देउवालाई सम्झाईदिन स्वर्गवासी किशुनजीसँग आग्रह

२०७६ माघ ३ शुक्रबार १४:१८:०० मा प्रकाशित

श्रध्येय किशुनजी,
जय नेपाल ।

तत्कालीन शेरबहादुर देउपा ! अहिले देउवा ।

बिनोद समशेरका ज्वाईं, नेपाली कांग्रेसका सभापति ।

तपाईँ त बच्चैदेखी चिन्नुहुन्छ क्यारे ! मैले चैं विद्यार्थी नेता हुँदा नेबिसंघकै दाईको भोटेबहालको डेरामा देखे चिनेको हो । खिरिलो ज्यान । देख्दै मायालाग्दो तर प्रजातान्त्रिक आन्दोलन प्रति सारै नै निष्ठावान । उनका पुस्ताका प्राय सबैको जमघट हुन्थ्यो त्यहाँ । काङ्ग्रेस र प्रजातन्त्रका कुरा सुन्दा सारैनै श्रद्धा लाग्दथ्यो । नेबिसंघको अफिस जस्तै थियो त्यो डेरा ।’

 ‘जय नेपाल’ बाट सुरु भएको जमघट बेलुकी अशनको लोकलको ‘चियर्स’ बाट समापन पछि जो जता मिल्यो उतै लड्थे र बिहान आँखा खुलेपछि आ–आफ्नो सुविधा अनुसार उठेर हिँड्थे ।

बिस्तारै उनमा निराशा छाउन थाल्यो । पञ्चायत पस्ने लक्षण बुझेर तपाईंले नै पढ्ने बहानामा लन्डन पठाइदिनुभो हैन ? सम्झनोस् त ! उता गएर पढे कि मस्ती गरे उनै जानुन । ०४६ को आन्दोलनताका उतै थिए । अध्यक्ष भै सकेको, लन्डन बसेर पढेको, जल्दोबल्दो आफ्नो विश्वासपात्रलाई नेपाल बोलाउनु भो, टिकट दिलाउनु भो । पहिलो मन्त्रीमण्डलमा गृहमन्त्री नै बनाईदिनुभो ।

बेलायति संगत, त्यसमाथि गृहमन्त्री ! उनको लेवल बढेर लोकलबाट ‘ब्ल्याक लेवल’ मा पुग्यो । बिस्तारै बिस्तारै चरीत्रको लेवल पनि ब्ल्याक हुँदैगएको सबैले त्यसबेला थाहा पाए जतिबेला उनि पदिय मर्यादा बिर्सेर झापाको चिया उद्योगिको पार्टीमा दारु सेवन गरि महिला पुलिससँग नाच्न पुगे । भोलिपल्ट झापा पार्टी अफिसमा नेबिसंघका युवाहरुले झाँको झार्दा अब उप्रान्त त्यसो नगर्ने र सुध्रिने बाचा गरे । तर ‘हम कभी नहि सुधरेंगे सनम’ भने झैं उनि के सुध्रिन्थे र ! झन श्री ३ को ज्वाईँ भएपछि त .... सक्किगो नि ।

पछि प्रधानमन्त्री भए ! हेर्दाहेर्दै डडेल्धुरामा  रोटा खाने देउपा काठमान्डौमा  ‘ब्रेड’ खाने देउवा भए । यिनले के मात्र गरेनन् पार्टी फोरे, प्रचण्डको टाउकाको मोल तोके, गिरिजाले अन्याय गरे, राजाले न्याय गरे भन्दै हिँडे । यी त सामान्य कुरा भए जुन तपाईंलाई जानकारी नै छ ।

श्रध्येय किशुनजी,

तपाईं त हिँडिहाल्नुभो । पछि तपाईंका प्रिय चेला सभापति चुनिए । खुमबहादुर समेत उनलाई जिताउन लागे ! रामचन्द्रलाई छोडेर । सभापति के भएका थिए, सबै बाचा बिर्से ! खुमबहादुर पनि बिर्से । रामचन्द्र लगायत पुराना र त्यागी नेता कार्यकर्ता पेल्न ०४६ पछिका चैते काङ्ग्रेस काखी च्याप्न थाले । गिरिजाले पार्टी संस्थागत गरेनन्, ब्यक्तिगत बनाए भन्ने उनी गिरिजाका हजुरबा भएर निस्के ।

हाल आएर कुनै बेलाका एक अर्काका दुश्मन, टाउकोको मोल तोक्ने र तोकिने दुबै मिलेर पार्टी मात्रै हैन मुलुकै सिध्याउन लागिपरेका छन । हुँदा हुँदा २०औं बर्षपछि हुनलागेको चुनावमा तिनै प्रचण्डसँग मिलेर सबै काङ्ग्रेसलाई रुखमा भोट नहालेर हँसियाहथौडामा पो हाल्नु भने ! चितवन हेर्नोस त ? तपाईं नै भन्नुहुन्थ्यो– मुख हैन रुख हेर्नु । अब त त्यै हेर्न पनि नदिनेभए ।

०४६ पछि कमाउन काङ्ग्रेस भएका अंगिकृत काङ्ग्रेसलाई त जता हाले नि फरक परेन होला तर पञ्चायत फाल्न ज्यान जोखिममा राखेर आजिवन काङ्ग्रेस र रुखलाई आदर्श मानेर हिँड्ने काङ्ग्रेसले आफंैलाई काट्न हिँडेको प्रचण्डलाई कसरी भोट हाल्न सक्थे र ?

श्रध्येय किशुनजी,

तपाईंको प्रिय चेलाका कर्तुत धेरै छन् । लेख्दा महाकाब्य नै बन्छ । काङ्ग्रेस बचाउनु छ, मुलुक बचाउनु छ । तपाईंको कुरो मान्छन् र तपाईं मिलाउन सिपालु हुनुहुन्छ भन्ने बिश्वास पनि भएकोले यो पत्र लेख्दैछु ! राम्रोसँग सम्झाई दिनु परो, पञ्चायत पस्नबाट जोगाउने तपाईंमा यिनलाई भस्मासुर हुनबाट रोक्दै काङ्ग्रेस र मुलुक जोगाउने खुबी छ भन्ने बिश्वासले यो पत्र लेख्दैछु ।

नेपालमा अहिले हुलाक सेवा लोप प्राय भैसकेको छ । पत्रबाट ढिलो होला, तुरुन्तै फोन सम्पर्क गरे राम्रो । हुन त यहाँको टेलिकम झेलिकम भैसकेको छ, नेटवर्कले कामै गर्दैन । तैपनि कोशिश गर्नुहोला । पत्रबाट होस या फोनबाट होस तर चाँडै होस  राम्रोसँग सम्झाईदिनु परो ।

सम्पर्क हुन सकेन भने तपाईं यता आउन त मिल्दैन, केहि उपाय लागेन भने कुनै वैकल्पिक उपाय खोज्नैपर्ने भयो !

जय नेपाल ! 

(लेखक भूर्तेल नेबिसंघ झापाका जुझारु नेता हुन्,यो उनको निजी बिचार हो ।)

ताजा खबर