ढिकीमा जन्मिएका थिए मदन भण्डारी

 एकाबिहानै मदन कमरेडसँग अनामनगरको चिया पसलमा जम्का भेट भयो । सदाझैँ अभिवादन पछि कमरेडले आज अलि पर घामतिर कुर्सि तानेर आउन ईशारा गर्नुभयो । कमरेडले त्यस्तो कहिले पनि गरेको थाहा थिएन तर आज त्यस्तै गर्नुभयो । म पनि ईशारा गरेको स्थानमा कुर्सि तानेर बसेँ । उहाँले म जन्मेको कहाँ हो थाहा छ भनेर सोध्नुभयो । मैले भने, अहँ ! तर पूर्बी कुनै पहाडी जिल्ला हो भनेँ । अनि उहाँले ‘ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाबिस बडा नम्बर ८ को ठोट्ने भन्ने गाउँमा हो । यो गाउँ पहिला तेह्रथुम जिल्ला साँघु गाबिस वडा नम्बर ९ मा पर्दथ्यो’ भन्नु भयो । ‘मेरो घर जान त्यतिखेर सदरमुकाम फुङ्लिङ बजार देखि ६ कोस पश्चिम हिँडेर नै जानुपथ्र्याे’ भन्नु भयो ।

तर मैले नबुझेको के भने बूढाले आज आफू जन्मेको घरको बारेमा किन चर्चा गर्नु परेको होला भनेर मनमा कुरा खेलाउदै थिएँ उहाँले मलाई भन्नुभयो– ‘सुनिल सपनामा म आइरहेको हुन्छु तर मेरो जन्म घर नै थाहा नहुँदा अलि असहज होला भनेर जानकारी गराएको’ भनेर भन्दा उहाँ अलि गम्भिर हुनुभयो र भन्नुभयो– ‘तात्कालिन अवस्थामा सुत्केरी हुने पनि भगवान भरोसे रहेछ बुझ्यौ ।’

अनि कमरेड मदनलाई उहाँ जन्मेको समयको कुरा आमा चन्द्रकलाले सुनाउनु भएको रहेछ । कस्तो भएछ भने २००९ साल असार १४ गते शुक्रवार राति आमा चन्द्रकलालाई सुत्केरी वेथाले च्यापेछ । अनि वेथाको रन्कोमा मूल घरबाट उठेर नजिकैको मतान घरको अवशेषको तल ढिकी र ओखल थियो त्यही ढिकीमा जानु भएछ र प्रशवपीडाले छट्पटाउँदा छट्पटाउँदै रातको १२ बजे मदनको जन्म भएछ । यसरी मदन कमरेडले आफू जन्मेको कुरा कथा जसरी सुनाउनु भयो । म शिष्यको खुरुखुरु रुपमा सुन्दै गएँ ।

त्यतिकैमा उहाँले भन्नुभयो– ‘हामी नेपाली सबैले नेपाली भाषा नै बोल्छौं । नेपालका सबै क्षेत्रमा नेपाली भाषा बोल्ने गरिन्छ । यसको श्रेय कस्लाई जान्छ थाहा छ ?’ भनेर राजा महेन्द्रको नाम लिनु भयो । मैले मेरो डेढ धार्नीको टाउको हल्लाएर सहमती जनाएँ मात्र । अनि उहाँले ‘नेपाली नोट कसले देशैभरी चलाउने काम गर्यो थाहा छ’ भनेर सोध्नु भयो । जवाफमा मैले ‘राजा महेन्द्रले’ भनेँ । मदनले अझै थप्नुभयो– ‘यस्ता धेरै कामहरु गरेको देखिन्छ राजा महेन्द्रले । तर अहिलेका नेताहरुको मुखबाट बिना संकोच ‘महेन्द्रवादी सोच’ भनेको सुनिन्छ ती को हुन् थाहा छ ?’ मैले भने – ‘ती कि त अवुझ हुन् या आयातित भाषा बोल्दैछन्’ भनेँ ।

उहाँले भन्नुभयो–‘मैले पनि पहिला महेन्द्रबादी सोच भनेर विश्लेषण गर्थेँ तर जव बुझेँ मनबाट हटाएँ । पञ्चायतको अभ्यास रहँदासम्म सञ्चार क्षेत्रमा नेपाल सार्क क्षेत्रमा अगाडि छ भन्ने गरिन्थ्यो । तात्कालिन अवस्थामा जेजति विकासका पूर्वाधारहरु बनेका थिए, सवै दीर्घकालिन रुपमा नेपाललाई स्वाभिमानी बनाउने खालका थिए । उदाहरणको रुपमा बाँसवारी छाला जुत्ता कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धी ईँटटायल, भृकुटी कागज कारखाना लगायतका उद्योगहरुलाई लिन सकिन्छ । जुन पञ्चायत गएको एक दशकभित्र कवाडीको भाउमा विदेशिए । तात्कालिन अवस्थामा भ्रष्टाचार खुलेआम थिएन । राजा बीरेन्द्रले त नेपाललाई एशियाली मापदण्डमा नेपाललाई पुर्याउने लक्षका साथ नारा नै दिएका थिए अनि त्यसका लागि पूर्वाधार पनि तयार गर्ने क्रममा विकासको प्रथम तयारी सुशासनलाई लिएका थिए । तर राजाले सोच राखेको भए पनि दलहरुलाई बर्गिय संगठन भित्रबाट आएर राजनीतिमा भाग लिनका लागि अभिप्रेरित गरेका थिए भने दलहरु दलका झण्डा सहितको अस्तित्वमा । राजा र दलहरुको उल्झन नै यहीँ थियो । त्यही उल्झनमा नै हो छिमेकी राष्ट्र भारतले खेलेको । नेपाललाई गणतन्त्रात्मक देशकोरुपमा भारत हेर्न चाहन्थ्यो अनि यहाँका नेता आफ्ना अनुयायी हुन् भनेर । नेका नेता वीपीलाई गणतन्त्रको लागि नउक्साएको पनि हैन तर वीपीमा दीर्घकालसम्म रहने राजनैतिक चेत भएका कारण उहाँलाई भारतले प्रयोग गर्ने भरमग्दुर प्रयास गर्दा पनि नसकेर बाम नेता सीपी मैनालीलाई प्रयोग गर्न सुरु गर्यो तर उहाँबाट पनि लक्ष प्राप्ति हुने नदेखेपछि अहिलेका परिदृश्यमा रहेका नेतृत्वलाई सामूहिक जिम्मेवारी दिएर भारत ठूलो भाग खाने सपनाका साथ नेपाललाई गणतन्त्रात्मक देश बनायो ।’

मदनले त्यति भनेर चुप लागेर बस्नुभयो । यही अवसरमा मैले थप प्रसंग जोडेर भने – ‘तर उसले सोचेको भन्दा धेरै भयानक घाटा व्यहोर्दै छ भारत । जुन आउने दिनमा उसले भोग्ने  छ । नेपालको संघीयता र धर्मनिरपेक्षताले भारतलाई पनि अप्ठेरोमा पार्नेछ । भारतको बिहार भन्दा भूगोल र जनसंख्यामा तीन खण्ड सानो छ, नेपाल । यति सानो देशमा सात प्रदेश लादिएको छ जुन विहारको जनसंख्याले हेर्दैछ । खुल्ला सीमाना भएका कारणले डढेलो जसरी सल्किएको कृश्चियनीकरणले बिहार र युपिलाई पनि गाँज्दै जानेछ । यसैले नै संकटमा पार्नेछ भारतलाई । हामी दुई देशका जनताको रहनसहन देखि धर्मसंस्कृति अनि विहेवारी सवै चल्ने भएको हुनाले हामीवीचको समानता धेरै कुरामा छ । त्यसमाथि खुला सीमाना । अहिले निरीह जस्तो अवस्थामा रहेको नेपालको स्थायी शक्तिको रुपमा रहेको राजसंस्थालाई राजनीतिको मूलधारबाट गैरसंवैधानिक तरिकाबाट हटाउँदा पनि दुवै छिमेकी निःशब्द भएर बसे ।

अझ चीनले त नेपालको आन्तरिक राजनीतिमा हामीले के बोल्नु भनेर पन्छियो । त्यसैगरी चिनीयाँहरु पनि राजा बीरेन्द्रको वंश नाश पछि उसले नेपालको राजसंस्थालाई सफा नजरबाट हेरेन अनि उसले नेपालको राजसंस्थाको चीन प्रतिको भूमिकालाई नजरअन्दाज गर्न पुग्यो जसको परिणाम उसले पनि भोग्दैछ । अहिले चीन उसको छिमेकी नेपाल तर्फको  जिल्लाहरुबाट नवनिर्वाचित प्रतिनिधिहरुलाई कहिले काठमाडौं गौशालाको पशुपति भिजनको होटलमा उसको राजदुत मार्फत् भेटेर सौहार्द्रताकोलागि खादा ओढाउनु परिरहेको छ भने कहिले आफ्नै देशमा बोलाएर । सायद चीनको अहिलेको रवैया हेर्दा उ नेपालको राजनीतिबाट दिक्क भएर आफूलाई करेक्शन गर्ने क्रममा नेपालको राजसंस्थाका प्रतिनिधहरुसँगको बाक्लो भेटमा छ । उदाहरणका लागि केही महिना अगाडि चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा राष्ट्रपतिले राजालाई भेट्ने ईच्छा पूरा हुन नसकेर उनका बरिष्ठ सदस्यलाई निर्मल निवासमै पठाएर भेट्यो । त्यसैगरी भारत पनि यो बिषयमा चीनसँग सहमत ।’

 यसरी मैले मेरा कुरा राख्दा मदन कमरेडले सुनेर बस्नु भयो र भन्नुभयो– ‘जसले जे भनुन् अहिलेको विश्व ध्वंशमा भन्दा जोगाउनमा लालायित छ बुझ्यौ ।’ उहाँले थप एउटा नयाँ कुरा मलाई सुनाउनु भयो– ‘धेरै बर्ष अघि अष्ट्रेलियाको राजधानी क्यानवेराभन्दा १ हजार किलोमिटर पर तसमानियाँ (Tasmania) भन्ने टापुमा तस्मानियन बाघ (Tasmanian Tiger ) पाइन्थ्यो । सो ठाउँको नाउँ नै त्यो प्रजातिको बाघको नाउँबाट राखिएको हो । खासमा त्यो ब्वाँसो प्रजातिको हो । त्यसको लोप भएर पनि अहिले सिड्नीमा रहेको म्युजियमबाट त्यसको सुरक्षित अवशेषको क्लोनिङ (Cloning) को विधि प्रयोग गरेर पुनः त्यो प्रजातिलाई यस धर्तिमा स्थायी रुपमा अस्तित्वमा ल्याउने प्रयाशमा लागिपरेका छन् बैज्ञानिकहरु । अहिलेको विश्व ध्वस्त गर्नेबाट विस्तारै जोगाउनेतिर लागेको पाइन्छ । मेरो अवशानपछि हाम्रो पार्टीमा नेताहरुमा ठूलो विचलन आएछ सुनिल’ भनेर मदन कमरेडले अलि चिन्तित् हुँदै सुनाउनु भयो ।

मैले भने–‘कमरेड, मेरो मनमा अझै ताजै छ । तत्कालिन पार्टी अध्यक्ष श्रद्धेय मनमोहन अधिकारी पुतलीसडकको बाटोबाट पैदल बागबजारस्थित पार्टी कार्यालय जानुहुन्थ्यो ।  अनि खुला रुपले सवै नेताहरु सडक या सार्बजनिक यातायातमा आवतजावत गर्थे ।’ कमरेड मदनले अलि चिन्तित हुँदै भन्नुभयो–‘नेपालमा अहिले नेताहरु जनतासँग टाढिएका छन् । उनीहरु जनतासँग लुकेर हिँडेको देखिन्छ । उनीहरु सवार हुने गाडी १ करोड भन्दा तलको छैन रे हो ? भनेर सोध्नुभयो । मैले भने– ‘प्रायः १ करोड भन्दा माथि कै होलान्’ कमरेड भनेँ । गाडी बाहिरबाट भित्र को बसेको भनेर देखिँदै तर खाली भित्रबाट मात्रै बाहिर देखिन्छ रे हो भनेर जिज्ञासा राख्नुभयो ।


मैले भने, हो कमरेड । भने पछि वहाँले ‘नेता राजा हुन खोजेछन् अनि राजा नेता’ भनेर भन्नु भयो । ‘नेताहरु सडकमा हिँडे भने त जङ्गली जनावर हेरे जस्तो हेर्ने होलान् हगी जनताले’ भन्दा मैले भने– ‘कमरेड म दावीका साथ भन्छु सिँहदरबार देखि बानेश्वर संसद भवन हिँडेर पुग्ने आँट ठूला दलका ठूला कुनै नेतामा छैन अहिले । उनिहरु हिँडेर बानेश्वर पुग्नै सक्दैनन्, जनताले तिनलाई लुछेर चुडाल्छन् । त्यति आक्रोश छ जनतामा नेताहरुप्रति भनेर भन्दा उहाँ अचम्मित भएर जिब्रो निकाल्नु भयो । अनि भन्नु भयो– ‘बाफरे ! हामीले त्यति लामो संघर्ष गरेको त यसैको लागि पो रहेछ त ? 

मैले भने– ‘साधारण कुरा छ कमरेड, यहाँलाई टन्न खान पुग्ने भएपछि न अरुलाई पनि दिउँ भन्ने हुन्छ । त्यस्तै हो यिनलाई पुगेकै छैन ‘आँत भरेर आएपछि’ जनताको बारेमा सोच्लान् कमरेड । अहिले त नेताहरुलाई पुगेकै छैन । नेताहरुले सार्वजनिक सम्पत्तिको दोहन गरेका छन् । सुनिन्छ गोकर्ण रिसोर्टको सम्पत्ति पनि कुनै अमुक व्यापारी घरानालाई बुझाइसके रे !

मदन कमरेडको अर्को जिज्ञासा थियो– ‘राजधानीमा बनेका आकाशे पुललाई सेल्फि पुलको रुपमा प्रयोग भएको पाएको छु । त्यसबाट बटुवाहरु किन नहिँड्या ?’

मैले भने– ‘देश बिद्रोहबाट आएकोले होला ।’ मैले यसो भनेपछि लगत्तै उहाँले प्रश्न गर्नुभयो– ‘बिद्रोह कि ध्वंश ?’ 

आजकाल त्यस्तो भन्यो भने त महेन्द्रवादी सोच भनिन्छ नि कमरेड । उहाँले एउटा कुरा चाहिं प्रष्ट र कठोरताका साथ भन्नुभयो– ‘जुन दिन देखि जबज छोड्छन् नेपालका डबल नेकपाले त्यो दिन देखि सखापको मार्गमा जान्छ त्यो दल ।’  

यस्तैमा मदन कमरेडले भन्नुभयो– ‘सुनिल, अब घर लागौं भोलि सिसिको मिटिङ छ । त्यसको तयारी पूरा भएको छैन । साथीहरु बोलाको छु, आउँदै होलान् ।’ 

त्यति भनेर हामी छुट्टियौँ ।

उहाँ सदाझैँ साइकल डोर्याउँदै आफ्नो बाटो लाग्नु भयो ।

मैले पनि आफ्नो बाट तताएँ ।


 

ताजा खबर