७० वर्षकै नालायक नेतृत्वको हातमा कांग्रेस

२०७६ पौष १६ बुधबार १३:२९:०० मा प्रकाशित

कहिले काहीँ नसोचेका मान्छेले सही कुरा बोल्छन् । आज प्रकाशमान सिंहले बोलेछन्ः ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ । त्यसका लागि उत्कृष्ट टिम तयार गरौं ।’  कुरा त ठीक गरे तर नियत भने    उही । के कुरा गरे भन्दा किन गरे भन्ने कुराको विश्लेषण गर्यो भने कुनै काँग्रेसीको भित्री उत्साह नजाग्ने, हामी जस्ता बाहिरियाको त चासो समेत नजाग्ने ।

हो, ७० वर्षे इतिहासमा सबैभन्दा नालायक नेतृत्वमा काँग्रेस चल्दैछ । प्रतिबन्धित हुँदा समेत “प्रनेका नेता फलाना”को गतिविधि समाचारको विषय बन्थ्यो, अहिले त्यो छैन । एकाध भक्तिमार्गी अनलाइनले त आफ्ना नेताको हरेक कृयाकलापको समाचार बनाउँछन् नै तर न्यूज–भ्यालू बुझ्ने कुनै माध्यममा समाचार बन्न कुनै ठूलै नेताले आत्महत्या नै गर्नुपर्ने अवस्थामा छ अहिले काँग्रेस ।

समग्रमा भन्दा प्रतिपक्ष बन्ने हैसियत समेत गुमाएको काँग्रेसले अब गुमाउन केही बाँकी छैन, केही राम्रा नेता  बाहेक ।  अहिलेको तिनको आन्तरिक लोकतान्त्रिक अभ्यास हेर्दा त्यो दिन टाढा छैन । संस्थापन भनिने देउवा पक्षीय जमात र गैर–संस्थापन भनिने पौडेल–सिटौला जमात भित्रका बहसका बिषय हेर्दा अबको एक वर्षमा काँग्रेसले केही नेता गुमाउने संकेत छ, तिनका लोकतन्त्रबाट वाक्क भएर । अर्थात् तिनको सभापतिमा पुगेर रोकिने लोकतन्त्र देखेर । नेतृत्वमा प्रतिस्पर्धा गर्ने खाले नेताले बुझेको लोकतन्त्र त्यो सभापतिको कुर्सी कसरी हत्याउने भन्नेसम्म छ तर त्यो कुर्सीमा पुगेपछि गर्ने भनेको देउवा–पथ बाहेक तिनको दिमागमा अरू केही छैन जस्तो लाग्छ, अहिलेका तिनका बहसका बिषय र हर्कत देख्दा । 

सिंहकै भाषा एकछिनलाई सापटी लिऔँ । ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ । त्यसका लागि उत्कृष्ट टिम तयार गरौं ।’ पौडेल–सिटौला मोर्चाले पनि काङ्ग्रेस सुधारलाई नेतृत्व परिवर्तनको साँघुरो घेराभित्रै राखेर हेरेको पाइन्छ । एक्लै सके पौडेलले देउवालाई प्रतिस्थापन गर्ने नसके एउटा समूह बनाएर सामुहिक शक्ति मार्फत देउवाको ठाउँमा पौडेल आउने ।  “उत्कृष्ट” भने पनि टिममा आउने तिनै त हुन्, केसी, महत, सिंह, कोइराला, सिटौला, थापा, आचार्य आदि । ती मध्ये आधाउधी कहिले कोइराला र कहिले देउवा क्याम्प चाहार्ने मान्छे नै हुन् । क्याम्प फेर्नासाथ ती कसरी उत्कृष्ट हुन्छन् र पात झरेको बूढो काङ्ग्रेसी रुखमा पालुवा लगाउँछन् ?

पौडेल–सिटौला क्याम्पले गर्नु पर्ने काम भनेको वैचारिक बहसको पुनरुत्थान थियो । काँग्रेसले कसरी जनमत मात्रै होइन जन–अभिमत समेतको नेतृत्व गर्ने हैसियत गुमायो भन्ने बिन्दुबाट काँग्रेस सुधारको बहसको शुरुवात गर्नु पथ्र्यो ।  सँगसँगै नेकपाको सरकार बनेपछि स्थापित पध्दतिलाई ध्वस्त पार्न र राज्यको सम्पत्ति योजनाबद्ध रुपमा पार्टी कोषमा सार्न भएगरेका कामको स–प्रमाण फेहरिस्त तयार गरेर आगामी चुनावको तयारी थाल्नु पथ्र्यो ।  एउटा पङ्गु दल प्रतिपक्षमा हुँदा देशले कसरी पध्दति, नियम–कानूनको शासन छोडेर दलीय मात्रै होइन त्यस भित्रका दुई जनाको हुकुमको शासन  पायो भन्ने प्रमाण बजारभर छन् तर प्रतिपक्ष बोल्न सक्दैन । बोल्न नसक्नुको कारण उसको आफ्नै कमजोर नैतिक धरातल हो । जस–जसलाई एक ठाऊँ राखेर देउवा बिरुद्ध मोर्चाबन्दीको बारे बहस हुँदैछ तिनको नैतिक धरातल देउवाको भन्दा केही मात्र बलियो होला, उल्लेख्य रुपमा बलियो छैन ।

मोर्चाबन्दीबाट सिर्जित गूट काङ्ग्रेसको नेतृत्व हुन नसक्ने दल निर्माणको प्रकृत्ति पनि हो जुन कम्युनिष्ट पार्टीको भन्दा उल्टो छ । कम्युनिष्ट पार्टीमा कार्यकर्ताले सक्दो लेबी र अन्य आर्थिक स्रोत दललाई उपलब्ध गराएका छन् र दलले त्यसको सोधभर्ना राज्यको ढुकुटीबाट गरेको छ बिभिन्न बहानामा । र कांग्रेसमा कसैले कसैलाई नेता मान्दिए बापत पालन पोषण खोजिन्छ । अर्थात् नेताको काम भनेको जसरी भए पनि कार्यकर्ता पाल्नु  बुझिन्छ । यूपी र विहारका भूमिपतिहरूसङ्ग चालम र दाल मागेर बीपीले बनारसमा कार्यकर्ता पालेको होस वा दरबार र प्लेन बेचेर सुवर्ण शम्शेरले कलकत्तामा कार्यकर्ता पालेको उदाहरण लिनूस्, तिनैले काङ्ग्रेस भित्रको आर्थिक सम्बन्धलाई परिभाषित गरेको छ । ६०र४०को रेसियोलाई उल्टाएर देउवाले ४०र६० बनाउन सफल हुनुका पछाडि त्यही कार्यकर्ता संरक्षण, पालनपोषणको संस्कारलाई दिइएको निरन्तरता हो भन्ने बुझ्नु पर्छ । यो मामलामा पौडेल–सिटौला–सिंह पछाडि नै हुन्छन्, जति प्रयास गरे पनि । 

त्यसैले काँग्रेस सुधार्ने भए नेताले संस्कार सुधारको बहस थाल्नु पर्छ । त्यो बहस छेड्नु अघि उनीहरू प्रष्ट हुनु पर्छ काँग्रेस गूट हो कि दल हो कि समग्र एउटा आन्दोलन हो । काँग्रेस गूट हो भन्ने बुझ्छन् भने गूटको संरक्षण, पालनपोषणमा ध्यान दिने हो, काँग्रेस पार्टी हो भन्ने हो समग्र काँग्रेसी कार्यकर्तामा उर्जा भर्ने हो । वर्तमान नेतृत्वका कुन कुन गल्तिले के के भयो र तिनलाई सुधार गर्न के कस्तो रणनीति छ प्रष्ट पार्न सक्नु पर्छ ।

होइन काँग्रेस एउटा आन्दोलन हो भने तिनको क्षितिज “काँग्रेस”को साँघुरो घेरा बाहिर पुग्नु पर्छ । देशमा कम्युनिष्टहरूको दुईतिहाइ नजीकको बहुमत भए पनि कम्युनिष्ट पार्टीकै कार्यकर्ता समेत प्रशस्त स्वतन्त्रताको अनुभूति गरेर आएका छन्, आफ्ना सोचाईलाई लोकतान्त्रिक बनाएर आएका छन्, बिचारको वहुलतालाई आत्मै देखि स्वीकारेर आएका छन् ।  वैयक्तिक स्वतन्त्रतालाई आफ्नो व्यक्तित्व बिकासको सर्वोपरि शर्त मानिसकेका ती कार्यकर्ता देखि बिचार र अभिव्यक्तिको स्वतन्त्रलाई दिलै देखि सम्मान गर्ने बौद्धिक वर्ग, पेशाकर्मी र आम जनता अहिलेको सरकारका वेलाबखत देखिने नियतबाट सन्तुष्ट छैनन् । सरकारले वैयक्तिक स्वतन्त्रता हनन् गर्न कहिले ढोका र कहिले जस्केलाबाट ल्याएका अनगिन्ती कानूनबाट तिनले सरकारी नियत देखि सकेका छन् र ती स्वतन्त्रता रक्षा गर्न सक्ने कुनै सामुहिक अभियानको अपेक्षा गरेका छन् । त्यो नेविसङ्घ र तरूण दलले गर्ने सडकी आन्दोलन भन्दा बिल्कूल फरक भएकाले काङ्ग्रेसी युवा जमातको पछाडि हिँड्न ती चाहँदैनन् ।

ती सबैको नेतृत्व गर्न अहिलेको काङ्ग्रेसले सक्दैन, त्यो साश्वत कुरा हो । यती बुझेपछि नेतृत्व होइन सहकार्यको हात बढाउने नेतृत्व काङ्ग्रेसले पाउनु पर्छ । चढ्दै झर्दै गरेर भए पनि २०-२५ वर्ष सत्ताका वरिपरि घुमेका नेतामा भएको श्रेष्ठताभासले कांग्रेसलाई त्यो सहकार्य गर्ने हैसियतमा पुर्याउन सक्दैन ।

अहिले मौका छ काङ्ग्रेसको आफूलाई सिनियर भन्ने पूरै पुस्ता पछाडि बसेर तुलात्मक रुपमा कम उमेरका युवाहरूलाई अघि बढाएर काङ्ग्रेसलाई कम्तिमा एक कार्यकालका लागि सामुहिक नेतृत्वमा अघि बढाउने ।  सामुहिक नेतृत्व कुनै प्रेसिडियमको मोडल हुन सक्छ जहाँ बौद्धिक, सङ्गठनकर्ता, आर्थिक स्रोत परिचालन कर्ता, बिचार प्रवाहकर्ता र जनताको तल्लो भन्दा तल्लो तहमा पुग्न समेत “हैसियत” बाधक नहुने खाले युवाहरू सामेल हुन्छन् र आफ्नो दक्षता र क्षमताको क्षेत्रमा नेतृत्वमा रही काम गर्छन् । देउवा, पौडेल, सिँह, महत, केसी सिटौलाकै संरक्षकत्वमा एक कार्यकालको सफल परीक्षण पछि उनीहरू नेताको रुपमा आउँछन् ।  श्रेष्ठताभासको मनोवैज्ञानिक समस्या नहुने हुँदा उनीहरू यो कार्यकालमा  समाजमा छरिएर रहेका सवै लोकतान्त्रिक बिचारका व्यक्तिका वीचमा पुगेर काङ्ग्रेसलाई एउटा आन्दोलनको रुपमा जिवन्तता दिने छन् ।

गूटका आधारमा बन्ने चुनावी मोर्चा मुतको न्यानो होला, कुनै गूटले चुनाव जित्ला तर अर्को कार्यकाल अहिले देउवाको जसरी बित्यो त्यसरीनै बिताउन त्यहाँ जाने हो । अव ६ वर्ष पछि राजनीतिक रुपमा सकृय हुने युवा पङ्ति भनेको बीपी, एकमुट्ठी माटो, दुहुनो गाई जस्ता कुनै काङ्ग्रेसी शब्द नसुनेको र भित्तामा झुसिला दाह्री पालेका कुनै बूढाहरूका फोटा नदेखेको अलग्गै खालको हुनेछ जसको कल्पना देउवा र पौडेलका दिमागको कुनै कुनामा अहिलेसम्म छिरिसकेको छैन । (सदृश्यसँगको सहकार्य)

ताजा खबर