छाउपडी राजनीतिमा एनजिओको खेलकूद

२०७६ माघ १२ आइतबार १३:०३:०० मा प्रकाशित

सुदुरपश्चिम तथा मध्यपश्चिममै महिनावारी भएको महिलालाई सामान्यतः छुइ अर्थात छाउ भएको भनिन्छ । महिला नछुने हुनुलाई पश्चिमेली भाषामा छुइ वा छाउ भएको भनिन्छ । यो सामान्य कुरा हो । काभ्रेमा १० वर्षमुनीका कन्याहरु जो रजश्वला भएका हुँदैनन् तिनीहरुलाई पुज्ने निरोगी हुन्छन् भन्ने जनविश्वास छ । सोही मुताविक कृष्णजन्माष्टमीको दिन पूजा गर्ने चलन छ । यो पूजा विशेषगरी नेवारी समुदायले मनाउने गर्छ । समाजमा हुने यस्ता परम्पराले गर्दा अनेक घटना दुर्घटनाहरु उत्पन्न भई अकालमा ज्यान गुमाउनेको संख्या धेरै छ ।

पृष्ठभूमि

ओशोले भनेका छन्– रजश्वला भएकी महिलाको हातमा एउटा ताजा गुलाबको फूल र नभएकी महिलाको हातमा अर्को गुलाबको फूल नओइलाउन्जेलसम्म राखिदिने हो भने रजश्वला भएकी महिलाको हातमा भएको गुलाबको फूल छिटो ओइलाउँछ । 

यस सन्दर्भमा रजोदर्शन चर्चा पनि महत्वपूर्ण रहेको छ । यसमा धन्वन्तरी लेख्छन्– 

मासेनोपचितं काले धमनीभ्यां तदार्तवम् ।
ईषत्कृष्ण विदग्धं च वायुर्योनिमुखं नयेत ।।

यसको अर्थ खोज्दै गएको यस्तो भेटियो, महिलाहरुको शरीरमा एक महिनापछि आर्तव जम्मा हुन्छ । जसको रंग कालो हुन्छ । त्यसपछि यो कालो रगत नशाको माध्यमबाट महिलाको योनीको मुखबाट बाहिर निस्किन्छ यसैलाई रजोदर्शन भनिन्छ । 

सन् १९४९ मा भारतीय मेडिकल एशोसिएनले पश्चिमा डाक्टरहरुले पनि रजश्वलाको समयमा हुने श्रावमा विषयुक्त तत्वहरुका सम्बन्धमा अनुसन्धान गरेको पाइन्छ । सन् १९२० मा डाक्टर सेरिकले अनुसन्धान गर्दा केही फूल उनीहरुको हातमा राखियो र केही समयमै फूल ओइलाएको पाएका थिए । सन् १९२३ मा डाक्टर मिकवर्ग तथा पाइकेद्धारा पनि यस्तै अनुसन्धान गर्ने काम भयो । त्यो अनुसन्धान भ्यागुतामा गरिएको थियो । रजश्वला महिलाको असरले भ्यागुताको मुटुको धड्कन पहिलाको तुलनामा कम रहेको पाएका थिए । सन् १९३० मा डा.लेनोजले पनि यस्तै पाए । त्यसमा पनि केहि समय भ्यागुतालाई हत्केलामा राखिराख्ने हो भनेपनि तिनिहरुको पाचनशक्तिमा विकार आएको रहेछ ।

 

छाउपडी प्रथा एक सोच हो । जसरी सतिप्रथा उन्मुलन भयो, त्यसैगरी यो पनि उन्मुलन हुँदै जाला तर यस्ता क्रियाकलापबाट हुने नोक्सानी रोक्नको लागि राज्यस्तरबाट कानुन बनाउने हो भने जनस्तरले पनि यसलाई स्वीकार गर्दै जान्छन् । तर, कसैको लहडमा मात्र यो उन्मुलन हुने भन्ने कुरा आकाशको फलमात्र हो । छाउपडी सबैतिर छ । दक्षिण एशियामा नै यो समस्या हो । यसलाई मानसिकस्तरबाट हटाउन सक्ने हो भने बाँकी कुरा प्राकृतिक नियम अनुसार मासिक चक्र चलि रहने हो । तर, यो मासिक चक्र चल्दा आराम गर्नुपर्ने, मानसिक तनाब हुने काम गर्नु हुँदैन भन्ने कुरा यसका जानकार बताउँदैनन् मात्र विभिन्न अनुसन्धानले समेत यसै भन्छ । काठमाडांैका घरमा पनि छाउपडी छ । गाउँका घरमा पनि छ । यसको निर्मुल हुनुपर्छ भन्ने धारण यो पंक्तिकारको पनि हो तर एकैपटक भत्काएर समाधान नदिने काम राज्यबाट हुनु चैं राम्रो भएन । 

हाम्रोमा एउटा परिपाटी छ । त्यो के त भन्दा कसैलाई लहड चल्यो भने सबैकाम तत्काल गरिहाल्नु पर्छ । समाजले अपनाएको कुरा जबरजस्ती गरेर मात्र उन्मुलन हुन्छ त ? हुँदैन, किनभने परापूर्वकालदेखि चलिआएको जातीय छुवाछुत हटाउन अहिले पनि हम्मे हम्मे भैरहेको छ । कानुन बनाएर लागु गर्दा पनि छुवाछुतका घटना बाहिर आएका छन् । छुइ हुँदा पनि समाजले यसलाई सोही रुपले परहेज गरेको छ । समाज परिवर्तन हुँदै जाँदा कतिपय परिवर्तन द्वन्ददकालमै भए । तर, कतिपय परिवर्तन हुनको लागि शिक्षाको आवश्यकता  पर्छ । परम्परागत समाजमा झट्टै परिवर्तन हुनको लागि चेतनाको आवश्यकता पर्छ । डण्डा देखाउँदा मात्र डराउने बानी र पछि पुर्वावस्थाको अनुशरण झन घातक हुन्छ ।


कानुन बनाउँदा अनुसरण गर्ने कानुन बनाउनु पर्छ देखावटीको लागि बनाइएको कानुन बहिस्कृत कानुन हुन जान्छ । अनुसरण गर्ने कानुनलाई सामाजिक व्यक्तिगत सुरक्षाको रुपमा लिईन्छ भने देखावटीको लागि कानुन भनेको हामी अमेरिका जाँदा पालना  गर्ने कानुन मात्र हो । यसको कुनै अर्थ हुँदैन । अमेरिकामा बसुन्जेलमात्र कानुनले गर्ने सजायबाट बच्नको लागि पालना गरिन्छ ।

चेतनाको स्तर

चेतना भन्ने कुरा महत्वपूर्ण हुन्छ । चेत अर्थात् होसले चेतनालाई इंगित गर्छ । चेतना भएको व्यक्तिले आफुलाई सफल देखाउन हरसम्भवको सचेतना अपनाएको हुन्छ । छाउपडी हटाउने हो भने राज्यले चेतनाको बिकास हुने गरी कदम चाल्नु पर्छ । चेतनाको बिकास गर्नको लागि अहिलेका वडा तथा नगरपालिका परिचालन गर्ने कि, पाठ्यक्रमको बिकास गरी सचेत गराउने कि, स्कुलको शिक्षक शिक्षिका परिचालन गरेर गर्ने भन्ने कुरा राज्यको श्रोतमा भरपर्ने कुरा हो । तर, यसलाई निर्मुल गर्न एकजना व्यक्तिले भन्दा सरकार तवरबाटै प्रयास हुनु पर्छ । गाउँ समाजमा आजपनि सचेतना ल्याउने कोशिस गरिएतापनि उनिहरुको ख्भष् िया क्ष्नलयचबलअभ का कारण जुन अवस्थामा छन् सोही अवस्थामा रहन उपयुक्त ठान्ने भएको हुँदा यहाँ चेतनाको स्तर बढाउनु जरुरी छ । चेतनाको स्तर बढाउन चाहे चाउचाउको खोलमा होस् चाहे पानिका बोतल वा चाहे होस प्याकेजिंङ गरिएका खानेकुराको बाहिर यो छाउपडी खराब कुरा हो भनेर पनि सचेत गराउन सकिन्छ । यसको लागि विभिन्न निजी सरकारी कम्पनीसँग समन्वय गर्ने हो समाजमा सचेतना बढाउन सकिन्छ । परम्परागत समाजमा सचेतनाले बाहेक अन्य कुनैपनि अस्त्रले समाज परिवर्तन गर्न सकिँदैन ।

एनजिओ चलखेल

नेपालमा सामाजिक संस्था खोलेर विभिन्न गतिविधि गर्ने छाडा प्रवृत्ति बढेको छ । यसमा वर्तमान सरकारमा झन् वढि सामाजिक संस्था संलग्न रहेको पाइन्छ । यो सरकार आएपछि सुदूरपश्चिममा मात्र छाउपडी रहेको भन्ने प्रचारले सामाजिक मूल्यमान्यताको समेत व्यवस्थापन नगरी एकैचोटी छापामार शैलीमा छाउगोठहरु भत्काउने काम भयो । वर्तमान सरकारलाई पनि एनजिओकर्मिले नै बढि चलाएको देखिन्छ । हरेक बिषयमा सम्बोधन गर्न राज्य सरकारलाई एनजिओवादीहरुले उचालेको देखिन्छ । राज्यले आफूले काम गर्दा जनताका कुरा पहिला बुझ्ने र अनि त्यसलाई समाधान गर्नतिर लाग्नु पर्नेमा रातारात छाउगोठहरु भत्काउने काम भयो । खासमा नेपाली नागरिक जो सुकै होस् उनीहरुको अनुमितविना कसैको सम्पत्तिमा हस्तक्षेप गर्न पाउँदैनन् । छाउगोठ पनि एककिसिमको घर नै हो । यो बनाउन पनि खर्च लाग्छ । अरुको सम्पत्तिमा संविधान विपरित राज्यले धावा बोल्न मिल्दैन । सबैकुरा एनजिओको प्रतिवेदनको जस्तो हुँदैन । 

उत्पन्न समस्या 

सुदूरपश्चिमको समाज बन्द समाज छ । अहिले मात्र संचार, टिभि, फोनका कारण परिवर्तन आएतापनि जड मूल्यमान्यताले आजको दिनमा पनि छाउपडिप्रतिको सोच त्यस्तै छ । हुने खानेले त जेनतेन व्यवस्थापन गर्ला तर नहुनेहरुको लागि यो प्रथापनि अभिसाप नै रहेछ । डोटि डडेल्धुरा तथा बैतडीमा पनि यस्ता समस्या छन् । हुनेले घरभित्रै एउटा कोठा बनाइदिएको हुन्छ । जसमा गाउँभरिका महिलाहरु रजश्वला भएको बेलामा सुत्न आउने गर्छन् । नहुनेहरुले छाउगोठ नै बनाउने हो । त्यसको सुरक्षाको जिम्मेवारी स्वयम छाउपडिको हुन्छ । यसबाट पर्ने समस्याहरुमा जस्तो देवताको माणौ –कुलदेवताको स्थान) तीर जान बन्देज गरिएको हुन्छ । रजश्वला भएकी महिलाले छोइहालेमा महिला तथा पुरुषहरुमा काम्ने वा अन्य कुनै समस्या आउँछ र सो को उपचार सुनपानी वा गौंतगोबरको प्रयोग गरिन्छ । कतिपय घरमा धामि हुन्छन् जो देवताको धामी हुन् । उनीहरु यस्ता कुरालाई परै राख्छन् । यस्तै व्यक्तिहरुलाई झन् परहेजको आवश्यकता पर्छ । धामी यस्तो व्यक्ति हो मानसिक विरामीहरुलाई झारफुक गरेर भएपनि ठीक गर्छ । आज पनि पहिलो प्राथमिक उपचार धामी नै हुन् । यदि धामीले परहेज गरेन भने उ नै सामाजिक बहिस्कारमा पर्न सक्ने अवस्था हुन्छ । यस्तो अवस्थामा रातारात सरकारले छाउगोठहरु भत्काउने काम गर्यो । यो मान्य हुँदैन । सबैकुरा छोड्छ मान्छेले तर रकमी बेचिएजस्तो आफ्नो संस्कृति परम्परा यतिकै कसैले छोड्ने होइन । छाउगोठ छैन । अस्थायी टहरामा रात विताउने व्यवस्थाले के छाउ भएका महिलाहरु सुरक्षित भए त ? 

समाधान

राज्यसँग अहिले विभिन्न संयन्त्र छन् । राज्यले आफ्ना संयन्त्रलाई प्रयोग गर्ने । चलाखीपूर्ण तवरले सोझासाझा जनतालाई सिकाउन समस्या छैन । कोही तरकारीले कोही चामलले कोही स्कुलको फिले, कोही अन्य यस्तै आवश्यकतानुसारका व्यवस्थापन राज्यले गर्ने हो भने जनता प्रोत्साहित नहुने कुरै छैन । रगत चुहाएर मात्रै हिँड्नु पर्ने, काम गर्ने कोही छैन । सबै विदेशमा छन् । घरधन्दाका काममा सहयोग गरिदिने व्यवस्थापन राज्यले गर्न सक्छ । जस्तो कि एकदिनको ज्यालाको व्यवस्थापन गरिदिएमा अरुले सहयोग गर्न गइदिन्छन् पक्कै पनि । राज्यले एउटा सामुहिक भवन बनाइदिएर त्यसको व्यवस्थापन गर्न प्रत्येक वडालाई जिम्मा दिन सक्छ । भवन न सहि सानो व्यवस्थित कोठा त बनाउन सक्छ । एउटा गाउँका सरदर कतिजना महिनावारी हुन्छन् तिनको आँकडा निकाल्ने अनि समाजका हुनेखानेहरुलाई करमा छुट दिएर भएपनि छुइ महिलालाई राख्न अनुरोध गर्ने, वा सोही अनुपातमा अटाउने घर बनाइदिने । पछि विस्तारै सरकारले यस्ता कुरामा कडाइ गर्दै लैजाने गर्यो भने यस्ता समस्या समाधान हुन बेर लाग्दैन । राज्यप्रति कसैको आक्रोस पनि हुँदैन भने सहि तरिकाले समाधान पनि निस्किन्छ । तर, समाजका उछृंकल व्यक्तिबाट सचेत हुने गरी व्यवस्थापन गर्नुपर्छ । यसको तथ्यांक राख्ने । महिनावारी भएको बेलामा राज्यले निःशुल्क भएपनि एउटा प्याड दिने गर्ने हो भने यो ठुलो समस्या होइन् । नया जनशक्ति पनि नचाहिने । हाल भइरहेकैबाट काम गर्न सकिन्छ । 

(लेखक जोशी अधिवक्ता हुन्)
 

ताजा खबर