कता गए होला किताबसँगै दाउरा बोकेर घर फर्किएका नानीहरु !
स्कूलबाट घर फर्कंदै गरेका छात्राहरुसँग मैले सोधें– नानी दाउरा आफैं ल्याएको कि कसले ल्याउनु भनेको ?
‘आफै’ हातले कपाल मिलाउँदै उनीहरुले जवाफ दिए ।
‘किन नि’? मैले फेरि सोधें ।
जवाफ आयो– ‘आगो ताप्न नि अब !’
‘हामीले त चिया पकाउन’ अर्की नानीले हाँस्दै भनिन् ।
अनि दुबैजना गलल्ल हाँसे । मैले पनि साथ दिए हाँस्नलाई ।
‘कति हिँड्नुपर्छ त स्कूलसम्म जानलाई ?’
‘आधा घण्टा जति’ दुबैले एकै स्वरमा भने ।
‘राम्रोसँग जाउ है । राम्रो पढ ल । ठूलो मान्छे हुनुपर्छ ।’
दाउरा काँधमा च्यापेर दुबै जना दौडँदै ओरालो लागे ।
तल पुगुन्जेलसम्म मैले निक्कै बेर उनीहरूलाई हेरिरहेँ । अँगालोको दाउरा अप्ठ्यारो भएर वा गर्हौं भएर हो, बेला बेला भुइँमा राखेर मिलाइरहन्थे । एकैछिनमा उनीहरु दृश्यबाट अलप भए, म पनि आफ्नो बाटो लागें यस्तो सोच्दै कि आवश्यकताले उमेर होईन आपूर्ति रोज्दो रहेछ ।
आफ्नो वाल्यकाल र स्कूले जीवन सम्झँदै जामलाई छिचोल्दै घरसम्म आएको थाहा नै पाइनछु । मलाइ त आफ्नै साधनले झट्टै ल्याइपुर्यायो । ती नानीहरू कतिबेला घर पुगे भन्ने मनमा भइरह्यो ।
कार्यालयबाट घर फर्कने क्रममा किलिक्क पारेको हुँ यो तस्बिर ।
(मौरीबिज्ञ सुवास खनालले कार्यालयबाट निवास फर्कने क्रममा साक्षात्कार गरेको दृश्यलाई सचित्र वर्णन गरेको यो रोचक शब्दचित्र उनको फेसबूकबाट ।)