कालिन्चोकका ६ विद्यार्थीलाई छात्रवृत्ति

२०७६ मङ्सिर २३ सोमबार १३:५२:०० मा प्रकाशित

चरिकोट । भीमेश्वर नगरपालिका वडा नं २ स्थित  कालिन्चोक माविमा अध्ययनरत ६ जना विद्यार्थीलाई सुजन–परिता एजुकेसन फाउण्डेसन अमेरिकाले छात्रवृत्ति प्रदान गरेको छ । 

कालिन्चोक माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । ६ जनामध्ये सर्वोत्कृष्ट एक छात्रा र एक छात्रलाई ल्यापटप र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य ४ जनालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख डलब पाण्डेले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् । उत्कृष्ट ग्रेड ल्याएका र सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई विगत ५ वर्षदेखि फाउण्डेसनले छात्रवृत्ति प्रदान गदैै आएको छ । 

कार्यक्रममा विद्यालयबाट सर्वोत्कृष्ट ग्रेड प्राप्त गर्ने राकेशकुमार दास र कृपा सुनामले ल्यापटपसहित नगद २५ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् भने अप्सरा दाहाल, अविनास कुसुले, मिलन न्यौपाने र पुस्पा थापाले जनही २५ हजार रुपैयाँ छात्रवृत्ति पाएका छन् । 

सो अवसरमा सुजन परिता एजुकेसन फाउण्डेसनका संस्थापक अध्यक्ष सुजन न्यौपाने र कालिन्चोक विद्यार्थी समाज (सोकास) दोलखाका संस्थापक सदस्य राजेन्द्र मानन्धरलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

सोकास दोलखाका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा खबर