सपना  समृद्धिको

२०७६ मङ्सिर २७ शुक्रबार ११:०६:०० मा प्रकाशित

उग्र आवाजहरू सुनिँदैनन्
व्यथाहरू लुकेका छन् हिजोआज 
कसैले कानेखुसी गरेको पनि देखिँदैन
सबै मौन छन्
सबै सबै चुपचाप छन्।

 

केही भैरहेको पनि छैन
केही भएको पनि देखिँदैन
सन्नाटा छ
युग बोल्दैन
चुपचाप छ
लाग्छ, समय यतिबेला 
चोकको शालिक बनेको छ ।

सुनिन्छ,मान्छे उडेको कुरा
सुनिन्छ,मान्छे तैरिएको कुरा
कहाँ पुगे उडेर 
कुन किनार छोए तैरिएर !


आफ्नै आँखा अघिको
अभावको खोल्सी
यतिबेला झन नजिकिएर
नदी छेउको टल्किने बालुवा बनेको छ !


मेरो पाखुरीमा बर्गत भर्ने समयमा
तिम्रो एकोहोरो आवाजले
मेरो कान थुनिएको छ
म चुपचाप छु
तिमी मात्रै बोलिरहनु भनेको पनि त
आखिर सन्नाटा नै त हो ।

 

केही संगीतहरू भर्नु थियो
लय छुटेका पहाडहरूमा
केही शब्दहरू पूरा गर्नु थियो
गीत बन्न नसकेका मैदानहरूमा
हिमाल त आफैं चुपचाप थियो
अनगिन्ती अन्तराहरू बोकेर आफ्नै काखमा
मौनताका अघि !


पहाडहरू पनि सुसाउन छोडेर 
ठिङ्ग उभिरहे मात्रै
समृध्दिको आवाज
चन्द्रागिरीमा ठोक्किएर उतै फर्कियो
जहाँबाट आएको थियो !


उडिरह्यो असुरक्षाको बादल
भूगोलपार्क वरिपरी 
रहेन सुरक्षित आफ्नै आँगनको सीमाना
निदाउन सकिएन
पट्याएर राष्ट्रिय झण्डा आफ्नै सिरानीमुनि
तैपनि भ्रमको तुँवालो ओढेर
म भन्दैछु,
मेरो देश सुरक्षित छ
हामी समृद्ध भएको सपना देखौं ।

- इलाम

ताजा खबर