पत्रकारितामाथि व्यापारको बोझ

२०७६ माघ ७ मंगलबार १३:४८:०० मा प्रकाशित

हामी नेपालीहरु सूचना प्रविधिमा अझै निकै नै पछाडि छौं । यद्यपि पछिल्लो समयमा फेसबुकका प्रयोगकर्ता नबढेका पनि होइनन् ।  फेसबुक त अहिले समय कटाउने सजिलो माध्यम ने बनेको छ ।  आँखा देख्नसक्ने आमाबुबादेखि नाति नातिनासम्मका लागि ।  युवापुस्तामा खासगरी महिलाहरु टिकटकमा छाएका देख्दा बेकामे समुह बन्दैछ भन्नेहरु पनि नभएका होइनन् ।

यति भए पनि इन्टरनेटको प्रयोगमा हामी अन्तरराष्ट्रिय समुदायका तुलनामा निकै पछाडि छौं । यसो इन्टनरनेट भएका ठाउँमा फेसबुक लग इन गर्नु वा इन्स्टाग्राममा तस्बिर राख्नुलाई मात्र इन्टनरनेटको प्रयोगले यस्तो, उस्तो ग¥यो भन्नु ज्ञानलाई छेक्न खोज्नु हो । यसको प्रयोग यतिमात्र होइन । अहिले अधिकांश विश्वविद्यालयहरुमा कक्षामा नगई अथवा कुनै एउटा कोठामा विद्यार्थी बसेर प्राध्यापकले घरैबाट पढाउने व्यवस्था भइसकेको  छ । टेलिमेडिसिनको प्रयोग यसरी बढेको छ कि घरबाटै विदेशमा बसेका चिकित्सकसँग सल्लाह लिन सकिन्छ ।

यी त सामान्य कुरा भए । इन्टनरनेटको प्रयोगले मानिसको ज्ञानको भण्डार खुला गरिदिएको छ । यस्तो अवस्थामा यसको प्रयोग र नियमन अत्यन्त आवश्यक छ , न कि यसमाथि अंकुश । कथम्कदाचित अंकुश लाग्यो भने सरकारका लागि ठूलो चुनौति हुनजान्छ । सरकार परिवर्तनको निहुँ बन्नसक्छ यो विषय ।

पछिल्लो समयमा आएर अन्तरराष्ट्रिय जगतमा ब्लगिङ र भ्लगिङको निकै ठूलो चर्चा छ । खासगरी ठूला मिडियाहरु मालिकको चाहना अनुरुप चल्न थालेपछि प्रेसलाई राज्यको चौथो अंग मान्नेहरुलाई ठेस लाग्यो । मिडिया हाउस चलाउनलाई ठूलो रकम आवश्यक पर्ने भएकाले मालिकहरु समाचारमाभन्दा एड्भर्टोरियलमा पत्रकार परिचालन गर्न थाले । यो क्रम सिएनएन जस्ता ठूला मिडियामा छाएपछि अरुहरुले यसैको सिको गर्नथाले । पत्रकारहरु समाचार संकलन गर्न जाँदा विज्ञापन पनि माग्न थाले । यसबाट समाचारमा निष्पक्ष शब्दलाई सीमित रुपमा मात्र प्रयोग गर्न थालिएको छ ।

भारतीय पत्रकार पी साइनाथका शब्दमा भन्ने हो भने मिडियामा कर्पोरेट कल्चर हाबी भएको छ । यसले पत्रकारिताले  स्वतन्त्र रुपमा सूचना प्रवाह गर्नुभन्दा मालिकको चाहनालाई पूरा गर्नुपर्ने वाध्यता सिर्जना गरेको छ । 

रसेन्द्र भट्टराईको समाचार देशकै ठूलो मानिएको कान्तिपुर मिडिया ग्रुपले प्रकाशन तथा प्रसारण गरेकै हो । भनाइ अनुसार सम्पादकको चाहना विपरित समाचार छापिएको थियो तर भुक्तभोगीलाई सत्य थाहा होला । 

यसरी ठूला मिडियाहरु कमाउ धन्दा वा पावरका पछि लाग्न थालेपछि राज्यको चौथो अंग अहिले धरापमै परेको छ । चौथो अंगले भूमिका निर्वाह गर्न नसकेपछि अहिले पाचौं अंग सबल बनेको छ, त्यो हो ब्लगिङ र भ्लगिङ । ब्लगिङ र भ्लगिङलाई राज्यको पाँचौं रुपमा लिइन्छ । 

नेपालमा अहिले ब्लगिङभन्दा भ्लगिङ अथवा भिडियो ब्लग निकै शक्तिशाली सञ्चारमाध्यमका रुपमा अघि बढेको छ । कसैकसैले यसका सञ्चालकलाई युट्युबे पत्रकार भनेर अपहेलना गरे पनि भ्लगिङ अथवा युट्युबले नेपाली टेलिभिजनलाई कठिनाइमा धकेलिदिएको छ । ४० देखि ५० हजार सब्स्क्राइबर भएका युट्युब च्यानललाई व्यापारीहरुले विज्ञापन दिन थालेका छन् । युट्युब आफैंले पनि विज्ञापन दिन्छ । गुगलले युट्युबमा भएको कमाइको ५५ प्रतिशत हिस्सा चिन्दै नचिनेको युट्युब च्यानल सञ्चालकलाई पठाइदिन्छ । उक्त च्यानलमा कुनै जानकारी राख्नासाथ एकैपटक सबै सब्स्क्राइबरकोमा पुग्छ, न दर्शकले हेर्न हतार गर्नुपर्छ, न विज्ञापनको एकोहोरो ट्वाँट्वाँ सुन्नुपर्छ । युट्युबले ५ सेकेन्डमै विज्ञापन स्किप गर्ने व्यवस्था गरेकाले प्रयोगकर्ताहरु खुशी छन् । टेलिभिजनमा एउटा मनपर्ने कार्यक्रम हेर्न बस्यो भने पाँच मिनेटमै १० मिनेटलामो विज्ञापन आउँछ, यसले प्रयोगकर्तालाई वाक्क पार्छ तर युट्युबमा त्यस्तो समस्या हुँदैन । ५ सेकेन्डै विज्ञापन हटाउन मिल्छ ।  

ब्लगिङ तथा भ्लगिङले नै मात्र अहिले स्वतन्त्रताको सुनिश्चितता गरेको छ । अहिले ठूला मिडियामा बिचार लेखेर पठाउने हो भने उनीहरुले लेखक कुन पार्टीको वा कुन तहको नेता हो वा कुन तहको विद्वान हो वा कुन तहको व्यापारी हो भनेर लेखाजोखा गर्न थाल्छन् । अझ लेख रचना छपाउनका लागि ओपेड पेजमा काम गर्ने पत्रकारलाई वाइन एन्ड डाइनको व्यवस्था गर्नुपर्छ, भनिन्छ । त्यतिले नपुगेर तिम्रो पत्रिकाले यो लेख छापेवापत दिने पारिश्रमिक निकालेर तिमीले नै लैजानु भन्ने वचन दिनुपर्छ । बरु म तिमीलाई नै वारेस दिउँला भनेर कबुल गर्छन् रे लेखकहरु । त्यस्तै सरकारीबाहेकका कुनै पत्रिकामा बुक रिभ्यु लेख्ने हो भने पत्रिकाको हैसियत अनुसार ४० हजारसम्म पेजचिफलाई टक्र्याउनुपर्छ पनि भनिन्छ । यही कारणले अहिले ब्लगिङ निकै लोकप्रिय बनेको छ । 

ठूला मिडियाले स्पेस नदिएका मानिसहरुका युट्युब च्यानल निकै लोकप्रिय बनेका छन् । अहिले ठूला मिडियावालाहरु अनलाइनमाथि खनिएका छन् । अनलाइनले समाचारको धज्जी उडायो भन्ने आरोप लगाइन्छ, आंशिक रुपमा त्यो सत्य हो । यो विस्तारै सुध्रिँदैजान्छ । खुला समाजमा पाठकको विश्वास नै सुधारको मूख्य आधार हो । विश्वास जिते चल्छ, नत्र बन्द हुन्छ । त्यसैले अहिले आमसञ्चार र सूचना प्रविधिसम्बन्धी ल्याइन लागेका विधेयकमा ठूला मिडियाको भित्री समर्थन पक्का छ । उनीहरु सूचनाका ठेकेदार बनेर सरकार तथा व्यापारीसँग दलाली गर्दैआएका छन् । सामाजिक सञ्जाल तथा इन्टनरनेटले आफ्ना कमाइखाने भाँडो खोसिदिएको उनीहरुले महसुश गरेका छन् । तर सूचनाको एउटा गुण हुन्छ, त्यो हो उ सधैं चुहिन्छ । चुहावट हुने गुणकै कारण सूचना फैलिन्छ । यसले विस्तारै आफ्नै बाटो लिन्छ । कर्पोरेट कल्चरले अब सूचनालाई रोक्न सक्दैन । 
 

ताजा खबर