कुन शक्तिको प्रेरणाले सोह्र बर्ष जेल बसे किशुनजी ?

२०७६ पौष ७ सोमबार १२:२५:०० मा प्रकाशित

हामी एक दुई उपवाद वाहेक कोईराला परिवार कै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशव प्रसाद कोईरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोईरालाले यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो ।

किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भूईँमा बस्नु भएको थियो । कोईराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्राशन बसाईले उहाँलाई एउटै सतहमा बसेकाहरू मध्ये सबैभन्दा अग्लो बनाएको थियो ।

गिरिजा बाबू त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनरस्थापना पछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोईराला निवास पुग्नु भएको थियो । नोना कोईरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नु हुन्थ्यो । उ बेलासम्म गिरिजा बाबू प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संबिधान नै आएको थिएन । निर्वाचन नै भएको थिएन । यसबेला किसुनजी सबै काँग्रेसजनका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोईरालाको खुट्टा भूईँमा थिएन । दुश्मनलाई पनि घरमा माया गर्ने कोईरालाहरूका सामु त्यसबेला सबैभन्दा प्रिय पात्र जो थिए । फेरी किसुनजी नोनाका लागि नेता मात्र हुनुहुन्थेन, राम नगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका बंशज हुनुहुन्थ्यो, जो प्रजातन्त्र स्थापनाको लडाईँमा कोईरालाहरूको ईगो सफल भएको प्रतीकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।

हामी मस्का भन्छौ नि, मस्का लगाउने ! किसुनजी नोनालाई मस्का लगाउदै हुनुहुन्थ्यो । हामीतिर हेर्दै भन्नु भो, बुझ्नु भो, म जेलमा हुँदा सधैं नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थें । सात सालमा बिराटनगर मजदूर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोईराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै हुनुहुन्थ्यो ।

नोनाले पस्कनु भएको रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभयो । विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गए । बद्रि बस्नेत, अशोक कोईराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, बसन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं । यिनै जमात तर्फ हेर्दै किसुनजीले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोह्र बर्षसम्म जेल बस्न सके हुलाँ ? यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो । सांसारिकतामा नफसेको, अध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाईलो र व्यवहारका कुशाग्र–यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो बर्ष कुन प्रेरणाले जेल बस्नु भो, यो भन्ने सामथ्र्य त्यहाँ कसैमा थिएन ।

 ‘शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरू मै हुन्छ । शक्तिका अगाडी सँगै जेलमा रहेका श्रीभद्र शर्मा,रूद्र प्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र ?’

किसुनजीमा जीवनका तत्ववोधहरूले ठाउँ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं । अर्थशास्त्रीका वारेमा भन्छन् नि, चार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाँचौं अज्ञानी त्यतिन्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका वारेमा बोल्दैनन् । किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।

तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफू मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रँुगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यती लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो !

उहाँ भन्दै हुनुहुन्थ्यो– नोनाजी, राममणि आचार्य दीÞक्षित जस्ता उ बेलाको प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे । किसुनजी मनमा जे आउँछ, चार लाईन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस् राजनीति भन्थे । धेरैले यसो गरेका पनि थिए । कतिपय पटक आफू गलेको र भोली बिहानै छुट्ने बाटोमा बढ्ने प्रबल ईच्छा बन्ने गरेको निश्चयी भएर राती सुत्ने गरेको सुनाउनु भयो । तर, बिहान बिषम् अवस्थामा प्रति दिन बिताउने गरेका साथी भाईहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो ।

 ‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होईन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यहि प्रारब्धले बाह्य परिणाम दिन्छ । प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरें र म यत्रो लामो समयसम्म टिक्न सके..!’ किसुनजीले कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनु भएको थियो त्यस दिनको राती । ह्वीस्की फिका भएको थियो । जीवनमा अमिट रंगहरू थपिएको थियो । मध्य रात्रीसम्म सम्झेर लेखि ती कुराहरू लेखि बसें ।

उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नु भयो– नोनाजी यही त्यो कुरा हो जो तपाईँको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो । मैले राम्ररी ठम्याएको थिएँ, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो ।

म आज सम्झिन्छु, नेपालको राजनीतिमा थोरै समय भित्र सबकुछ कसरी फेरियो । राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि !

( पौष ७ः किसुनजीको जन्मजयन्तिको सन्दर्भमा जयप्रकाश आनन्दको पुरानै संस्मरण उनको फेसबूकबाट)
 
 

ताजा खबर