डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

२०७६ मङ्सिर २० शुक्रबार ०८:५६:०० मा प्रकाशित

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहनुभएको छ । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहनुभएको छ ।

चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ । चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता÷अभिनेता बोहराले जानकारी दिनुभयो ।

भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको बताइयो । परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ । सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ । सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ । यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ । मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ ९चप्पल० सुरक्षित राखिएको छ ।

नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए। उनले भने , “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा गरिने जनाइएको छ । त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन हुने निर्देशक बाबु थिङले बताए। 
रासस

ताजा खबर