादका चार भाइ छोरा भए । जसमध्ये जेठा राजबहादुर निसन्तान नै स्वर्गारोहण भए । माइला नरबहादुरका पाँच भाइ भए । उनका सन्तानहरु मध्ये माइला नरेन्द्र विक्रम नेम्वाङ त नेपाली कांग्रेसका तर्फबाट सांसद मात्र भएनन्, मन्त्री नै भए । उनै नरेन्द्र विक्रमका चार भाइ मध्ये माइला पंकज नेम्वाङ हाल एन्फाको बरिष्ठ उपाध्यक्ष पदमा विराजमान छन् ।

 माइला छोरा खड्कबहादुर जसलाई डबलसुब्बा समेत भनेर चिनियो । उनका आठ भाइ सन्तान मध्ये साइँला भूविक्रम नेम्वाङ नेपाली राजनीतिका क्रान्तियोद्धाका रुपमा देशले सम्मान गर्ने स्थानमा पुगे । नेपाली कांग्रेसको राजनीतिमा उनी सधैं सम्मानित रहे । डबलसुब्बाका काइँला सन्तान तिलबिक्रम नेम्वाङ, जसलाई बैरागी काँइला भनेर हामी चिन्दछौं, नेपाली साहित्यमा तेस्रो आयामका प्रवद्र्धकहरु मध्ये मात्र रहेनन् उनी, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने ।

 कान्छा नरवीर नेम्वाङका एघार भाइ सन्तान भए । जसमध्ये जेठा छोरा दिव्यविक्रम नेम्वाङ क्रान्तिकारी योद्धा बने । आज उनका सन्तानले दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान गठन गरेर विभिन्न सामाजिक गतिविधिहरु गर्दछन् । नरवीरका माइला छोरा अमर नेम्वाङ विद्वान मात्र होइन, राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा सधैं अनुमोदित नाम । जसका जेठा छोरा मुनिन्द्र हाल नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाका निर्वाचित महासचिवका रुपमा क्रियाशील छन् ।

नरवीरका साइँला छोरा कृष्णविक्रम पनि क्रान्तियोद्धा थिए । जसका साइँला धमेन्द्र विक्रम हाल साहित्य क्षेत्रको बेग्लै पहिचानका रुपमा राष्ट्रिय रुपमा नै स्थापित नाम हो । धर्मेन्द्र साहित्य मात्र लेख्दैनन्, उनी नेपाली कांग्रेसको छातामुनि बसेर राजनीतिमा पनि पहिचान स्थापित गरिसकेका छन् ।

 नरवीरका काइला छोरा विरही काँइलाका नामले प्रख्यात छन् । हाल उनी अमेरिकामा बस्छन् । मुन्धुमका १५–२० पुस्तक नै लेखिसकेका छन् । अन्तरे राजेन्द्र परदेशी माक्र्सवादी थिए । साहित्य र माक्र्सवादी राजनीतिमा उनले बडो संघर्ष गरेको इतिहास हामी पाउँछौं ।

आज अधिकांश नेम्वाङ परिवार आर्थिकरुपमा सम्पन्न छन् । तर पितृको त्यो प्रसाद अपहेलित छ । उनीहरुलाई पितृको त्यो सिर्जनाको आवश्यकता छैन, त्यस्तै बुझिन्छ । यी नाम मैले यहाँ उच्चारण गर्नको कारण हो, मैले देखेको उनीहरुको पितृतीर्थस्थलको अवहेलना । मैले जानेबुझेका यी नामहरु सम्झिंदा मनमा श्रद्धा जागेर आउँछ । उनीहरु प्रति मलाई जसरी श्रद्धा जाग्छ, के उनीहरुलाई त्यहाँसम्म पु¥याउने त्यो स्थानप्रति उनीहरुको सम्मान जाग्नु पर्दैन ? जाग्दैन ? मनमा प्रश्न जागेको छ ।

पुरातत्व हिसाबले पनि सय बर्षभन्दा माथिको उमेर बोकेको त्यो संरचना अब संरक्षण गर्ने बेला आएको छ । कि त त्यसलाई नेम्वाङ परिवारले प्रतिष्ठान बनाएर संरक्षण गर्नुपर्छ, वा त्यसलाई अभिलेखालय वा संग्राहलयका रुपमा विकास गर्ने गरी राज्यलाई हस्तान्तरण गर्नुपर्छ ।

यतिखेर नेम्वाङ परिवारका सम्पन्न सन्तानहरुले आफ्ना पिताहरुको योगदानलाई सम्मान गर्ने गरी छुट्टाछट्टै संस्थाहरु स्थापना गर्ने र सामाजिक गतिविधि गर्ने गरेको जस्तो देखियो । त्यहाँ पुगेपछि मलाई लाग्यो– अब नेम्वाङ परिवारहरुले एउटा सक्रिय र संगठित हर्कबोली प्रतिष्ठान नै गठन गर्नुपर्छ र सोहीको मातहतमा अम्बर नेम्वाङ, दिव्यविक्रम नेम्वाङका नाममा स्थापित संस्थाहरु समेत सहभागी बनेर सोही मूलघरबाट थुप्रै थुप्रै गतिविधिहरु संचालन गर्नुपर्छ ।

इतिहास नबुझ्नेहरुले, इतिहास नखोज्नेहरुले, इतिहास मन नपराउनेहरुले पृथ्वीनारायण शाहको शालिक ढाले जसरी हर्कबोलीको इतिहास बोकेको घर ढाल्नेछन् कुनै दिन । त्यसपछि मेटिनेछ त्यहाँबाट शुरु भएको प्रजातन्त्र प्राप्तिको लडाइँ बोकेको इतिहास । चेतनाका लागि संघर्ष गरेको इतिहास । त्यसैले त्यो घर ढल्नु भन्दा अगाडि नेम्वाङ परिवार र आजको संघीयताको कुर्सीमा चाक अड्याउने गरी नेतृत्व पाएका व्यक्तिहरुले नै आफूलाई यहाँसम्म ल्याउन सहयोग गरेको त्यो इतिहासको संरक्षण गर्नुपर्छ ।

 त्यो संरक्षण होस् र त्यसको आधारमा फेरि पनि पौवासार्ताप पुगिरहन पाउँ । त्यसैको छायाँमा गाउँ छाडेर हिंडेकाहरु गाउँ फर्किउन् र फेरि जागोस् रानो हराएको त्यो गाउँ । त्यसको आधारमा मलाई पनि त्यहाँ पुगेर हराएको मेरो प्रेम पटक पटक खोज्ने अवसर जुरोस् । पौवासार्तापमा त्यो इतिहास संरक्षण भएको दिन मेरो मनले खोजेको प्रकृतिप्रतिको मेरो भोको प्रेम भेट्ने छु, म आशावादी छु । [email protected]

    
 

ताजा खबर