यति एयर, मनोज मेयाङ्वो र अशोक अग्रवालको अर्थपूर्ण लगनगाँठो

२०७६ पौष २ बुधबार १२:४५:०० मा प्रकाशित

धरान । धरान उपमहागरको  वडा नम्बर १७ मा पर्ने डाँडा घोपा । यसको आसपासमा पहिल्यैदेखि नै जग्गा महँगै थियो । घोपा क्याम्पको नजिकै पर्ने भएकाले जग्गाको मूल्य उहिलेदेखि नै महँगो थियो । २०५८ देखि ०६० सालतिर कट्ठाको ५० देखि ६० हजार । आजका दिन यस क्षेत्रमा धुरको २० लाख रुपैंयाँमा जमिन बेचबिखन हुन्छ । अथवा भनौं कट्ठाको ६० लाखदेखि करोडसम्म । 

कुनै जमाना थियो, धरान झिलिमिलि । फेसन, खानपिन,मस्ती र रिल्याक्सका लागि धरानलाई नेपालकै स्वर्ग मानिन्थ्यो र अझै पनि मानिन्छ । पूर्वको सबैभन्दा चल्तिको बजार । खासगरी बेलायती सेनामा काम गर्ने गोर्खा आर्मीहरुको बसोबास बढ्दै गएपछि धरान चल्तीको बजार बन्यो । मेची, कोशी र सगरमाथा अञ्चलका पहाडी जिल्लाहरु ताप्लेजुङदेखि खोटाङसम्मका सबै मानिसको बजार थियो धरान । अझै पनि छँदैछ । यिनै जिल्लाहरुबाट किराँती युवाहरु बेलायती सेनामा भर्ना हुन्थे । छुट्टिमा आउँथे, धरानमा घर बनाउँथे । गाउँकी रोज्जा केटी विहे गर्थे । घरजम गर्थे । पहाडबाट बाबुआमा बोलाउँथे । यो क्रम करिव २ सय वर्षदेखि जारी छ । इस्टइन्डिया कम्पनी सेनासँगको युद्धमा गोर्खालीले देखाएको वीरतापछि अंग्रेज र नेपालबीच सम्पन्न सम्झौताबमोजिम बेलायती सेनामा गोर्खालीले प्रवेश पाएका हुन् । सन् १८१६ मा नेपाल र ब्रिटिस सरकारबीच सम्पन्न सुगौली सन्धीपछिको कुरा हो यो । आज २०१९ को अन्त्यमा यो बिषय कोट्याउँदा बेलायती उपनिवेश जोगाउन गोर्खालीले रगत बगाएको करिव २ सय ३ वर्ष नाघेको छ ।

धरानमा बेलायती गोर्खा सैनिक क्याम्प थियो । सन् १९९० तिर बेलायती सेनाको क्याम्प धरानबाट हट्यो । धरान फुंग उड्यो । लगभग डेड सिटी बन्यो । ब्रिटिस क्याम्प पोखरा र काठमाडौंको जाउलाखेलमा सिमित रह्यो । धरानेहरुले आफ्नो भाग्य लुटिएको महसुश गरे । यो क्रम तबसम्म रह्यो जबसम्म धरानमा बिपि मेमोरियल टिचिङ हस्पिटल बनेन । बिपि हस्पिटल बनेपछि बिस्तारै धरानले पूरानो स्वरुप फिर्ता लियो । 

ब्रिटिस क्याम्पभित्र हवाइ मैदान थियो । घर फर्किने र सेनामा आवद्ध हुनेहरुलाई बेलायतीहरुले विमानमा लानेफर्काउने गर्थे । जब ब्रिटिस क्याम्प हट्यो, एयरपोर्ट चल्ने कुरै भएन ।  त्यहाँ वन क्षेत्र बन्यो । सो जमिन हाल बिपि हस्पिटलको क्षेत्रमा पर्छ । 

 लामो यात्रा गरेर विराटनगर गएर हवाइजहाज चढ्नुपर्दा धरानेहरुलाई वाक्क लाग्थ्यो । लामो     बाटो धाएर जाँदा पनि विमान नउडेर फेरि फर्किनुपर्ने । बर्खामा विराटनगर विमानस्थल  डुबानमा  पर्ने । हिउँदमा पनि हुस्सु लागेर विमान नबस्ने । यो दुःख बेहोर्नुभन्दा धरानमै किन   विमानस्थल नबनाउने भन्नेबारे धरानेहरु सोच्न थाले । यही सेन्टिमेन्टलाई अरुले क्यास गर्ने मौका   पाए । यति इन्कर्पोरेट प्रालि अथवा भनौं यति एयर लाइन्स र यसको स्थानीय एजेन्ट अशोक  अग्रवालले धरानका पूर्वमेयर मनोजकुमार मेयाङ्बोलाई फकाए । 

जमिन खोज्ने जिम्मा मनोजलाई दिइयो । उनले उही डाँडा घोपा छाने । यस डिलमा मनोज भित्री पार्टनर रहेको स्थानीयको दाबी छ । मनोजले डाँडा घोपाका गन्यमान्यसँग सम्पर्क   गरे । ती मध्येका एक हुन् जीवन भट्टराई । भट्टराई पञ्चायतकालदेखि नै वामआन्दोलनमा सहभागी संगीतकर्मी हुन् । उनी डाँडा घोपाकै बासिन्दा भएकाले उनको बोलि बिक्थ्यो । मनोजले जीवनलाई कुरा राखे । 

जीवनकै भाषामा भन्ने हो भने मनोजले यसो भनेका थिए– कति दुःख गर्नु हौ जीवनजी, किन हामी आफ्नै क्षेत्रमा एयरपोर्ट नबनाउने ? यसो बिचार गर्दा तपाइँहरुको डाँडाघोपा उपयुक्त देखियो । के गरौं ? भै हाल्छ नि तर जमिन पुग्ला त ? जीवनले उत्तर दिए ।  काठमाडौंमै बसेर संगीत साधना गर्दै आएका जीवनलाई यस्तो प्राविधिक बिषय थाहा थिएन । पूर्वमेयर पुरानो साथी गडबड गर्लान् भन्ने जीवनलाई हेक्का भएन । यति बेलासम्म एयर लाइन्सले स्थानीय एजेन्ट अशोक     अग्रवालमार्फत सबै कुरा मिलाइसकेका थिए । स्थानीयका अनुसार अग्रवाल चतूर व्यापारी हुन् ।   अहिले उपमहानगरको फोहोरबाट मल निकाल्ने परियोजना उनैले सञ्चालन गरेका छन् । 

त्यसपछि समस्या भयो स्थानीयबाट जग्गा फुत्काउने । स्थानीयलाई उनीहरुले फकाए । एयरपोर्ट   बनेपछि तपाइँहरुले सुविधा पाउँनुहुन्छ, व्यापार बढ्छ । यहाँ त तपाइँहरु रातारात करोडपति ।   लोभ न हो । मानिस आकर्षित भए । आकर्षित गर्न तत्कालीन मेयर कुमारबहादुर कार्कीसँग   ऐलानी सात बिघा जग्गा पनि एयरपोर्टलाई दिने सहमती गरियो । “नीजि कम्पनीले जमिन लिँदै     गरेकाले स्थानीय बासिन्दाको हितलाई ध्यानमा राखी एयरपोर्ट बन्दा आवश्यक पर्ने सबै कामदार स्थानीयलाई दिने, जागीरमा पनि उनीहरुलाई प्राथमिकता दिने, विमानस्थल नबने जति वर्षपछि भए पनि स्थानीयको जमिन खरीद गरेकै भाउमा फिर्ता गर्नुपर्ने शर्तमा जमिन लिइएको हो”, कार्की भन्छन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो ।

कार्की राजाबाट मनोनित मेयर थिए । जमिन नगरपालिकाले अधिग्रहण पनि गर्न सक्ने उनले चेतावनी दिएपछि पनि स्थानीयहरु गलेका थिए भन्छन् जीवन भट्टराई । तर तत्कालीन मेयर कार्कीले भने पूर्वमेयर मेयाङ्बोले दलबल लगाएर स्थानीयलाई फकाएको आरोप लगाउँछन् । “अन्याय भयो भन्दै स्थानीय नागरिक नगरपालिकामा आएपछि मात्र हामीले चासो लिएका हौं, उनीहरुको जमिन जोगाउँन त्यसबेला मेयरको हैसियतले मैले पूर्ण सहयोग गरेको छु”, कार्की भन्छन् । तर सबैभन्दा बढी जग्गा गुमेका कुमार उपनामले चिनिने डम्बरबहादुर श्रेष्ठ भने मेयर कार्कीले दबाब दिएको बताउँछन् । “नगरपालिकाले जग्गा अधिग्रहणका लागि सरकारलाई सिफारिश पनि गर्न सक्छ भन्ने त थाहा होला नि ? भनेर मेयरसाबले भन्नुभएको थियो, श्रेष्ठ भन्छन् । राजाको शासन, पार्टीवालाहरु दबाइएको बेला । स्थानीयहरु त्रशित भए । 

भोलि फेरि राजनीति गर्नुपर्छ, अर्काको जग्गा लिनुपर्ने । अर्का पूर्वमेयर मनोजले सोचे । स्थानीयलाई अलिकति आधार त दिनैपर्छ, के हो के नि भोलि एयरपोर्ट बनेन भने त गाउँले घेर्न आउँछन् । अनि सबै पक्षको सहमतिमा एउटा शर्त तयार भयो– कथमकदाचित विमानस्थल नबने खरीद गरेकै भाउमा जसको जति छ त्यति नै जग्गा फिर्ता गर्ने । एयरपोर्टका लागि करिव साढे ६ बिघा जग्गा लिइयो । “म एउटा अभियन्ता हुँ धरानमा विमानस्थल बनाएर विकास गर्ने उद्देश्यले मेरो संलग्नता रहेको हो, मैले  व्यक्तिगत लाभका लागि गरेको होइन”, पूर्वमेयर मनोज भन्छन् । तर पीडितहरु भने जग्गा हडप्नमा मनोजको पनि हात रहेको आरोप लगाउँन् ।  

 “काठमाडौंमा संगीत साधना गरेर बसेको मान्छे । उहाँले मलाई बोलाउनुभयो ।  तर अहिले हाम्रो जमिन फिर्ता गराउँने कुरा गर्दा  उहाँ किन प्रस्ट रुपमा बोल्नुहुन्न म आश्चर्यमा परेको छु”, भन्छन् जीवन भट्टराई । भट्टराईको पनि साढे सात कट्ठा जमिन हडपिएको छ । भट्टराई मनोजका मिल्ने साथी मात्र नभई नेकपाका पूराना कार्यकर्ता पनि हुन् । बुलन्द व्यक्तित्व मनोजले नै बोलाएकाले जीवन काठमाडौबाट धरान फर्किएका थिए । बिकासका पर्याय नै मानिन्छन् , मनोज मेयाङ्बो । उनले आफ्नो कार्यकालमा धरानको स्वरुप नै बदलिदिएका थिए तर यस काण्डमा भने उनको हिस्सेदारी रहेको आम आशंका छ । 

२०६० चैत्र १० गतेको घटना हो यो । आज १६ वर्ष भयो, न त एयरपोर्ट बन्यो, न त जग्गा नै पाए स्थानीयले । “अहिले आएर हाम्रो जमिनलाई नगरपालिकाको मातहतमा ल्याएर बसपार्क बनाउने अथवा पार्क बनाउने भन्ने कुरा पनि सुनिएको छ । हामीसँग जग्गा लिँदा एयरपोर्ट नै बनाउँने नभए जग्गा फिर्ता दिने भन्ने कागज गरियो । हामीलाई जमिन बढी भएर बेचेको होइन, शहरकै बिकास हुन्छ भनेर पो जमिन दिएको त”, जग्गाधनी मध्येका एक इन्द्र कटुवाल भन्छन् । उनको  १६ कट्ठा जमिन परेको छ । उनका अनुसार त्यसबेला २४ हजार रुपैयाँमा लिएको जमिन अहिले धुरको ३ लाख बन्यो । अहिले कट्ठाको कम्तिमा पनि ६० लाखदेखि करोडसम्म पर्छ । भनौं यति बेला उनको जमिनको भाउ ८ देखि १६ करोडसम्म पर्छ । 

स्थानीयलाई पछिमात्र जानकारी भयो, उक्त जमिन  एयरपोर्टका लागि अपुग रहेछ । नागरिक उड्डयन प्राधिकरणको मापदण्ड  अनुसार एयरपोर्टका लागि कम्तिमा पनि ९३ बिघा जमिन आवश्यक पर्छ   । सामान्यतया विमानस्थलका लागि  डेढ किमीको धावनमार्ग आवश्यक पर्ने तथा हावाको चाप अनुसार दुवैतर्फ विमान अवतरण र उडान गर्ने सुविधा हुनुपर्दछ । तर यस जमिनमा एकपट्टिमात्र विमान अवतरण र उडान गर्न मिल्छ । एकातर्फ साँघुरी तल्लोपट्टिको अग्लो पहाड छ । यो विमान अवतरण र उडान दुवैका लागि बाधक बन्छ । यस्तै एउटा सामान्य विमानस्थलका लागि चाहिनेभन्दा करिव ९० प्रतिशत कम करिव साढे ६ बिघा जमिनमात्र लिइयो । 

अर्को कुरा नेपालको उड्डयन कानुनमा कुनै पनि नीजि कम्पनीले विमानस्थल निर्माण गर्न पाउने कानुनी अधिकार नै छैन । स्थानीयलाई झुक्याएर जमिन खरीद गरिहाले । अहिलेका मान्छे उहिलेका जस्ता कहाँ हुनु ? आफ्नो जमिन झुक्याएर हडपेको स्थानीयहरुले जानकारी पाएपछि कानूनी अड्चन सिर्जना हुने छनक पाए, एजेन्ट अशोक अग्रवालले । मेरो कुनै संलग्नता छैन,मैले सामान्य सहजीकरण मात्र गरेको हुँ, म आफ्नै व्यवसाय गर्ने मान्छे, मलाई यस्ता बिषयमा समय दिने फुर्सद पनि हुँदैन भनेर पन्छिने प्रयास गरे अग्रवालले । सरल समाचारदातासँग टेलिफोनमा कुरा गर्दै अग्रवालले यस्तो प्रतिक्रिया दिए ।

स्थानीयका अनुसार अग्रवालले जग्गा बेच्ने प्रयास नगरेका होइनन् । तर उनी सफल भएनन् । स्थानीयसँग गरेको शर्त पूरा गर्नुपर्ने भएकाले जग्गामा फस्न कोही चाहेन । काम नहुने देखेपछि हाल यति एयरलाइन्सले नेपाल उड्डयन प्राधिकरणलाई जग्गा जिम्मा लगाएर अधिग्रहणको अर्को खेल सुरु गरेको छ । यसबीचमा पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा यतिका मालिक आङछिरिङ शेर्पाको निधन भएकाले उनका उत्तराधिकारीले यस जमिनबारे अनभिज्ञता व्यक्त गरेको स्थानीयको गुनासो छ । 

यति एयरले रामेछापको मन्थलीमा जस्तो सानो एयरपोर्ट बनाउने र पूर्वी पहाडमा उडान भर्ने योजना बनाएको रहेछ । यस्तो किसिमको सानो एयरपोर्ट बनाउने मापदण्ड  नागरिक उड्डयन प्राधिकरणले बन्द गरिसकेको छ । अब विमानस्थल नै बन्न नसक्ने अर्को बिषय के भने, अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युतवितरण हाइटेन्सन लाइन पनि यही प्रस्तावित विमानस्थलकै दक्षिणी क्षेत्रमा पर्छ र विमान सोही क्षेत्रबाट धावनमार्गमा प्रवेश गर्नुपर्छ । अहिले आयोजना लागू हुनुअघि भारतबाट ल्याइएको बिजुली यही लाइनमा जोडि वितरण गरिएको छ । अब त झन् विमानस्थल बन्ने कुरै भएन ।

अहिले स्थानीय आन्दोलित छन् । पूर्वशर्त अनुसार आआफ्नो जग्गा फिर्ता हुनुपर्ने उनीहरुको माग छ । यस मागलाई नेपाली कांग्रेसका तर्फबाट मेयरमा बिजयी तिलक राइले सम्बोधन गर्ने आश्वासन दिए । स्थानीयले उनलाई विश्वास गरे । नेकपाका उम्मेदवारले डाँडा घोपाबासीको समस्यालाई  वेवास्ता गरे । जनताले पनि त देखाउने मौका पाए । अहिले तिलक धरानका मेयर बनेका छन् । अब डाँडा घोपाका बासिन्दा नयाँ मेयरले आफ्नो जग्गा फिर्ता गराउने आशामा छन् । 

“सुरुमा एउटा सहमति भएछ । त्यही अनुसार स्थानीयले जमिन दिइहाले । अब यो जग्गा यति एयरलाइन्सबाट नगरपालिकाको मातहतमा ल्याउने र स्थानीयसँग छलफल गरी आयआर्जन हुने कुनै किसिमको काम गर्ने मेरो व्यक्तिगत बिचार छ”, मेयर राई भन्छन् । उनका अनुसार अहिले धरानमा यति ठूलो जमिन छैन । अब फेरि स्थानीयलाई जग्गा टुक्राटुक्रा पारेर दिनुभन्दा केही सिर्जनात्मक काम गर्नुपर्छ भन्ने उनको बिचार छ । तर उनले पीडितहरुसँग सामूहिक छलफल गरेरमात्र निर्णय लिइने बताए । हेरौं तिलकको दम । 

ताजा खबर