सपनामा किन आईरहन्छन् मदन भण्डारी साईकल चढेर

२०७६ पौष २६ शनिबार १६:०३:०० मा प्रकाशित

अनामनगरको चिया पसल ... १

अनामनगरको चिया पसलमा चिया खान भनेर बस्या मात्रै थिएँ, उताबाट साइकलमा स्वर्गवासी मदन भण्डारी आउनु भयो र मेरै अगाडिको कुर्सिमा बस्नु भयो । मैले आदरपूर्वक अभिवादन गरें पछि उहाँको अनुहार पुनः हेरें । उहाँले के छ तेरो सुनिल भनेर हालखबर सोध्नुभयो ।

 मैले त्यति ठीक छैन भनेर जवाफ दिएँ । किन र हेर्दा ठीकै देख्छु भन्नुभयो । संसदबाट पास हुँदै गर्नलागेको एमएमसीसी सम्झौता र सूचना विधेयकको कुरा कोट्याएँ । त्यसपछि उहाँ अलि गम्भीर हुनु भयो । अनि उहाँको सवारी साधन साइकल तर्फ हेर्नु भयो ।


त्यत्तिकैमा केही युवाहरू हल्ला गर्दै आए । त्यसपछि सुनिल भोलि है भनेर हात हल्लाएर साइकल तर्फ जानुभयो भण्डारीजी ।

अनामनगरको चिया पसल ... २

हिजोको वाचा मुताविक मदन कमरेड साइकल चढेर आउनु भयो । अनि हिजोको मेरो प्रश्नको उत्तर दिनु भन्दा अगाडि उहाँले भन्नुभयो– ‘बुझिस् सुनिल, नेपालमा अहिले नेपालको भौगोलिक र सामरिक अवस्था नबिचारेर शासन चलेको अनुभूति हुँदैछ । सायद अहिलेको खतरनाक परिस्थितिका लागि हामी मारिएका रहेछौ !’ 
मैले बीचैमा थप्दै भनें– ‘राजाको वंशनाश पनि यसैकालागि नै हो कि सायद अनि राजसंस्थालाई नेपालको राजनीतिबाट वेदख्खल गरेको !?’

 मेरो प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो–‘ हुन सक्छ पनि !’ तर हिजोको प्रश्नको उत्तर त दिन त उहाँले बाँकी नै थियो ।

एमसीसीका बारेमा गंभीर भएर भन्नु भयो–‘यसलाई दासढुङ्गा हत्या देखि जोड्नु पर्छ ।’ 

अझै अर्को भनाई नेपालीको मनमा राखे, त्यो हो नेपालमा शाहवंश त १२ पुस्ता मात्रै चल्छ भनेर ५० बर्ष पहिले देखि भनाइयो र त्यो वंश नास त हुनै थियो भन्ने पारियो रे । त्यतिकैमा सडकमा कालो पोतिएको ठूलो गाडी हतियार सहित ठूलो आवाजका साथ साइरन बजाउँदै आयो । त्यसपछि उहाँ भोलि भेट्ने वाचा गर्दै साइकलमा जानुभो ।

अनामनगरको चिया पसल ... ३

मदन कमरेड सदाझैं साइकलमा आउनु भएन । उहाँ आज मित्सुविसि लेखेको जिपमा आउनु भयो । उहाँ कतै बाहिर जाने हतारोमा हुनुहुन्थ्यो । सूचना विधेयकमा भएको व्यवस्था हेर्दा मलाई पञ्चायतमा नेताहरू त्यत्रो बर्ष विभिन्न कष्टपूर्ण जेल जीवन बिताएको बिर्सेर शासकको दम्भ भएको देख्दैछु । यो विधेयक यही रूपमा आएको दिन यो संविधानले ओपेन टिक काट्छ यो पक्का हो । जनता अहिले आफ्नो फ्रस्टेशन सँजालमा पोख्छन् तर सँजाल जुन दिनदेखि प्रयोग हुन पाउँदैन त्यसपछि सडक रोज्नेछन् । यद्यपि त्यो दिन नआवस तर आउँछ । आयो भने अहिलेका शासकहरूले लुक्ने ठाउँसम्म पाउँदैनन्, यो पक्का हो । 

जनताको निर्णय कठोर पनि हुन्छ । विश्व राजनीतिले पटक पटक प्रमाणित गरेको छ । अर्को कुरा एमसीसी परियोजना आफैंमा नराम्रो हैन तर त्यसमा भएका नेपाल तल पारिएको प्रावधान हटाउँदा त विकासको कुरा छ । हामीले त्यस्ता ठूला परियोजना ल्याउँदा प्रशस्त अध्ययन र अभ्यासको आवश्यकता हुन्छ । जुन त्यो भएको देखिँदैन पनि । सामरिक रूपले नेपालको भूगोल महत्वपूर्ण छ । छिमेकीहरूको सुरक्षालाई ख्याल राख्न जरूरी छ, जुन भएको छैन । यस्ता अफ्ठ्यारा कामको सुरूवात प्रायः देउवाको शासन चलेका बेलामा गरिएको पाइन्छ ।

 यो एमसीसी परियोजना पनि देउवाको पालामा भएको हो ।

चिया सकेर मदन कमरेडले ‘मेरो पालामा ल्याइएको जनताको बहुदलिय जनवाद’ पढिस् ? भनेर सोध्नु भयो । मैले २०४९ तिर एक पटक बस्नेत थरका दोलाखेली कामरेडले पढ्न दिएका थिए तर त्यसपछि छैन भनें । उहाँले नभए खोजेर पढ् भन्नू भयो र भेटुँला है भन्दै गाडीमा जानु भयो ।

म झल्याँस्स बिउँझेको त पानी पो पर्दैरहेछ ।

अनामनगरको चिया पसल ... ४

आज राती सपनामा मदन कमरेड आउनु भयो तर अलि ढिलो गरि अनि अलि थकित पनि । अभिवादन गरेपछि के भो भनेर सोधेँ । उहाँले ‘यो सरकारले यति ग्रूपलाई सवै जिम्मा लाउँदैछ भन्ने सुनें भा के हो ?’ भनेर सोध्नु भयो । विनाशकाले विपरित बुद्धि भनेको यही हो भनेर मैले जवाफ दिएँ । सुनको अण्डा दिने कुखुरो काटेको कथा संझाए । उहाँले बुझें भन्नू भयो । अनि के भन्नू भयो भने जनताले २०४७ साल देखि कांग्रेसलाई हेरे, कुशासन भन्दा केही गरेनन् र बाम (दाम) हरूलाई हेर्न खोजे तर यी त झन् झन् बर्वाद बुझे अब नयाँ कुनै विश्वासयोग्य शक्ति जुन सधाको लागि नेपालीसँग रहनसक्ने हुनसक्छ त्यसको बाटो हेर्दैछन् जनता ।
 राजाले जनतालाई सार्वजनिकरूपमा म प्रजातान्त्रिक तवरबाट शासन गर्छु भने त सवै खुशी हुन्थे भनेर उहाँले भन्दा मैले उहाँलाई यहाँले पनि त्यसो भन्या ? भनेर प्रश्न गर्दा उहाँले के भन्नू भयो भने ‘मैले केही पटक राजाहरूलाई भेटेको छु, त्यसवेला भनिए जस्ता निरङ्कुश छैनन् राजा । मेरा सैध्दान्तिक प्रतिद्वन्द्वी मित्र सीपी मैनालीलाई सोध न पो भन्नुभयो उहाँले । 

यतिकैमा काँधमा झोला बोकेका केही मानिस आए अनि मदन कमरेडलाई जाउँ भनेपछि उहाँ साइकल डोर्याउँदै जानु भयो मलाई ‘भोलि है’ भन्दै !

(फायल तस्बिर)

ताजा खबर