‘लाल किल्ला’ भेदनपछिको कांग्रेस

२०७६ मङ्सिर १८ बुधबार ११:०४:०० मा प्रकाशित

 सत्ता अर्थात् सरकारप्रति जनतामा कस्तो असन्तुष्टि र आक्रोश हुन्छ भन्ने कुरा नेपाली कांग्रेसलाई कसैले सम्झाउनुपर्ने होइन । नेपालको सन्दर्भमा यस मामिलामा सबैभन्दा ठूलो भुक्तभोगी कांग्रेस नै हो । बहुदलीय व्यवस्था पुनस्र्थापनपछिको एकल बहुमतको सत्ता गुमाएर कांग्रेस दोस्रो दलमा खुम्चिनु परेको थियो । यसपछि नै हो नेताहरूमा सत्ताका लागि ‘जे पनि गर्ने’ दुर्मति हुर्किएको । बहुमत गुमाएर कांग्रेसले निर्दलीय पञ्चायतका हस्तीहरूलाई प्रधानमन्त्री मान्नुप¥यो । उनीहरूसँग सत्ता साझेदारी गर्नुप¥यो । त्यसपछिको चुनावमा प्राप्त बहुमतले कांग्रेसलाई विभाजनमा पु¥यायो । विद्रोही माओवादीलाई शान्तिको मार्गमा ल्याएर बृहत शान्ति सम्झौता गर्न नेतृत्व गरेको कांग्रेस पहिलो संविधानसभा निर्वाचनमा कुन हालतमा पुग्यो भन्ने कुरा इतिहास भइसकेको छैन । सबैको स्मरणमा ताजै छ । 

सत्ताका लागि हतियार उठाएर देशभर हिंसा मच्चाएको माओवादी दुईवटा सरकार चलाएपछि दोस्रो संविधानसभा निर्वाचनमा कुन हालतमा पुग्यो, त्यो दृश्य झन ताजै छ । माओवादीसँग एकता गरेर नेकपा बन्नुअघिको नेकपा एमालेले यस प्रकारको अनुभव गर्नु परेको थिएन । नेकपा बनेपछि अनुभवको यो खण्डमा भरखरै प्रवेश गरेको छ, उपनिर्वाचनको परिणाम मार्फत । 

नेकपाले जित हुने ठानेको भक्तपुरमा प्रदेशसभा सदस्य गुमायो । सामान्यतया भक्तपुरमा नेकपा नहार्नु नै पर्ने हो । हार हुनुको कारण उम्मेदवारीमा भएको गडबडी नै हो भने अधिकांश नेकपा नेता–कार्यकर्ताहरूको निष्कर्ष सुनिएको छ । नेकपाले मार खाएको धरानमा हो । धरान पञ्चायतकालदेखि नै वामपन्थीको गढ हो । पञ्चायती निर्वाचनमा पनि नगरपालिकाको प्रधानपञ्च पदमा जनपक्षीय भनेर कम्युनिष्ट उम्मेदवारले जितेका हुन् । बहुदलीय निर्वाचनमा सधैँ कम्युनिष्ट उम्मेदवारले कांग्रेसलाई निकै ठूलो मतान्तरले जित्ने गरेका हुन् । यसपटकको उपनिर्वाचनमार्फत कांग्रेसले पहिलोपटक अभेद्य मानिएको ‘लाल किल्ला’ अर्थात ‘कम्युनिष्ट किल्ला’ भेदन गरेको हो । 

यस अर्थमा मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेताहरूमा उत्साह बढेको हुनसक्छ । यही उत्साहको परिणाम हुनुपर्छ कांग्रेस प्रवक्ताले ‘नेकपा आजै सच्चिने कि भोलि सक्किने ?’ भनेर गरेको प्रश्न । भक्तपुर र धरानमा भएको जित कांग्रेसका लागि अवश्यै सुखद अवस्था हो तैपनि सत्ता र निर्वाचनसँग जोडिएर हुने हार–जितको यति भुक्तभोगी कांग्रेसका वाचाल प्रवक्ताले तीन दशकभित्रको उतार–चढाव नबिर्सनुपर्ने हो । यी दुवै ठाउँमा कांग्रेसले कुनै आशा जगाएर जित हासिल गरेको होइन भन्न अलिकति पनि लकपकाउनु पर्र्दैन । यति भएपछि नेकपाका उम्मेदवार किन हारे भन्ने जिज्ञासाको सहज समाधान हुनेछ । 

एक छिन २०७४ को स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचनपछिको कांग्रेसको कुरा गरौँ । कांग्रेसमा शीर्ष भनिने सबै नेता आआफ्ना संकीर्ण गुटको नेतृत्व गरेर बसेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा वा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपाली जनताको अपेक्षा शुन्यमा छ । तीतो लाग्न सक्छ तर पार्टीभित्र आफ्नो सत्ता बलियो बनाउने स्वार्थमा मिलेकाहरूबाहेक आमजनताको तहमा यी दुई नेतासँग कुनै अपेक्षा छैन । तीतो भए पनि सत्य यही हो । यी दुई नेताले आजको जनमतको कांग्रेस आफ्ना उत्तराधिकारीलाई जस्ताको तस्तै हस्तान्तरण गर्न सके भने धन्य हुनेछ । पार्टीलाई मार्गदर्शन र चिन्तनका दृष्टिले दुवै नेताको अनुभव अमूल्य हुनसक्छ । 

यति वेला कांग्रेसमा हुनुपर्ने पहिलो चिन्ता प्रतिपक्षीय भूमिका सशक्तीकरण र बलियो पार्टी संगठन निर्माण हो । प्रतिपक्षी भूमिकामा कांग्रेसको कति चर्को आलोचना हुने गरेको छ कति निराशा प्रकट हुने गरेको छ भन्ने कुराबाट कांग्रेस नेताहरू बेखबर छैनन् । कांग्रेसले यति वेला ‘इतिहासकै कमजोर विपक्ष’ उपमा पाएको छ । र, कांग्रेसको यही कमजोरी एकल बहुमतको नेकपा सरकारको सबल पक्षका रूपमा चित्रित हुने गरेको छ । कमजोर प्रतिपक्षीय भूमिकाका विषयमा कांग्रेस नेताहरूको जवाफ हाँजिर छ– कांग्रेस रेलिङ भाँच्ने र टायर बाल्ने होइन, शालीन प्रतिपक्ष हो ।

संसदमा प्रतिपक्षीय भूमिका भनेको विपक्षी दलका नेता संवैधानिक परिषद बैठकमा अनुपस्थित भएर निर्णय अड्काउने होइन । उपस्थित भएर आफ्नो मत राख्ने हो र उपयुक्त माध्यमबाट त्यसको जानकारी सार्वजनिक गर्ने हो । विपक्षी नेता बैठकमा किन अनुपस्थित भए भन्ने कुरा जानकारी पाउने हक प्रत्येक नागरिकलाई छ । विपक्षी दलको नेताले आफू विपक्षी जनमतको प्रतिनिधि हुँ भन्ने कुरा बिर्सिन मिल्दैन । देशलाई सडकका रेलिङ र संसदका कुर्सी भाँच्ने, टायर बाल्ने प्रतिपक्ष चाहिएको होइन । यस मानेमा कांग्रेस प्रवक्ताको भनाइसँग असहमत हुनुपर्ने ठाउँ छैन । 

केही प्रश्नहरू भने टड्कारोरूपमा उपस्थित छन् ।

प्रतिपक्षी दलले संसदमा भविष्यका लागि स्थापित गरेको अनुकरणीय मान्यता के हो ? सरकारको कुन चाहिँ नकाम तथ्य–प्रमाणले पुष्टि गरेर रोक्न सफल भयो ? संसदमा कुन विषयमा कुन विचार स्थापित ग¥यो ? सरकारको कुन काम उसले गलत प्रमाणित गरिदियो ? राम्रो र दीर्घकालीन महत्वको कुन काम गर्न सरकारलाई बाध्य बनायो ? यी प्रश्नहरूको सेरोफेरोमा विपक्षी भूमिकाको मूल्यांकन हुन्छ । यही आधारमा समर्थन र विरोध हुन्छ । यी प्रश्नको कसीमा प्रतिपक्षी दल कहाँनेर खरो सावित भएको भन्ने चिन्ता कांग्रेस नेताहरूले गरेको हुनुपर्छ तबमात्र कांग्रेसले भक्तपुर र धरानमा प्राप्त गरेको विजय र तुलनात्मकरूपमा बढाएको कुल लोकप्रिय मतको अर्थ थाहा हुन्छ । 

र, कांग्रेस नेताहरूसँग जवाफ हुनुपर्ने अर्को प्रश्न हो– कांग्रेसले नेतृत्व गरेका वा बहुमत भएका स्थानीय तहहरू अन्य दलका भन्दा कुन मानेमा फरक छन् ? 
आज नेपाली कांग्रेसका सांगठनिक अवयवहरू कुन हालतमा छन् भन्ने कुरा कतै छिपेको छैन । कुन चाहिँ वर्गीय संगठन आफ्नो क्षमतामा कति क्रियाशील छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । पार्टीका विभाग र अन्य अवयवहरू के काम गर्दैछन्, आफ्नो संगठन कसरी विस्तार गर्दैछन् र कांग्रेसलाई बलियो बनाउन कसरी सहयोग गर्दैछन् भन्ने सबै जिज्ञासामा नकारात्मक जवाफ प्राप्त हुन्छ । शीर्ष स्थानका नेताहरूमा चमक सकिएको छ । जसमाथि शुभेच्छुकहरूको केही आशा बाँकी होला तिनीहरूका लागि शीर्ष र निर्णायक नेतृत्व आकाशको तारा सरह छ । चमत्कार गर्न सक्ने कोही हुँदैन तर जनता आफ्नो नेतामा चामत्कारिक व्यक्तित्व खोज्छ । पूरै नभए पनि त्यसको केही अंश त खोज्छ खोज्छ नै । 

कांग्रेसका लागि आजको मूल प्रश्न ‘नेकपा आजै सच्चिने कि भोलि सक्किने ?’ भन्ने नहुनुपर्ने हो । चुनावमा सत्ताको प्रयोग, उपयोग र दुरुपयोग कसरी हुनसक्छ भन्ने कुराको भेउ सबैभन्दा बढी कांग्रेस नेताहरूलाई नै छ । उपनिर्वाचनमै कांग्रेस नेताहरूले गरेको गुनासो सुन्दा यो कुरा प्रष्ट हुन्छ । प्रतिपक्षी दलका रूपमा कांग्रेसले आज हेर्नु र खबरदारी गर्नु पर्ने सरकार हो, नेकपा होइन । सच्चिनु र सच्याउनै पर्ने हो भने पनि सरकार नै हो । नेकपा सच्चिनु नसच्चिनुमा र सक्किनु नसक्किनुमा ठिक यति वेला कांग्रेसको चिन्ता नहुनुपर्ने हो । प्रवक्ताले यही चिन्ता प्रकट गरेपछि कांग्रेसको मूल चिन्ता यसमै रहेछ भन्ने मान्नुपर्ने भयो । 

नेपाली कांग्रेसले बितेका तीन दशकमा देशका लागि कुन कुन क्षेत्रका के कति उज्यालो छ¥यो भन्ने तथ्य इतिहासले पर्गेल्ने नै छ । सानो आलेखमा निष्कर्ष दिनु कच्चापन हुनेछ । यति चाहिँ भन्न सकिन्छ– कांग्रेस आफ्नो दियोमा बाती फेर्दै र तेल थप्दै उज्योलो दिँदै छ कि बाती र तेल सकिएको दियो देखाँउदै छ भन्ने कुरा निकट भविष्यले नै प्रमाणित गर्नेछ । गाउँघरतिर बलिरहेको दियोलाई हावाबाट जोगाउन ज्वालाको माथि प्वाल पारेर टपरीले छोप्ने चलन छ । हिमालय टाईम्स दैनिकमा प्रकाशित यो लेखमा भनिएको छ– कांग्रेस आफ्नो दियो जोगाउने चिन्तनमा छ कि तेरो दियो निभ्ला भनेर सम्झाउने चिन्तामा ? 
 

ताजा खबर