व्यंगवाण: पौडेल समूहको रात्रीभोजको कथा

२०७६ पौष २३ बुधबार १५:१८:०० मा प्रकाशित

अति गरो यो क्षेत्रीले ! अब यसलाई नहराई हुन्न !

कान्छो महामानवले दारा किट्नु भो !!

 हो ! अब सहन सकिन्न ! यसलाई नहराई काङ्ग्रेसको उत्थान सम्भव छैन ! रुन्चे ब्राह्मणले सहि थाप्नु भो !!

 उसलाई हराउन हामी नमिली सम्भव छैन, त्यसैले हामी मिल्नु पर्छ ! बाहुवली तेस्रो शक्तिले उपाय सुझाउनु भो !!

साँच्चै ! यो त हिटलरकै बाउ हुन लाग्यो ! यसपाली यसलाई हराउनै पर्छ ! सानो लौहपुरुष पनि तात्नु भो !!

मिल्न त मिल्ने ! तर हराउने चैं कसरी ? रुन्चे ब्राह्मणले जिज्ञासा राख्नु भो !!

पेल्ने नि ! त्यसलाई पेलेरै हराउनु पर्छ ! तेस्रो शक्तिले उपाय उपाय पस्किनु भो !!!

हैन ! पेलेर हैन !! बरु पिएर हराउन सकिन्छ !!! पिएरै हराईदिने हो ! कान्छो महामानवले अर्को उपाय आविष्कार गर्नु भो !!!

 हावा गफ ! पिएर नि कसैलाई हराउन सकिन्छ ? बरु रुनु पर्छ !! रोएरै सोत्तर पार्ने त्यसलाई !! रुन्चे ब्राह्मणको तर्क !! के हावादारी गफ गरेको होला ? पेलेर, रोएर, पिएर नि कतै हुन्छ ? लौरोले हानेर भुक्लुक्क पार्ने नि !! म सँग मेरो बा को लौरो छ !! त्यसले जस्तो सुकै बिरोधीलाई पनि लडाउँछ !! हरिबोलको कथा याद गरौं त पञ्चायतकालको !!

 यसरी बिबाद गरेर हुन्न ! कसरी लडाउने र को सभापति हुने भन्ने टुंगो गरांै अब ! सानो लौह पुरुषको तर्कमा सबैले सहमति जनाउनु भो !!

 पेलेरै लडाउने र म सभापति हुने नि !! कुरै खत्तम !! तेस्रो शक्तिले आफैंले आफैंलाई प्रस्ताव गर्नु भो !! उहाँले आफ्नै काकालाई पेलेरै थापा निवासमा डेरा सार्देको र अर्को फुच्चेलाई जिल्ला सभापति देखि संसदीय चुनावसम्म पेल्दै बुढानिलकण्ठको पूजारी बनाईदिएको योग्यता बर्णन गर्नु भो !

यसरी पेलेर हुन्न, बरु रोएर लडाउन सकिन्छ ! म सँग रुने अनुभव प्रशस्त छ !! उसलाई लडाउन म सक्षम छु !! रुन्चे ब्राह्मणले आफू सभापति हुने आसय प्रकट गर्नु भो !!!

नाप्यौ बाहुन !! सत्र सत्र पल्ट रुँदा पनि आफैं लड्यौ !! अब म सभापति हुने ! म सँग लडाउने शक्तिशाली बा को ऐतिहासिक लौरो छ !!! त्यसैको बलमा म उसलाई लडाउन सक्छु !! 

 त्यसबेला त हामी मिलेका थिएनौं नि त अहिले मिलेपछि ...

 लु भो ! तपाईंहरु चुप लाग्नुस् ! त्यसलाई ठीक लाउने उपाय म सँग छ !! मस्त पिउने अनि लडाउने !!!! रुन्चे ब्राह्मणको कुरो बीचमै काट्दै कान्छो महामानवले थप्नु भो, म सँग काङ्ग्रेसको खान्दानी नाता समेत जोडिएको छ !! अबको सभापति म !!

अब यसरी लामो विवाद गरेर हुन्न ! निष्कर्षमा पुगांै !!! तेस्रो शक्तिले बैठक छोट्याउने आसय प्रकट गर्नु भो !!! यति लामो ईतिहास बोकेको काङ्ग्रेसको विवाद पनि लामै हुन्छ नि !! तपाईं पछि आएकोलाई के थाहा काङ्ग्रेस ? रुन्चे ब्राह्मणले हल्का लाठी चार्ज गर्नु भो !!!

लौ ! अब समापनतिर लागौं ! एइ केटा ! के छ ब्यवस्था ? कान्छो महामानवले आवाज लाउनु भो !!! केटोले बोतल, चारवटा ग्लास, सलाद र पानीको बोतल पेस गर्याे !!

मलाई थाहाथ्यो ! बाहुनले साग मै टार्छन् भन्ने कुरो !! आफू त आफ्नो ब्यवस्था आफैं गर्ने हो !!! हल्का ओठ लेप्र्याउदै ओभरकोटको खल्तीबाट बफ छोईला निकाल्नु भो सानो लौह पुरुषले !!!

आफू त बफ सफ चल्दैन बाहुन परियो तर खुर्सानी चै नभै हुन्न ! पहिले पहिले मलाई खुर्सानी माईला भन्थे ! कोटको खल्तीबाट खुर्सानी निकाल्दै सोफाबाट झरेर पलेंटी कस्नु भो रुन्चे ब्राह्मणले !!

आफू त जयगुरु परियो ! लसुन प्याज समेत चल्दैन !! तेस्रो शक्ति तल झर्नुभएन ! सोफामै बस्नु भो !!!!

बाँकी तिनैजना मुखामुख गरेर हाँस्नु भो !!!

चियर्स !!!! पार्टी एकता कायम रहोस् !!!

तीनवटा ग्लास एक अर्कामा ठोक्किए !!!

माहोल तात्दै गयो ! सोफामा बसेका तेस्रो शक्तिले बिगत सम्झेर थुक निल्नु भो !! हंसले माग्ने र आडम्बरले रोक्ने द्वन्द चल्यो !!!

उहाँको बेचैनी बुझेर कान्छो महामानव बोल्नु भो– जयगुरु !! हुने सुरु ? आउनुस् !!!

बुढेसकालमा पोईल हिँडेकि छोरीलाई बाउले ‘ज्वाईं लिएर आईज ! टीका लाईदिन्छु’ भनेझैं भैगो उहाँलाई !! सोफा छोडेर हाम्फाल्दै पलेटी कस्नु भो !!!

 मलाई पनि बफ चल्दैन ! यो त फलफूलको रस त हो नि है ? एउटा खुर्सानी पाउँ न !!!

धेरै बोतल रित्तियो !! रात पनि छिप्पियो !!!

लौ ! अब सुतौं !! महाधिवेशन तयारीका लागि आराम जरुरी छ !!

सबैको मत मिल्यो !! एकले अर्कोलाई  good night  गर्नु भो आ–आफ्नो हिसाबले लड्नु भो !!!

काङ्ग्रेस कार्यकर्ताहरु ! कृपया डिस्टर्व नगर्नु होला !! उहाँहरु महाधिवेशन तयारीका लागि सुकलामा हुनुहुन्छ !!!!

(नेपाली कांग्रेसको आन्तरिक विवादमाथि सांकेतिक शैलीमा व्यंग गरिएको यो सामग्री कसैप्रति दुराग्रह राखेर लेखिएको  होइन ।)
 

ताजा खबर