मुग्लिङ-नारायणगढ सडकखण्डमा सबै पुल नयाँ

२०७४ असोज २६ बिहीबार ०७:१३:०० मा प्रकाशित

मुग्लिङ-नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिनाभित्रै पूरा हुने भएकाले सडक क्षमताअनुसार नयाँ पुल बनाउन लागिएको हो । विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा अहिले दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ । सडक निर्माण अन्तिम चरणमा पुगेकाले छिटोभन्दा छिटो सक्ने गरी पुल निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।

 सबैजसो पुल पुराना र जीर्ण हुँदै गएका छन् । ३५ वर्षभन्दा पुराना पुल साँघुरा पनि छन् । विस्तारित सडकको क्षमता नथेग्ने पुल नहुँदा नयाँ बनाउनुपर्ने आवश्यकता देखिएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अन्नपूर्णलाई बताए । यो सडकखण्डमा सानाठूला गरी १८ वटा पुल छन् । सडक विभागले विश्व बैंकको सहायता र सरकारको बजेटबाट नयाँ पुल बनाउनेछ । सबै पुल बनाउन एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नेछ ।

यो सडकमा रहेका १८ पुलमध्ये तीन वटाको भने मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थाका छन् । सडक विभागले चारवटा पुल पहिलो चरणमा निर्माण गर्ने गरी प्रस्ताव आह्वान गरेकोमा सोमबार एउटा पुलका लागि निर्माण कम्पनी छनोट गरेको छ ।

दुईवटा प्याकेज बनाएर आह्वान गरिएको प्रस्तावअन्तर्गत सोमबार एउटा पुल निर्माण गर्न सडक विभागले सुप्रिम रौताहा निर्माण कम्पनी छनोट गरेको हो । यो कम्पनीले १२ करोड रुपैयाँमा एउटा पुल बनाउनेछ । विभागले प्रस्ताव आह्वान गरी तीनवटा पुल निर्माणका लागि बुधबार निर्माण कम्पनी छनोट गर्नेछ । विभागले अब १४ वटा पुलका निम्ति आवश्यक कागजात तयार पारी प्रस्ताव आह्वान गर्ने भएको छ । यी सबै पुल प्राधिकरणले दिएको लागत र डिजाइनमा निर्माण कम्पनीले बनाउनुपर्ने सर्त राखिएको श्रेष्ठले जानकारी दिए ।

सडक विभागले १८ वटै पुलको डिजाइन तथा निर्माण सम्बन्धित कम्पनीले गर्ने गरी जिम्मा दिने भएको छ । तर, यी पुल बनाउँदा विभागले तोकेको सर्त र निर्माण कम्पनीलाई दिएको न्यूनतम मापदण्ड भने पूरा गर्नुपर्ने श्रेष्ठको भनाइ छ । पुल निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनी सबैले भाग लिन पाउँछन् । विभागले दुई वर्षभित्रै सबै पुल निर्माण गरिसक्ने गरी ग्लोबल प्रस्ताव आह्वान गरी निर्माण जिम्मा लगाउने तयारी गरेको छ ।
सडक विस्तारको काम अपेक्षाअनुसार अगाडि बढिरहेको छ । विभागले निर्माण कम्पनीलाई दिएको समयअनुसार सडक निर्माणको काम पूरा गर्न पनि निर्देशन दिएको छ । अन्नपूर्ण पोस्टबाट ।

ताजा खबर