माओवादीको साधन बन्ने सिद्धिदै गए,सिद्धिदै छन्

२०७६ मङ्सिर २३ सोमबार १२:४३:०० मा प्रकाशित

वर्तमान नेपाली राजनीतिको बिकास क्रम र राज्य विरूद्ध मुलुकका सबै राजनीतिक शक्तिहरू लक्षित भएको र राज्य सम्पूर्ण रूपमा पराजित हुँदै गएको अवस्था छ ।

१. काङ्ग्रेसको निर्वाचित सरकारलाई बर्खासी गरेपछि त्यसबाट उत्पन्न हुने राजनीतिक जोखिमलाई सन्तुलन गर्न राजा महेन्द्रलाई वलियो कम्युनिस्ट समूह   चाहियो । व्यवस्था निर्दलीय तर पंचायतभित्र पनि काङ्ग्रेससँग राजनीतिक रूपमा भिड्न उनले कम्युनिस्टहरूलाई सहयोग र प्रोत्साहन प्रदान गरे ।

२. कम्युनिस्ट भए, नयाँ नयाँ युवा पनि कम्युनिस्ट राजनीतिमा पसे । भारतको नक्सलवारी आन्दोलनका नेता चारू मजुमदार,कानु सन्याल, जंगल सन्थालहरूको प्रभाव झापाका युवा कम्युनिस्टहरूमा पर्यो । 

धर्म प्रसाद ढकाल, ज्ञानी ढकाल,कर्णबहादुर गौतम,बुटन चौधरी,विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुडाल, उद्रकान्त राजवंशी, ज्ञानबहादुर बस्नेतहरूलाई प्रचण्ड र बाबुराम नेतृत्वको माओवादीकै शैलीमा क्रुरतापूर्वक हत्या भएपछि पंचायती सरकार झस्कियो र कम्युनिस्ट विरूद्ध त्यही शैलीमा प्रहार गर्न शुरू गर्यो ।

३. राजा महेन्द्रलाई २०१८मा जनकपुरमा र राजा वीरेन्द्रलाई २०२९मा विराटनगरमा बम र ग्रिनेडले नेपाली काङ्ग्रेसले आक्रमण गर्ने र विमान समेत अपहरण गरेर राष्ट्र बैंकको पैसा लुट्ने काम भए पछि पंचायतलाई पूर्णत कम्युनिस्ट शैलीको शक्तिशाली र अत्यन्त प्रभावकारी तर एकछत्त शासनमा रुपान्तर गर्ने अभ्यास गरियो र गाउँ फर्क राष्ट्रिय अभियानको नाउँमा एउटा सर्वशक्तिमान राज्ययन्त्र बिकास गरियो ।

रोचक कुरो के थियो भने त्यस्तो गाउँ फर्कको हालीमुहाली भने राजा वीरेन्द्रले पूर्व कम्युनिस्टहरूलाई नै दिए । त्यही गाउँ फर्कको स्वेच्छाचारी कार्य संचालनबाट उठेको पंचायतभित्रको असन्तोष समेत जोडिएर पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार भुट्टोको हत्याको विरोधको नाऊँमा शुरु भएको विद्यार्थी आन्दोलन जनमत सङ्ग्रहको घोषणामा गएर टुंगियो ।

४. जनमत संग्रहको घोषणा अघिको एउटा महत्वपूर्ण सन्दर्भ के विर्सन सकिन्न भने बंगलादेशको स्वतन्त्रताले नेपालको प्रजातन्त्रको पुनर्थास्पनाको आधा बाटो तय हुन्छ भन्ने वीपीको विश्वास थियो ।

उता अलग बंगलादेशको उदय नेपालको भविष्यकोलागि पनि खतरा हो भन्नेमा राजा महेन्द्र विश्वस्त थिए तर जव बंगलादेश अवश्यम्भावी देखियो उनले बंगलादेशलाई मान्यता दिए– भारतले भन्दा पनि पहिले । तर त्यो मान्यता दिएको दुई सातामै रहस्यपूर्ण वातावरणमा उनको निधन भयो ।

५. पाकिस्तानबाट बंगलादेश अलग पारिएपछि सिक्किमलाई भारतमा विलय गराइयो र त्यसपछि नेपालको तराईलाई अलग पार्ने र अन्तत सिङ्गो नेपाल स्वतन्त्र अस्तित्वलाई नै समाप्त पार्ने इन्दिरा गान्धीको रणनीति बुझेर वीपी राष्ट्रिय मेल मिलापको नीति लिएर नेपाल आए ।

त्यही कुरा राजा वीरेन्द्रले पनि बुझे र उनले शान्ति क्षेत्रको घोषणा गरे ।

६. राष्ट्रिय मेलमिलापको नीति र शान्ति क्षेत्रको प्रस्ताव पछाडिको मर्म, लक्ष र सन्दर्भ यौटै थियो तर वीपी र राजा वीरेन्द्रले एकैसाथ बसेर त्यसलाई आत्मवोध गर्ने र गराउन सकेनन् ।

वीपीको वरिपरी पनि केही वाधक शक्ति थिए र राजाको वरिपरी पनि, त्यसलाई चिर्न दुवैले सकेनन् ।
इतिहासले दिएको त्यो अवसर गुम्यो र गुमेको गुम्यै भयो ।

७. २०४६ सालको जनआन्दोलनले वीपीको राष्ट्रिय मेलमिलापको नीतिको मर्ममा नै प्रहार गरेको हो । त्यसले राजा र काङ्ग्रेसवीच विश्वास बढाउन सकेन । त्यस पछिको आम निर्वाचनले आन्तरिक रूपमा काङ्ग्रेसलाई छिन्न भिन्न पार्यो,

काङ्ग्रेस र एमाले वीचको सम्वन्धलाई चरम शत्रुतापूर्ण बनायो ।

८. कहाँ ककसको कमजोरी रह्यो त्यो अर्को कुरा हो, तर मध्यावधि निर्वाचन पछि मनमोहन नेतृत्वको सरकार एउटा कार्यकालसम्म रहने वातावरण निर्माण भएको भए सम्भवत माओवादी विद्रोह जन्मिने थिएन ।

त्यो यसकारण कि सर्पको खुट्टा सर्पले देख्छ भन्ने लोकोक्ति र भर्खरै भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएका एमालेले त्यस्तै भूमिगत राजनीतिमा लागेका माओवादीलाई सजिलै सरकारको नियन्त्रणमा ल्याउन सक्थे र काङ्ग्रेस सरकारले माओवादी विरूद्ध अभियान संचालन गर्दा माओवादीको ढाल भएर एमाले उभिने अवस्था उत्पन्न हुने थिएन ।

यो अर्कै कुरा हो कि माओवादी विद्रोहको अवधिमा काङ्ग्रेसीहरूको सामूहिक पलायनको स्थिति निर्माण हुने अवस्था आइसक्दा माओवादी निकै शक्तिशाली भैसकेका र उनीहरू एमाले विरुद्ध पनि काङ्ग्रेस विरुद्ध जस्तै खनिन थालेका थिए ।

मध्यावधिपछिको राजनीतिक अस्थिरताको चक्रमा माओवादीलाई हुर्कने, बढ्ने, शक्ति संचय गर्ने र राज्य व्यवस्था माथि नियन्त्रण गर्ने वातावरण निर्माण भयो प्राप्त भयो । यस अर्थमा माओवादी भाग्यमानी देखियो र पालैपालो कहिले एमाले, कहिले राजा, कहिले सेना, कहिले काङ्ग्रेस उसको साधन बन्दै गए । 

भारत र युरोपका केही मुलुकहरू उसको संरक्षक भैदिए । जो जो माओवादीको साधन बने ती क्रमशः सिद्धिदै गए र सिद्धिदै छन् ।

९. सिध्याउने साधन माओवादी बने पर्दा पछाडिबाट माओवादीको काँधमा बन्दुक राखेर हान्ने अरू नै भए । सेनाको वाह्य समर्थनको पाटो बलियो भएकोले ऊ जोगिएको छ–कतिञ्जेल हो थाहा छैन । 

नेपालका राजनीतिक दलहरू मूलतः राज्य विरूद्ध संगठित र बिकसित संगठन भएकाले नेपाली राज्य मुलुकमा सबैभन्दा प्रताडित संगठन हो ।
कुरा देशभक्तिको गर्ने, राष्ट्रियताको गर्ने तर राज्यलाई निरन्तर कमजोर बनाउने काम भइरह्यो । राजाले त्यही गरे, सेनाले त्यही गर्यो, काङ्ग्रेस, एमालेले त्यही गरे, माओवादीको कुरै भएन ! 

१०. नेपालमा हरेक व्यक्ति र समूहको आक्रोश राज्य विरुद्ध नै लक्षित हुन्छ, हुने गरेको छ । सरकारमा रहेका व्यक्तिहरू, सत्तारूढ दल, प्रतिपक्ष सबै राज्य विरूद्ध नै राजनीति गरेर आएका हुन् र अझै गरिरहेका छन् । 

त्यसैले कुनै साधारण व्यक्ति र स्वार्थ समूह पनि जतिखेर पनि राज्यलाई चुनौती दिन सक्ने भूमिकामा छ ।

व्यक्ति र स्वार्थ समूह वलिया र राज्य कमजोर भएको अवस्थामा हाम्रो लोकतन्त्र, गणतन्त्र र संघियता राज्यलाई खान सक्ने भएर उभिएको छ । राजनीतिक विश्लेषक भट्टराई आफ्नो फेसबूक स्टाटसमा लेख्छन्– राज्य विरूद्धको राजनीति, एनजिओ आइएन्जियोको राज्य विरूद्धको निरन्तर प्रहारको अवस्थामा प्रभावकारी नियन्त्रण गर्न समर्थ कुनै शक्ति नदेखिएको अवस्थामा मुलुकको भविष्यबारे आश्वस्त हुन सकिन्न !
 

ताजा खबर