किन पति पत्नी अतिरिक्त शारीरिक सम्बन्ध राख्छन् ?

२०७६ माघ २१ मंगलबार १३:४५:०० मा प्रकाशित

 सम्बन्ध विच्छेद भन्नाले सामाजिक मान्यता पाएको विवाहको वैधानिक अन्त्यलाई जनाउँदछ । यसमा वैधानिक भनेको महिलाले आफूखुशी एकपटक विवाह गरेपछि पुनः अर्को विवाह गरिन् भनेपनि त्यसलाई समेत जनाउँछ । हाम्रो सामाजिक परिवेश सामाजिक मूल्यमान्यतामा अडिएको छ । अहिले पनि कतिपय समाज यिनै मूल्यमान्यताको आधारमा बाँचेका   छन् । जीवन शहरीया भयो भने यसले फेर्ने कोल्टे पनि शहरीया नै हुन्छ । यहाँको चालचलनमा सामाजिक मूल्यमान्यता भन्दा पनि देखासिकि मान्यताले बढि महत्व पाउँछ । किनभने यहाँ मानवअधिकारीवादीको मूल्यमान्यताले बढि काम गर्न थालेपछि सामाजिक मूल्यमान्यताहरु धरासायी हुन जान्छन् । लोग्ने स्वास्नी, जोइपोइ  वा महिला पुरुषका बीचमा सामाजिक रुपमा सर्वस्वीकार्य हवस पूरा गरी सन्तान उत्पादन गर्नको लागि विवाह नामको संस्थाको जन्म गराइएको हो । यसको वैज्ञानिक कारण समाजको व्यवस्थित परिचालन नै हो । समाजको व्यवस्थित परिचालन गर्नको लागि कि त कानुनको आवश्यकता पर्छ कि मूल्यमान्यताको । हामीकहाँ मूल्यमान्यताले बढि काम गरेको पाइएता पनि वर्तमान परिस्थिति अलिक फरक रहेको पाइन्छ । 

वि.सं. १९१० को मुलुकी ऐन आउनुभन्दा अगाडि सामाजिक मूल्यमान्यताको बढि महत्व थियो । पछि सोही मुलुकी ऐनले सम्बन्ध विच्छेद गराउने काम गर्न लाग्यो । विभिन्न कालखण्डमा मुलुकी ऐनमा सुधार हुँदै गयो र २०७४ सालपछि मर्दामर्दैको मुलुकी ऐनको सट्टा मुलुकी भन्ने शब्द धन्न जोगियो । अन्य समाजमा स्थापित व्यवस्था समायानुकूल परिवर्तन भए वा गराइए कानुन बनाउने नै जानुन् । समाजको व्यवस्थित परिचालन भएन भने समाजमा विभिन्न कुरीतिहरु जन्मिन्छन् । समाजको अहिलेको एक कुरीति सम्बन्ध विच्छेद हो । हाम्रो समाज पितृसत्तात्मक समाज हो । पुरुष प्रधान हुने समाजमा महिला यसैपनि गौण अवस्थामा हुन्छन् । मानिसको अस्तित्व छ । यसका जन्मसँगै आफ्ना स्वतन्त्रता पनि छन् । तर, परीवारिक व्यवस्था विगार्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कोही न कोही रातोदिन मेहनत गरेर लागि परेको प्रतित हुन आउँछ । 

सम्बन्ध विच्छेदका कारण

सम्बन्ध विच्छेदका विभिन्न कारणहरु हुन सक्छन् । जस्तो, घरेलु हिंसा, हतारको विवाह, अन्तरजातीय विवाह, बैदेशिक रोजगार, शारीरिक आवश्यकता लगायतका अन्य यस्तै थुप्रै कारणहरु हुन सक्छन् । वर्तमान अवस्थामा वैदेशिक रोजगार तथा प्रेम विवाहका कारण धेरै सम्बन्धहरु टुटेको पाईन्छ । शहरीया समाज यति विकसित भयो कि कोही कसैसँग सम्झौता गरेर सम्बन्ध अगाडि बढाउन चाहँदैनन् । घमण्डका कारण पनि पारीवारिक सम्बन्ध टुटेको पाइन्छ । त्यस्तै सन्तानको समयमै रेखदेख नभइ कुलतमा फसेको र झुठो कुरा बोलेर विवाह हुँदा पछि कुलतमा फसेको थाहा भएको अवस्थामा पनि सम्बन्ध टुटेको पाउन सकिन्छ । सामाजिक प्रतिष्ठाका कारण पनि यस्ता सम्बन्ध टुट्ने गरेको पाइन्छ । आजकल महिलाहरुको महत्वाकांक्षा समेत बढेको हुँदा एकजनासँग विवाह गरेपछि अंश वापत सम्पत्ती पाउने, त्यसको व्यवस्थापन गरेर अरुसँग पुनः विवाह गर्ने यस्तो खालको अवस्था पनि पाउन सकिन्छ । वैदेशिक रोजगारको अवस्था झन भयावह छ । पति वा पत्नि कामको सिलसिलामा विदेशमा हुने तर नेपालमा बसेको र विदेशमा बसेकाले अरुसँग अतिरिक्त शारीरिक सम्बन्धमा रहने कारणले पनि सम्बन्ध विच्छेदको घटना बढ्न गएको हो । यसका विभिन्न आयामहरुलाई केलाएर वर्णन गर्न सकिन्छ । 

सम्बन्ध विच्छेदका कारण पर्ने असर

सम्बन्ध विच्छेद कसैको शुरुमै हुन्छ भने कसैको बच्चाहरु भइसकेर बच्चाको विवाह भएपश्चात पनि हुने गरेको पाइन्छ । विभिन्न सामाजिक समस्याका कारण सम्बन्धमा खलल पुग्न जान्छ अनि बाध्यभई लोग्ने वा पुरुष यस्तो कदम उठाउन बाध्य हुन्छ । यसले परिवार, गाउँ र समाजमा नै असर गर्ने काम गर्छ । त्यो कसरी भन्दा एकको परिवारमा भएको कुरा अलिअलि हुँदै विभिन्न तह र तप्काका व्यक्तिसम्म पुग्छ । कसैको जीवनमा ती कुराले संयोगको भूमिका खेल्छ र उ सम्बन्ध विच्छेद गर्न उत्प्रेरित हुन्छ । यसबाट समाजको दिगो विकासमा असर पर्न जान्छ । अर्को नमज्जाको असर बालबालिकामा पर्छ । कसको लागि कसले जीवनयापन गर्न बाध्य हुने भन्ने प्रश्न खडा भएपछि बालबच्चाको विचल्ली हुँदो रहेछ । उनीहरुको बाल मनोविज्ञानमा नकारात्मक असर पर्न जान्छ । जसले गर्दा बालबालिकाहरुमा नकारात्मकताको विकास भई सामाजिक कुरीतितिर धकेलिन बाध्य हुन्छ । जसबाट लागु औषध तथा वेश्यावृत्ति लगायतका क्रियाकलापहरु बढ्न गई यसको अप्रत्यक्ष प्रभाव समाजको अन्य अंगहरुतिर पनि पर्न जाने हुन्छ । खासमा अहिलेको जुन अवस्था छ, यसले हाम्रो पारीवारिक व्यवस्था नै ध्वस्त गर्न सक्ने खतरा देखिएको छ । एक व्यक्तिको घर वर्वाद हुनु खासमा केही लाग्दैन तर यस्ता विभिन्न कारणले समाजमा धेरैको घर विग्रन्छ अनि समग्र देशको लागि खतरा हुन आउँछ । अहिले पनि बाहुन खानदान,ठकुरी खानदान तथा अन्य विभिन्न खानदानहरु अस्तित्वमा छन् । यसको वर्गिकृत विश्लेषण गर्ने हो भने कुन खानदानमा के समस्या छ भन्ने निष्कर्ष निकाल्न सकिएला तर सम्बन्ध विच्छेदको यो चलनलाई रोक्ने प्रयास नगर्ने हो भने परिवार भन्ने कुरा ध्वस्त भई नयाँ केही प्रणालीको विकास भएत राम्रै होला तर यस्तो व्यवस्थाले अर्को कुनै परिवार जस्तो संरचनाको परिकल्पना गरेको देखिँदैन । आधुनिकताका नाममा स्वतन्त्रता चाहिने, स्वतन्त्राताका नाममा मनपरि चाहिने भएपछि यो व्यवस्थाको अन्त्य निश्चित नै छ ।

कानुनी व्यवस्था

मुलुकी देवानी संहिता २०७४ को दफा ८२ मा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने भन्ने व्यवस्था राखिएको छ । त्यसमा यस्ता अवस्थाहरु भएमा पतिपत्निको सम्बन्ध विच्छेद भएको मानिन्छ भनेर कानुनमा लेखिएको छ । (क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा (विवाह बदर हुने भएमा वा बदर गराउन सकिने भएमा), (ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा, (ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा । वैवाहिक सम्बन्ध कानुनतः अन्त्य भएको मानिन्छ । 

सम्बन्ध विच्छेद लोग्ने स्वास्नीको मन्जुरीले गर्न सकिन्छ भने पतिले पनि सम्बन्ध विच्छेद गर्नको लागि अदालतमा निवेदन दिन सक्ने, पत्निले सम्बन्ध विच्छेद गर्न सक्ने, अदालतमा त्यस्ता सम्बन्ध विच्छेद गर्न पाउँ भनि निवेदन पर्न आएमा सम्बन्ध विच्छेद गरिदिनु पर्ने कानुन व्यवस्था छ । तर, सम्बन्ध विच्छेद गर्नुपूर्व अंशवण्डा गर्नुपर्ने बाध्यात्मक व्यवस्था समेत कायम गरिएको छ । यस कानुनमा अंश नलिई एकमुष्ट रकम लिन चाहेमा सो समेत गर्न सकिने कानुनी व्यवस्था छ । खाना लगाउने खर्च समेत पत्निले पतिसँगबाट खर्च भराइलिन सक्ने व्यवस्था समेत भएकोले सो समेत अदालतले गराइदिन सक्ने हुन्छ । सम्बन्ध विच्छेद गर्नुपर्ने कारण परको मितिले ३ महिना भित्रमा अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ । यसैगरी मुलुकी देवानी कार्यविधि संहिता २०७४ लागु भएपछि सोको दफा ८ मा कसैको कानुनी हैसियत सम्बन्धी विवाद भएमा अदालतबाट मात्र विवाद निरुपण गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । जसमा सम्बन्ध विच्छेदमा विवाद आइपरेमा पनि सो समेत अदालतबाट मात्र निर्णय हुन सक्ने हुन्छ ।

राज्यको नीतिमा परिवर्तन आवश्यक

सम्बन्ध विच्छेद मात्र समाधान होइन । अलग बस्न चाहनेलाई बस्न दिनु पर्छ नै । घरेलु हिंसाका घटनालाई न्युनिकरण गर्ने आधार तय गर्नुपर्छ । व्यक्तिको इच्छा चहनाअनुसार जीवनसाथी रोज्न पाउने अधिकार भएतापनि कतिपय पारीवारिक दबाबका कारण समाजमा त्यतातिर धकेलिएको पनि पाइएकोले व्यवहारिक कुरालाई आधार बनाएर कानुनमा संशोधन गर्नुपर्छ । सम्बन्ध विच्छेदको मुद्दाको अवस्था हेर्दा दिनानुदिन बढिरहेको देखिन्छ । हामीले कानुन बनायौं सुधारको लागि । हामीसँग राज्यका संयन्त्र छन् ती पनि सुधारका लागि नै हुन् । तर, समस्या घट्नुको साटो झन्झन् बढिरहेको प्रति राज्यका निकाय चिन्तित हुनु पर्नेमा सो भएको देखिँदैन । बुवा आमाको विछोड पछि दुवैले पुनः विवाह गरेको अवस्थामा बचेको सन्तानको अवस्था के हुने ? राज्यको नीति यसतिर पनि केन्द्रित हुन जरुरी देखिन्छ । सौतेलो व्यवहार राम्रो हुँदैन भन्ने किंवदन्ती त आजपनि तरितार्थ छ भने सौतेलो व्यवहारबाट हुर्किएको सन्ततिले देश र समाजलाई कस्तो योगदान दिन्छ सो तिर पनि सोच्नु पर्ने देखिन्छ । 

 

ताजा खबर