मदन भण्डारीले किन त्यसो भनेका होलान् ?

२०७६ माघ ४ शनिबार १९:१६:०० मा प्रकाशित

अनामनगरको चिया पसल .......... ५
सदाझैँ मदन कमरेड पुनः आउनु भयो । मैले वहाँलाई सदाझैँ अभिवादन गरेँ । मदन कमरेड अलि चिन्तित हुनुहुन्थ्यो, सायद वहाँले देशको बिषयमा धेरै बुझ्नु भएकोले होला । 'बुझ्यौ सुनिल' भनेर आज मलाई बुझिसबाट बुझ्यौ भनेर संवोधन गर्दा अलि असहज महशुस भयो तर मैले 'हजुर' भनेर वहाँको भनाईमा सही थापेँ ।

हाम्रो भन्दा भारतको अनि भारतको भन्दा चीनको वैदेशिक रणनीति लामो समय देखि नै हुन्छ रे । अझ बेलायती या अमेरीकनको रणनीति त ५० सौं बर्ष पहिले बन्छ भनिन्छ । सायद त्यसैले होला महाशक्ति भएर आउँदै गरेका चीन र भारतलाई रोक्नको लागि उसको तयारी पनि त्यसरी नै भएको हुनुपर्छ र नेपालको विकास हुन सकेन भनौं हुन दिइएन ।

 भारत र चीनकावीचमा खेल्नका लागि नेपाल जस्तो उपयुक्त मुलुक अरु छैन । चीन सम्बन्धी विज्ञहरुले यसो पनि भन्ने गर्छन् ‘सर्पको सबैभन्दा कमजोड भाग उसको भुँडी तर्फको भाग हुन्छ, त्यसैगरी चीनको सवैभन्दा संवेदनशिल भाग नेपाल हो ।’ गरीवीको रेखामुनीबाट उठ्नका लागि नेपालले भरमग्दुर प्रयास नगरेको त हैन तर त्यो सफल हुन सकेन विभिन्न वहानामा । कहिले प्रजातन्त्रको नाममा,कहिले पूर्ण लोकतन्त्र (गणतन्त्र)को नाममा । अझ २०४६ साल पछि त प्रइभेटाइजेशनको नाममा नाफामा सँचालनमा रहेका उद्योग तथा कलकारखानाहरु कौडीको दाममा कवाडीमा बिक्री भए ।

यहाँका नेतृत्व वर्गहरुको कुरा सुन्दा र कुदाई हेर्दा ‘हेड लेस चिकेन’ जस्ता देखिन्छन् अर्थात् दिमाग नभएका चल्ला जस्ता । कुनवेला कुन कुरा बोल्ने र गर्ने भन्ने नै छैन । हालका केही बर्ष देखि त जिम्मेवार नेताले ६ महिना बोलेको सवै जोडेर हेर्दा आफैंलाई लाज अनि ग्लानी हुन्छ । हामीहरुले कस्ता कस्ता व्यक्तिहरुलाई नेतृत्व तहमा पुर्याएर राखेका छौं भनेर । मलाई याद छ, दिवगङ्गत गणेशमान् तथा किशुनजीले जीवनको अन्तिम समयसम्म पनि भगिरथ प्रयत्न गर्दा पनि पुरानो र प्रजातान्त्रिक  पार्टी नेपाली कांग्रेसलाई जोगाउन सक्नु भएन र उ अहिले अस्तित्व जोगाउन तेस्रो जेनरेशनका नेतृत्वको पर्खाईमा छ वाइडवडीहरुको लाचारीका कारण । यस्तै एमालेको हविगत पनि उस्तै उस्तै छ ईमान्दार र कर्मठहरुलाई कि अरिङ्गाल बनाइएको छ या पाखा लगाइएको छ विभिन्न वहानामा ।

हुँदा हुँदा पढाउदै गरेको शिक्षकलाई बिद्यार्थीको वीचबाट थुतेर रुखमा लगेर बोका रेटेझंै रेटेर नृशंस हत्या गर्ने, बाउ आमाको किरिया गर्दै गरेका किरियापुत्रीहरुलाई मारेर उसको आन्द्रा घर वरिपरी वेरेर भएको गोठको गाई काटेर आगनमा भोज लाउने, हिन्दुहरुको धरोहरको रुपमा रहेको पुरानो धर्मग्रन्थको भण्डारणको रुपमा विश्वले बुझेको दाङ्गको संस्कृत विश्वविद्यालयमा आगजनी गरेर धर्म ग्रन्थहरु नष्ट गर्नेहरुसँग सतिजान नहिच्किचाउने एमालेमा पनि रहेको प्रजातान्त्रिक अभ्यास विगत केही महिना देखि क्षिण हुँदैछ । उ अहिले उत्तरकोरिया पथमा जाँदैछ भन्ने बुझ्न सकिन्छ उसको सरकारले ल्याउन तयारी गरेको विधेयकहरु पढ्दा । हुनसक्छ सायद उ निरंकुशतालाई विश्वास गर्ने शक्तिसँगको कार्यगत एकताबाट सुकेको हड्डि चपाउँदा दाँतबाट आउने रगतमा रमाउने प्राणीजस्तो रमाउँदै होला ?

यसबाट के बुझ्न सकिन्छ भने नेपालमा ठूलो कुनै दुर्घटना हुन्छ नयाँ प्रजातन्त्रको लागि जुन दुखद् हुन सक्छ । अहिले सत्ताधारी दलका उपल्लो तहका नेतृत्वले सत्ता मादले आँखा नदेख्ने, कान नसुन्ने र कुरा नबुझ्ने रोगबाट पीडित छन् । बुझेका व्यक्तित्वहरु किंकर्तव्यविमुढ अवस्थामा दर्शक भएर गान्धीजीका तीन चेलाको भूमिकामा ! हामीले भोलिका पुस्तालाई सुरक्षित, विकसित र सवल नेपाल जिम्मा लाउन नसक्ने अवस्थामा पुगेका छौं जुन हुनु हँुदैन । यतिकैमा मदन कमरेडले केही सम्झेझैँ गर्नु भयो अनि मैले सोधेँ कमरेड केही भुलेको हो ? वहाँले भन्नु भयो, बच्चालाई डिडिसीको दुध लिएर जानु थियो भुसुक्कै भएछु । भोलि भेटौं है सुनिल भन्दै कमरेड मदन साइकल चढ्नु भयो ।

अनामनगरको चिया पसल .......... ६

आज एकाविहानै अनामनगरको चिया पसलमा मदन कमरेडलाई भेटेँ । आज वहाँ म भन्दा अगाडि आएर बसिसक्नु भएको रहेछ । मैले सदाझैँ अभिवादन गरेपछि के छ सुनिल भनेर सोध्नु भयो । मैले मेरो हिजो राती देखिको जिज्ञासा राखेँ, कमरेड यो एमसिसिका कुराहरु खटाई खटाई आउँदै छ । सुन्दैछु नेपालको उत्तरी सिमानामा अमेरिकन सेनाको क्याम्प बस्ने पनि रहेछ र ? खासमा के हो ? मैले त्यति भन्दा वहाँले मलाई विस्तारै बुझेका कुरा भन्दै जानु भयो । म शिष्यको रुपमा सुन्दै गएँ, अमेरिका या शक्ति राष्ट्रहरु त्यसै विकसित र शक्तिशाली भएका हैनन् । उनीहरुले विषयगत योजनाकारहरु राखेका हुन्छन् ती योजनाकारहरु सरकारी सेवाबाट निबृत या भर्खरका त्यसको कुनै मतलव हुँदैन । हाम्रामा सरकारी सेवाबाट निवृत्त हुने वित्तिकै धेरै पर गए तीर्थ नत्र आँगन या घरको वरीपरी मै सीमित हुन्छौ । यो हाम्रो परम्परा नै भैसक्यो । निवृत्त व्यक्तिको जीवनभरीको अनुभव अन्तिममा घाटमा लगेर विशर्जन गर्छौं ।

उदाहरणको रुपमा लिउँ– न्यायालयका निवृत्त अनुभवहरु तीर्थ, छोराछोरी भेट्न विदेश, सिंहदरबार वरीपरी मर्निङ्वाक या सरकारको वेथितिको विरुद्ध केही उत्साहीहरु साथमा राखेर भद्रकालीसम्मको जुलुसमा सीमित भएका छन् । तिनिहरुको अनुभव न्यायालयमा प्रयोग हुन जरुरी छ भन्ने तिनका आउने नेतृत्वले कहिले पनि महसुस गरेन । एकजना निवृत्त प्रधानन्यायाधिशज्यूले मलाई ‘मदन कमरेड पहिला पहिला न्यायालयमा नियुक्त हुन विज्ञहरुलाई नेतृत्वले अनुरोध गरेर न्यायालयमा यहाँको अनुभव आवश्यक छ अव यहाँको अनुभव न्यायालयमा गएर दिनु पर्यो भनेर अनुरोध गरिन्थ्यो र नियुक्ति दिइन्थ्यो’ र न्याय मरेको थिएन भनेर न्यायालयको हविगत देखेर दुखित हुनु भयो । हेर सुनिल, आजकल अन्य पेसामा जागीर खाएका, पेन्सन हुनलागेका या पार्टीका झण्डा बोकेर धेरै ठेला उठेका प्रायलाई न्यायमूर्ति जस्तो गहन जिम्मेवारी दिने प्रचलन मौलाएको पाइन्छ । जसको उदेश्य पेशागत निरन्तरता र ‘न्यायालय कब्जा’ मात्र हो भन्ने बुझ्न कठिन छैन । के त्यस्तो न्यायालयको परिकल्पना अहिलेको २१ औं शताब्दिको विधिको शासनमा विश्वास गर्नेहरुले मान्लान् र ? सायद हुनसक्छ, भदौ १२ गतेको संसद बिघटनको फैसलाको चोट नबिर्षेका कारणले होला पनि ? त्यो निवृत्तहरुको अनुभवलाई राज्यले समेटेर राख्न सकेको भए अदालतबाट हुने फैसलाका बारेमा समय समयमा बिमर्शमा राखेर न्यायमूर्तिहरुको पदोन्नतिको प्रकृयालाई जोड्न सकेको भए सफा र न्यायिक सुझबुझता कायम हुने थियो कि ? सो को अभावमा आजकलको जस्तो ‘निर्णय हुने न्याय नहुने’ हँुदैन थियो होला ?

आजकल सेवाबाट पदोन्नति हुँदै आएका न्यायमुर्तिहरु आफैंले कखरा पढाएका बालकहरु आफ्नै हाकीम भएको देखेर भएको विरक्ती र तिक्ततालाई मेट्न विदाको सदुपयोगमा कि तीर्थ कि मनोरम दृश्यावलोकनबाट आफूलाई संययित बनाएर थुम्थुम्याएको देखिन्छ सँजालहरुमा । या विलक्षण योग्यताका वावजुद खालि समयमा विभिन्न वहानामा आफंैलाई नशामा डुवाएर गम भुलेर बसेको पनि सुनिन्छ, जुन असाध्यै दुखद पक्षहो विधिको शासनको लागि । त्यति हुँदाहँुदै पनि न्याय दिन प्रयत्नरत न्यायमूर्ति तथा तिनका सहयोगीहरु रातारात जिल्ला छोडेर सुरक्षित स्थान रोज्नका लागि हारगुहार गरेको समेत सुनिन थालेको छ । न्यायालय सुधार गर्न सवैभन्दा सजिलो प्रकृया भनेको क्याडरहरु मात्र प्रधानन्यायाधीश हुने या लोकसेवाको सहयोग लिएर जिल्ला न्यायाधीशबाटै नियुक्ति दिने ।

मदन कमरेडले प्रसंग बदल्नु भयो र भन्नु भयो– आजकल ठूला दलका ठूला नेता सडकको पेटीमा भेटीन छाडे । के तिमीलाई थाहा छ ? किन छाडे सडकका पेटीमा हिँड्न भनेर सोध्नु भयो । मैले भने सिपि मैनाली त अनामनगरको सडकको पेटीतिरै देख्छु । अस्ति आरकै कमरेड पनि देख्या हो, अनि शेखर कोइराला पनि देख्या हो भनेँ । अनि वहाँले ती मात्रै नेता हुन् त नेपालका ? कि नदेखेर बिर्षियौ भनेर प्रश्न गर्नु भयो । मैले भने टिभि आजकल हेर्दिन, सायद बिर्सें होला । तर अस्ति ५ हजारको जिम्मा लिन्छु भन्या सुन्या थेँ कमरेड भनेँ अनि वहाँ हाँस्नु भयो । ती त नेतै हैनन् नि भनेर अलि गम्भिर हुनु भयो र भन्नु भयो– नेपाल यो वेहाल हुनुमा छविलाल दाहाल र दिवंगत गिरिजाप्रसाद कोइरालाको ठूलो भूमिका छ नि सुनिल भन्नुभयो । अनि मैले भने– अरुणको विरोध गर्ने माधब नेपाल र महाकाली सन्धि पास गर्दा ताका १ खर्ब २० अर्ब नेपाललाई फाइदा हुन्छ भन्नेहरु सत्तामा छन् अरु त के भनौं र कमरेड भनेँ । यतिकैमा कमरेडले आज दुई तीन विषयमा कुरा गरियो सुनिल । भोलि मेरो मिल्दैन आउन जिल्लाका साथीहरु आउँछन् डेरामा । अब पर्सि बसौंला है भनेर साइकल डोर्याउनतिर लाग्नु भयो । 

म झल्याँस्स ब्युँझिदा त श्रीमतीले सपना देखेपछि मुखले पनि बरबराउनु पर्छ बूढा भनेर निस्किन् ।
 

ताजा खबर