नेपालमा अमेरिका विरोधको चरित्र र भविष्यको गन्तव्य !

२०७६ पौष २९ मंगलबार १६:११:०० मा प्रकाशित

१. भियतनाम युद्धताका जमलस्थित अमेरिकी दुतावाश अगाडि उहाँहरू अमेरिकी साम्राज्यावाद मुर्दावाद भन्दै उफ्रिन पुग्नुहुन्थ्यो ! भियतनाम युद्ध सकिएको भोलीपल्ट देखि हनोई र सैगन लगायतका भियतनामी शहरहरूमा अमेरिकी र भियतनामीहरू अङ्कमाल गरेर हिड्न थाले I

सिङ्गापुरका विख्यात लेखक र कूटनीतिज्ञ किशोर महाभुवानी अनुसार अमेरिकीहरुले आफ्ना लागि संसारमा सवै भन्दा सुरक्षित स्थान नै भियतनाम रहेको बताउन थाले I तर केही नेपालीहरू भियतनाम युद्धकै धङधङीबाट मुक्त हुन सकेका छैनन् ! सरकार र सत्तामा नरहेका नेपाली कम्युनिस्ट र वाम झुकावका विश्लेषकहरूको भियतनाम युद्ध ताकाको स्कूलिङ्बाट निर्मित उनीहरूको अमेरिकाप्रतिको दृष्टिकोण जस्ताको तस्तै छ !

*****
२. १९७९मा चीनले नै भियतनाममाथि आक्रमण गर्यो, भियतनाममा अमेरिकाको आक्रमणको विरोधमा अमेरिकी दुतावाश धाउने कोही पनि नेपाली कम्युनिस्ट र वाम बुद्दिजीवी र विश्लेषक चीनियाँ दुतावाश अगाडि विरोध जताउन गएनन् I

*****
३. अमेरिकाको चीन नीति घोकेर विश्व दृष्टिकोण बनाए पछि त्यही अमेरिका र चीन सवै भन्दा घनिष्ट बने हाम्रा एक थरी वामहरू अमेरिका विरोध मै रमाइरहे !
विश्व फेरियो उनीहरू फ़ेरिएनन !

*****
४. भारतले साम,दाम, दण्ड, भेद , छल छाम सबै नीति अपनाएर सिक्किमलाई भारतमा विलय गरायो तर त्यसो गर्दा सिक्किमको निर्वाचित संसदको सर्वसम्मति र जनमत सङ्ग्रहमा ९७ प्रतिशत जनताले विलयको पक्षमा मतदान गरे र सिक्किम भारतमा विलय भयो I
त्यसको नेपालमा व्यापक विरोध भयो !
त्यो विरोधमा वामपन्थीहरू अग्र पङ्क्तिमा थिए !

विरोध सडकमा पनि भयो र तत्कालिन संसद राष्ट्रिय पंचायतमा पनि भयो I

*****
५. तर मार्च १८५६मा नेपाल र तिब्बतवीच भएको सन्धि अनुसार तिब्बत माथि कुनै अर्को मुलुकले आक्रमण गरेमा आक्रमणकारी राष्ट्र विरूद्ध नेपाल तिब्बतलाई सहयोग गर्न प्रतिवद्ध थियो I

सन्धि यथावत थियो, तर १९४९ र १९५९मा चीनले तिब्बतमाथि आक्रमण गर्दा र सैन्य बलबाट तिब्बतलाई नियन्त्रणमा लिँदा नेपाल चुँक्क बोलेन !

*****

६. अमेरिका विरोध हाम्रो राजनीतिक र वौद्धिक शोख र विलास बनेको छ I
तर वर्तमान विश्वलाई अमेरिकाले श्रेष्ठ स्कूल, कलेज र विश्वविद्यालयहरू दिएको छ I
श्रेष्ठ अध्ययन र अनुषन्धान केन्द्र र थिङ्क ट्यांकहरू दिएको छ !
उत्कृष्ट अस्पतालहरू दिएको छ I

ज्ञान विज्ञान,प्रविधि विकास, अध्ययन र अनुषन्धानमा उसले संसारमा सवै भन्दा बढी मात्रै होइन, बाँकी सवै मुलुकले गर्ने जति ऊ एक्लैले गर्दछ I
विश्ववाट रोगव्याध, महामारी, हटाउन , गरिवी न्यून गर्न, शिक्षा र कृषिको विकास गर्न उसले जति सहयोग अर्को कुनै मुलुकले गरेकै छैन I
नेपालकै कृषि, शिक्षा, मलेरिया उन्मूलन, खनिज अन्वेषण,वन विकास, गरीवी निवारण, यातायात आदि आर्थिक र सामाजिक विकासको क्षेत्रमा प्रतक्ष र परोक्ष रूपमा अमेरिकाले दिएको सहयोग हिसाव गर्ने हो भने - त्यो बाँकी सवै मुलुकले दिएको सहयोग भन्दा बढी होला I

*****
७. नेपाली कम्युनिस्टहरूको अमेरिका विरोधको मूल कारण राजनीतिक आग्रह र कुण्ठा मात्रै हो !
उनीहरू कहिले क्युवाको लागि, कहिले भेनेजुवेलाको लागि , कहिले रूस , चीन, भियतनामको लागि अमेरिकाको विरोध गर्दछन !
अनि नेपालमा माओवादीको एकलौटी सत्ता स्थापनामा अमेरिका वाधक भएकोमा विरोध गर्दछन् !

*****
८. हो अमेरिकाले दुनियाँलाई युद्ध पनि दिएको छ , शान्ति र अशान्ति दुवै दिएको छ I
प्रजातन्त्रलाई वलियो पनि बनाएको छ र कमजोर पनि !

*****
९. अमेरिकाका कारण पनि विश्वमा तनाव र द्वन्द्व छ तर पक्का के पनि हो भने अमेरिका नभएको भए यो तनाव र द्वन्द्व धेरै त्राषद हुने थियो I
दोस्रो विश्व युद्ध पछि संसारबाट उपनिवेशवादलाई अन्त्य गर्नमा सवैभन्दा ठूलो योगदान अमेरिकाकै छ I
दोस्रो विश्व युद्द पछि लथालिङ्ग भएको विश्वलाई पुन उठ्न सघाएको उसैले हो I

*****
१० अमेरिका यो विश्व व्यवस्थाको नायक हो I
दोस्रो विश्व युद्ध देखि आज सम्म विश्वमा युद्ध, महामारी, प्राकृतिक विपद आदिबाट पीडित मानव समुदायको उद्धारमा पनि
अमेरिकाको जति योगदान कुनै अर्को राष्ट्रको छैन I

*****
११. विश्वलाई अमेरिका चाहिन्छ र ऊ रहन्छ - उसको आकार, उसको अवस्थिति, ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा उसका उपलव्धि, उसका प्राकृतिक साधन र स्रोत र सवै भन्दा ठूलो कुरो उसको मानव शक्तिको विराट भण्डार !
कहिले १९ होला कहिले २० होला तर कुनै अर्को मुलुक २० र अमेरिका १० हुन सम्भव छैन !

*****
१२. भारत जे छ त्यही हो , चीन त्यही हो अमेरिका पनि त्यही हो !
हाम्रा लागि उनीहरूले आफ्नो नीति परिवर्तन गर्दैनन् I
उनीहरूको नीति,आकार र क्षमता अनुरूप अनुरूप हामीले आफूलाई समायोजन गर्ने हो I

फोस्रा आदर्शका कुरा जे गरे पनि विश्व मोदी, पुटिन,सी र ट्रम्पहरूको वरिपरी नै घुम्ने हो I
पात्र फ़ेरिएलान, मुलुक फेरिन्नन् !

*****
१३. हामीले सक्ने भनेको सिङ्गापुर , ताइवान, दक्षिण कोरिया, इजरायलको जस्तो क्षमता आर्जन गरेर मोदी, पुटिन,सी र ट्रम्पहरूसँग मुलुकको राष्ट्रिय हितका सवालमा आफ्नो बार्गेनिङ्ग पावर बढाउने मात्रै हो I
पुरुषार्थ र कूटनीतिक कुशलता देखाउने त्यहीं हो !

*****
१४. सहयोग लिने, घनिष्टता बढाउने र सिङ्गापुर , ताइवान, दक्षिण कोरिया र इजरायल बनेर हुङ्कार भरेर बस्ने I
६०-७० लाख कर्मठ युवालाई विदेश धपाउने, अनि शिक्षा, ज्ञान , शीप केही नभएका कर्महीन र पुरुषार्थ हीन लोभी पापी हरूको बथान समेटेर यिनलाई रजगज गर्न मात्रै होइन नेपाल ?

*****

१५. हामीले भन्ने हो —

“अमेरिका आऊ , भारत, चीन, जापान, वेलायत, जर्मनी,फ्रान्स सवै आऊ , हामीलाई यो यो देऊ तिमीलाई के के चाहिन्छ भन हामी दिन्छौँ !
तिमीहरूका आपसी विवाद, स्वार्थ , द्वन्द्व तिमीहरू जान , झगडा गर, बाझ, जुध जे गर्छौ गर !
मेरो देश नछोइदेऊ !
मेरो देशको स्वतन्त्रता र सुरक्षाको अन्तर्राष्ट्रिय ग्यारेन्टी हुने व्यवस्था गरिदेऊ बस , पुग्यो हामीलाई !
हामीलाई इण्डो प्यासिफिक , एमसीसी, बीआरआई, एससियो कुनै -कसैसँग परहेज छैन !
त्यसको नाउमा तिमीहरू यहाँ आएर कुस्ती नखेल !
हामीले खोजेको अखण्ड, समुन्नत नेपाल मात्रै हो !”

*****
१६. संसारमा हजारौँ वर्ष पुराना राज्यहरू थिए र छन् - ती अमेरिका भन्दा ठूला पनि शक्तिशाली पनि थिए तर के कारणले सय वर्ष देखि संसारको सवैभन्दा शक्तिशाली मुलुक अमेरिका बनिरहेको छ र डेढ सय वर्ष देखि संसारको सवै भन्दा समृद्ध मुलुक बनिरहेको छ ?
त्यसको उत्तर खोज्ने, अमेरिकासँग सिक्ने, लिने र सीमानाका दुई ठूला र शक्तिशाली मित्रहरूबाट लिपुलेक सम्झौता जस्तै अन्य सम्झौता हुन नदिन पनि अमेरिकाको आड विश्वास आर्जन गर्नु पर्दछ हामीले !

कुनै वलियो मुलुकको आड र मध्यस्थता प्राप्त गर्न नसक्दा विगतमा भारत र चीन र तिब्बतसँगको युद्धमा हामीले धेरै भूभाग गुमाएका कुराको हेक्का राख्नु पर्दछ - हामीले I  (राजनीतिक विश्लेषक तथा नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको समसामयिक टिप्पणी उनको फेसबूकबाट साभार) 

ताजा खबर