दृष्टि गुमाएका नरबहादुरको सल्लाह: आँखालाई खेलाँची नठानौं   

२०७६ पौष १४ सोमबार १४:१२:०० मा प्रकाशित

“हे ! सारा संसार अन्धकार छाउँदा आफन्तको साहारा नपाउँदा मनमा मायाँ साँच्नै मन छैन । 
साँच्नै मन छैन दुवै आँखा नदेख्ने भएर यो संसारमा बाँच्नै मन छैन ।” 

उनी सधैंँ सडकको फुटपाथहरुमा प्राय यही गीत गाउँछन् । नरबहादुर सिँगौडे शारीरिक रुपमा दृष्टिविहीन छन् । यो गीत उनको दैनिक यात्रा मात्र नभई उनको जीवनको वास्तविकता हो । शरीरको अभिन्न अंग आँखाको दृष्टिबाट बन्चित मानिसले फुटपाथहरुमा मर्मस्पर्शी गीत गाउनु उनीहरुको जीवनकोे रहर हो कि बाध्यता ? यस्तै घटनाका पात्र खोटाङ्ग हल्सितुवाचा ठेगाना भई सडकका फुटपाथमा गीत गाई जीवन जीउने नरबहादुर सिंगौरेसँग सरल पत्रिकाले गरेको कुराकानीको सारः

तपाईँको आँखाको दृष्टि कसरी हरायो ?

२३ वर्षको उमेरमा नशा सुकेपछि आँखा देख्न सक्दिन ।

नशा सुक्नु अगाडि उपचार गर्न जानुभएन ?

सानोमा मोतिविन्दु पनि थियो । पहिले उपचार गरेँ । उपचार गर्दाखेरी पावर वाला चश्मा थियो । पावर माइनस थियो । हिँड्दा लाइटहरु देखिएन । अनि गाडीमा परियोे । त्यो चश्मा निकालेर भोलिपल्ट डाक्टरसँग सल्लाह लिँदा तपाईँको आँखा खराब नभई जलबिन्दुको कारण आँखा बिग्रेको भन्यो । त्रिपुरेश्वर आँखा अस्पतालबाट तिलगंगा गईयो । टिचिङ्गतिर हुँदै लाहान पनि गइयो । लाहानमा पनि सिसा फेर्दियो ।

चिकित्सकले के सुझाव दिए त ?

आर.पि. रोग भनियो । त्यसको माने मलाई थाहा छैन । आँखाको स्क्रिन चैं जलिसकेको भनियो ।

आँखा खराब हुनु अगाडि के काम गर्नु हुन्थ्यो ?

त्रिपुरेश्वरमा किराना पसल गरिन्थ्यो । आर्थिक स्थिति सामान्य थियो । अहिले अलि सुधार भएको छ ।

अनि २३ वर्षमा आँखा बिग्रेको ?

२५ वर्षसम्म छाँयाहरु देखिन्थ्यो । २५ लागेपछि केही पनि देखिएन ।

त्यो अवस्थामा मनमा के कुरा उठ्यो ?

तिलगङ्गा अस्पतालमा त मैले ५सय दिनुस् भनि डाक्टरसँग पैसा नै मागे । काहिँ गएर आँखा बन्दैन । आँखा फेर्न पनि मिल्दैन । आँखा ठीक छ तर भित्रको जाली जलिसकेको छ । डाक्टरले जानुस भने । मैले ५ सय खर्च मागे । जीवन बेकार भएको महशुस भयो । उहाँहरुले आत्तिनु हुँदैन भन्नुभयो । फेरी त्रिपुरेश्वर फर्केँ । २५ प्रतिशत आश छ भनियो । पछि केहीसिप लागेन ।

तपाईँको परिवारमा को हुनुहुन्छ ? विवाहित हो ?

मेरो परिवारमा बुवा हुनुहुन्छ । मेरो आमा सानैमा बित्नुभएको हो । दाई हुनुहुन्छ । भाई बहिनी छन् । म अविवाहित ।

यसरी बाटामा गीत गाउन थाल्नु भएको कति भयो ?

म त्यस्तै आँखाको थेरापी गरेँ । सुकेधारामा खाना बस्न गाह्रो छ भनि निवेदन पेश गरेँ । तपाईँहरुलाई ६ महिना तालिम दिइन्छ । तर यहाँबाट केही सहयोग हुन्न भनियो । त्यसपछि बाफलस्थित सेराजुङ्गबाट नशाको थेरापि गर्दा ७ हजार पैसा संकलन भयो । यहि गोँगबु शिवमन्दिर पछाडि गेष्ट हाउसमा बस्ने गर्छु । गीत गाउन, मादल बजाउन मलाई केही आउन्न साथीहरुबाटै सिकें । त्यसपछि दुईटा रेडियो, एउटा मादल र खँैजडी लिएर बाटामा बस्न थालें । शुरुमा केही भएन आस आएन । भोलिपल्ट ३ सय कमाई भयो, अलि आश जाग्यो । पछि दैनिक ७ सय कमाई हुन लाग्यो । एक वर्ष पछि जे होस एउटा स्पिकर किने । ७ सय उठ्छ गीत गाउँदा यसबाट !

के को थेरापी ?

नशा कै सम्बन्धि भनेर गरेँथे थेरापी । पछि भएन ! साथिहरु नि थिए ।

होटेलमा भाडा कति तिर्नुहुन्छ ?

शुरुमा राम्रै थियो । भाडा सस्तो छ । पर्वत ४ भन्ने गेष्ट हाउस मिलन टोलमा बस्छु ।

यसरी गीत गाएर महिनाको कति पैसा हुन्छ ?

यसै भन्न गाह्रो छ । धेर गाउँदा घाँटीको समस्या हुन्छ । जाडोमा बाहिर निस्कन गाह्रो हुन्छ । यती नै हुन्छ भन्ने ठेगानै छैन ।

तपाईँलाई पारिवारीक सहयोग मिलेको छैन ?

पारिवारीक सहयोग छैन । शारीरिक सपाङ्गता भएको साथिहरुसँग गुनासो पोखेँ आशा काहिँ भेटिएन ।

  सक्षम व्यक्तिले आफू दृष्टिबिहीन हुँदा व्यवहारमा फरक के हुँदो रहेछ ?

बिस्तारै बुझ्दै गएँ । अहिले पनि हेपाईमा परेकै छु । कसै–कसैले यसले नाटक गरेको भन्छन् । जुन भित्रको देख्ने ज्योति त जलिसक्यो । बाहिर त जिउँदो लाश भइसक्यो । मुटु पनि जल्दछ नि त ! जस्तै जलेको ट्युबलाइटको ट्युब मात्र भएर मतलबै के छ र ! १५ दिनका आत्मीय साथी त बन्छन् फेरि छुट्छन् । कहिले म जमल जान्छु, कहिले टिचिङ्ग जान्छु, कहिले चक्रपथ त कहिले बौध्द जान्छु । दिनचर्या यसरी नै बितिरहेछ । कतिपयले ठक्कर दिन्छन् । कसैले लठ्ठी भाँचेको जसरी हिँड्छन् । कहिले गाडीले नै ठक्कर पनि दिएको छ ।

हौसला प्रेरणा दिने मान्छे छन् कि ?

खासै छैनन् । कोही कोही नम्बर दिएर जानुहुन्छ । नम्बर दिमागमा सेभ हुन सक्दोरहनेछ । भोलि फोन गर्दा वास्ता नहुने रैछ ।

दैनिक यसरी नै बसपार्क मै गीत गाउँनुहुन्छ ?

दुई तीन महिना भयो । जमलमा गीत गाउनेको लाम हुन्छ म चक्रपथ पनि जान्छु ।

यस्तो गीत गाउने मान्छे काठमाडौंमा कति छन् ?

 धेरै छन् । जमल देखि उता रत्नपार्क र सुन्धारा, गोंगबु बसपार्कतिर बौध्द सबैतिर छन् ।

कस्तो गीत गाउन रुचाउनुहुन्छ ?

सबै मन पर्छ । गीत गाउँछु । ट्रयाक अनुसार । 

यसरी तपाईँ फुटपाथमा दैनिक गीत गाउनुहुन्छ ! तपाईँको दिनचर्या कसरी चलिरहेको छ ?

मेरो अनुभव अनेक छन् । पहिले यसरी साथीहरुसँग हिँड्दा उनीहरुसँग मलाई पनि हिँडाउनुहोस् । सहयोग गुर्नहोस् भनि बिन्ति गरेँ । हारगुहार गरेँ । उनीहरुबाट शीप सिकेँ । बाँच्न मुस्किल भएको छैन । कहिलेकाहिँ बोलाउँछन् तर म गएको छैन । मलाई डिप्रेसनको कारण दुई वर्ष रातमा निन्द्रा लागेन ।

अनि दृष्टिविहीनलाई पठन पाठन गराउने संस्था होलान नि ! तपाईँलाई पढ्न मन लाग्दैन ?

थेरापी सकेपछि म दिक्तेल गएँ । दिक्तेल खोटाङ्ग बजार पञ्च माविमा एकाध महिना पढें । घरको स्थिति दयनीय छ । अनि पढेर भएपनि केही शीप सिक्दा नै राम्रो हुन्छ भनि सोचें । केही शीप पाइएन । नेत्रविहिन संघको अध्यक्षसँग कुराकानी भयो । दुई चार महिना भएपछि केही लागेन ।

 भविष्यको के योजना छ ?

कुनै संघ सस्थाको सहयोग छैन । पढाई पनि भएन । साथी भाईसँग बस्दै आएको छु । मादल बजाउन सिकौं भन्ने छ । सारङ्गी पनि सिक्ने प्रयासमा छु । यसो साथीसँग केही शीप सिकौं भन्ने चाहना छ । सामान्य जीन्दगी सोचेको छु ।

फुटपाथमा त धुवाँधुलो निकै छ नि ?

धुवाँ धुलोको त कुरै नगरौं । धुलो लास्टै खाइन्छ । बोतलको पानीले कोठामा गई मुख धुने गरेको छु । यहाँबाट गएपछि जाडोको सिजनमा लुगा चेन्ज गर्छु ।

गाउँन कति  समय  खर्चिनुहुन्छ ?

दिउँसो ३ बजे फुटपाथमा आउँछु । अँध्यारो भएपछि जान्छु । बिहान कोठामा बस्छु । रेडियो सुन्छु । गीत गाउन अभ्यास गर्छु । दिउँसो होटेलमा खाना खान्छु ।

मदिरा पिउनु हुन्छ ?

ढाँट्नु हुन्न । कहिलेकाहीँ लिन्छु । जोडी छैनन !

यो ठाउँमा गाउन हुँदैन भनि कसैले हटाउन खोजेको त छैनन् ?

भनेका छैनन् । तर एकचोटी बाटोको बीचमा बसेछु । माइक्रो आएर ठक्कर दिएर भागेको छ ! मान्छेले साइड लाएर ल्याए । ठूलो दुर्घटनाबाट बचेँ । घुँडामा चोट लाग्यो ।

२३ वर्ष अगाडिको जीवनमा तपाईँ आँखा देख्दाको जीवन कस्तो थियो नि !

देख्दा र नदेख्दा धेरै फरक हुँदो रहेछ । साथी भाईबाट टाढा रहेको फिल हुनेरहेछ । त्यहि पनि  आँखा नदेखे पछि मानिसले धेरै नै घृणा गर्दा रहेछन् । कहिलेकाहिँ दृश्य देख्न पाए नि हुन्थ्यो जस्तो लाग्छ । बाटामा बसेको समय लामो जस्तो अनुभव लाग्छ । अरु साथीहरु कस्तो खट्छन् जस्तो लाग्छ । चाबहिल, पशुपतिमा पनि साथीहरुले गाउँछन् ।

सरकारले संरक्षण गरेको छ ?

सरकारले हेर्छ । भत्ता यसपालिबाट महिनाको १६ सय दिने भन्ने सुनिएको छ ।

तपाईँहरुलाई संरक्षण गर्ने संघ सस्था पनि छन् ?

म कुनैमा आवध्द छैन । कुनै तालिम गराउनु भएको छैन । भृकुटीमण्डपमा भएको सुनेको छु तर सहयोग पाएको छैन ।

मानिसहरु जो आँखाको बारेमा हेलचेक्र्याईँ गर्छन् । सानो भन्दै टार्छन् । उनीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

हेलचेक्र्याईँ कहिले नगर्नुहोस । आँखा नदेख्नेलाई संसार केही छैन । हाम्रो दृष्टि गुमेपछि कसैलाई राम्रो हुने रैन रैछ ! नर्कमा पुगेको महशुस हुन्छ । सानैबाट आफ्नो दृष्टि केयर गर्नु पर्दोरहेछ ।  प्रस्तुति: समीर न्यौपाने

 


 

ताजा खबर