मदन भण्डारी कलेजको पिकनिक बस रुखमा नअड्किएको भए

२०७६ मङ्सिर २७ शुक्रबार १५:५३:०० मा प्रकाशित

काठमाडौं । अनामनगरको मदन भण्डारी कलेजका विद्यार्थी पिकनिक गएको बस भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।
आज बिहान प्रतिकूल मौसम हुँदाहुँदै कलेज व्यवस्थापनले ती विद्यार्थीलाई पिकनिक लगेको थियो । कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा घाईते भएका विद्यार्थीको अवस्था खतरामुक्त रहेको थाहा भएको छ ।

 धुम्मिएको चीसो बिहानै कलेजमा जम्मा भएका कतिपय विद्यार्थीले पिकनिक अनुकुल मौसममा जाने भनेर सल्लाह पनि गरेका थिए । तर व्यवस्थापनले पिकनिकको सबै तयारी भैसकेकाले सार्न नमिल्ने भनेको एक अभिभावककले बताए । 

कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको जोशीले बताए। दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर