साहित्य महोत्सव शुक्रबारदेखि,२७ लाख ५० हजारको पुरस्कार 

२०७६ मङ्सिर २५ बुधबार ०७:३९:०० मा प्रकाशित

पोखरा । आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए।

यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएका बताउँदै उनले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको जानकारी दिए। महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए।

महोत्सवमा अन्तरराष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको र त्यसले यहाँको साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको उनले जानकारी दिए। महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् । महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौँमै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको छ ।

निर्देशक बरालले तत्कालीन समयमा काठमाडौँमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै महोत्सव भएको सुनाए। भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भएको बताउँदै उनले यो पोखरेलीको पनि महोत्सव भएको उल्लेख गरे।

अर्को आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सवले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे। यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा आफूहरू खुशी भएको उनले बताए। नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रुपमा आएको ह्वाट द बुक क्लबका उपाध्यक्ष अनिषा बराइलीले बताए। 

महोत्सवमा डिएससी पुरस्कार प्रदान गरिने

महोत्सवमा दक्षिण एशियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (रु २७ लाख ५० हजार) राशि बराबरको उक्त पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको हो । रासस

ताजा खबर