‘अवकाश’ शब्दसँग अपरिचित अमिताभ

२०७४ असोज २६ बिहीबार ०७:४८:०० मा प्रकाशित

काठमाडौं ।  ७५ वर्षको उमेरमा अधिकांश कलाकार कलारकारकै रुपमा रहिरहन सक्दैनन् । उनीहरु सक्रिय जीवनबाट अवकाश लिएर बाँकी जीवनको पुनरुत्थानको पर्खाइमा बसेका हुन्छन् । वास्तवमा भन्ने हो भने यो उमेरमा लाईफटाइम एचिभमेन्ट पुनर्जागरण जस्ता कुराले महत्व राख्छन् । तर अमिताभ बच्चनलाई यस्ता कुराको आवश्यकता नै छैन । हिरक जन्मोत्सव मनाईरहका उनी आज पनि सक्रिय जीवन बिताईरहेका छन् । पक्कै पनि उनको यो जीवन शैली सबैका लागि प्रेरणाष्पद उदाहरण हो ।

अमिताभ बच्चन, यो कुनै चिनाईरहनुपर्ने नाम होईन । उनको देश भारत त के सिंगो दक्षिण एशिया र विश्वको चारै भागमा चिरपरिचित यी कलाकार उमेरको हीरक वर्ष मनाईरहेका छन् । उनी यस्तो कम व्यक्तिमा पर्छन्, जो  भारतका चार पुस्ताको बीचमा परिचित छन् । १९८० को दशकको अन्त्य र १९९० को दशको अन्तरालमा उनको चलचित्र निरन्तर फ्लप भए । सन १९८४ मा उनले केही समय चलचित्रबाट विश्राम लिएर आफ्ना पुराना मित्र राजीव गान्धीको समर्थनमा राजनीतिमा पनि लागे । तर उनको राजनीतिक करिअर केही समयका लागि मात्र थियो । करिब तीन वर्ष पछि उनी १९८८ मा पुनः चलचित्रमा फर्किए । तर उनको स्टार पावर भने क्षीण हुँदै गइरहेको थियो ।

उनका चलचित्र लगातार फ्लप हूँदै गएपछि उनी अब केही समय मात्र पर्दामा देखिन्छन् भन्ने अपेक्षा गरिएको थियो । सन् १९९२ मा खुदागवाह रिलिज भइसकेपछि बच्चन अघिल्लो पाँच वर्षका लागि अस्थायी रुपमा रिटायर्ड भएका थिए । त्यसबेला उनले अमिताभ बच्चन कर्पाेरेट लिमिटेड अर्थात् एबीसिएल स्थापना गरे । तर त्यसले पनि राम्रो गर्न सकेन ।

उत्तर प्रदेशको इलाहाबादमा ११ अक्टोबर १९४२ मा जन्मिएका अमिताभका पिता हरिवंश राय बच्चन हिन्दी भाषाका चर्चित कवि थिए । अमिताभको खास नाम इंकलाब राखिएको थियो । तर उनका पिताका साथी सुमित्रानन्दन पन्तको सल्लाहमा उनको नाम अमिताभ राखिएको  थियो ।

अमिताभले  शेरवुड कलेज नैनितालमा अध्ययन गरेका थिए । त्यसपछि उनले दिल्ली विश्वविद्यालयको किरोरीमल कलेजबाट थप अध्ययन गरेका थिए । उनी अब्बल विद्यार्थीमा गनिन्थे ।

अमिताभ बच्चनले शुरुमा सहन्यारेटरका रुपमा चलचित्र भुवन शोमका काम गरेका थिए । तर अभिनेताका रुपमा उनको चलचित्र प्रवेश सात हिन्दुस्तानीबाट भएको थियो । यसपछि उनले कैयौ चलचित्रमा अभिनय गरे तर सफल हुन सकेनन् ।

 चलचित्र जञ्जिर उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो । त्यसपछि उनले निरन्तर सफल चलचित्र दिँदै दर्शकका माझमा लोकप्रियता कमाए भने चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।

सात हिन्दुस्तानी, आनन्द, जञ्जिर, अभिमान, सौदागर, चुपके चुपके, दीवार, शोले, कभी कभी, अमर अकबर एन्थोनी, त्रिशुल, डन जस्ता चलचित्रले उनलाई शताब्दिकै महानायक बनाउन सफल भए ।

७० र ८० को दशकमा चलचित्रमा अमिताभको आधिपत्य थियो । यही कारणले फ्रेन्च डाइरेक्टर फ्रास्वाँ त्रुफोले उनलाई वन म्यान इन्डष्ट्रिको उपमा समेत दिएका थिए ।

चलचित्रमा बोलिएका उनका डाइलग आज पनि दर्शकको मनमा ताजै छन् । उनको करिअरमा डाइलगले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आज उनको आवाजको विश्वभर प्रशंसा हुनेगर्छ । कुनै समय थियो जतिबेला उनको करिअरमा यही आवाज असफलताको कारण बनेको थियो । त्यही आवाज पछि उनको शक्ति बन्यो ।

अमिताभले आफ्नो जीवनमा कैयौँ पुरस्कार जितेका छन् । जसमा सर्वश्रेष्ठ अभिनेताका रुपमा तीनवटा राष्ट्रिय पुरस्कार जितेका छन् । अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल तगा अवार्ड समारोहमा उनलाई कैयाँै पुरस्कारबाट सम्मानित गरिएको छ भने उनलाई भारत सरकारको तर्फबाट १९८४ मा पद्मश्री, २००१ मा पद्मभूषण एवं २०१५ मा पद्मविभुषण सम्मान समेत प्रदान गरिएको थियो ।

भारतको चर्चित टेलिभिजन शो कौन बनेका करोडपतिका होस्ट समेत रहेका बच्चन भारतीय चलचित्र जगतमा संस्कारी कलाकारका रुपमा समेत चिनिन्छन् । उनको बोलिको मिठास र संस्कारी भाषाका कारण पनि उनी चर्चामा रहने गर्छन् । ७५ औं जन्मजयन्ती मनाइरहेका बच्चनलाई जन्मदिनको शुभकामना ।
एजेन्सीहरुको सहयोगमा सरल न्यूज डेस्क 


 

ताजा खबर