अब चैं आउँछ कि मेलम्ची: सुरुङ ‘फिनिसिङ’को काम सकिनै लाग्यो

२०७६ पौष २८ सोमबार १४:४३:०० मा प्रकाशित

काठमाडौं । राजनीतिक संरक्षणमा चलमलाएको कमीशनखोर माफियाको कारण अलमलमा परेको मेलम्ची खानेपानी आयोजना अब भने सफलताको नजिक पुगेको छ । सत्तारुढ दलभित्रै कमीशनको होडबाजी चलेपछि ठेकेदारले बीचमै काम छोड्नाले करिब तीन दशक बित्दा पनि मेलम्ची सम्पन्न हुनसकेको छैन । अब भने यस आयोजनाको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको बुझिएको छ ।

अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । राजनीतिक हस्तक्षेप र कमीशनको प्रतिष्पर्धाले गर्दा इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो । 

    बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले रासससँग बताएका छन् । नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उहाँको भनाइ छ । उनेले भने, “यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।”

    आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । अहिले सो आयोजनाको समस्याका रूपमा सिएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ । 

    सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ । मेलम्ची काठमाडौँमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
 

ताजा खबर