म मरेको खबर
आमा !
तपाईंले थाहा नपाउनु होला है
मेरो पोष्टमार्टम भइसक्यो
वेवारिसे लाशका नाममा
बाटो काट्दै थिएँ
बाटो काट्ने ठाउँबाटै
आएर हानिदियो भारी बोक्ने ठूलोे गाडिले
उछिट्टिएँ झण्डै तीन मान्छे पर
र मेरो टाउकोमाथि कुद्यो
त्यो गाडिको अगाडिको चक्का
पड्कियो नि मेरो टाउको त !
बारीमा झिँगटा डढाउँदा
आँख्लो नफुटेको बाँस हालेर पड्काउथ्यौँ नि हामी
त्यसरी नै डु...ङ..ग गरेर
गिदी निस्किएर सडकतिर छरियो
आमा !
मेरो टाउको त
तपाईंले कोलमा तेल पेल्दा
पेचामा चेप्टिएको पीनाजस्तै भयो नि
म मरेको मैले नै थाहा पाइन
सडकमा थुप्रै मान्छेहरू जम्मा भए
अस्पताल अगाडिको सडकमा
जहाँ म मरे
जुलुश निस्कियो
नारा लाग्यो
पुलिसहरू आए
मुचुल्का बनाए र समाए मलाई
नभाँच्चिएको ठाउँ नै बाँकी रहेनछ
उठाउन मिलेन सर्लक्क
तपाईंलाई आमा भनेर फोन गर्दा
ह..ए
भनेको आवाज सुन्ने
मेरो मायाले रोएको
मेरो खुशी देखेर मुस्कुराएको
तपाईंको अनुहार हेर्ने गरेको
मोवाइल त झ¥याम झुरुम भएछ
केही पनि बाँकी रहेन
अब तपाईंले संकेतका भरमा
कान्छो भनेर थिच्ने गरेको नम्बरमा
सायद सँधै स्वीच अफ मात्रै भन्छ
प्लाष्टिकमा उठाए मेरो गिदी सडक पुछेर
पोकोजस्तै पारेर लगे मेरो शरीर
नजिकैको अस्पतालमा
जम्मा भएका मान्छेहरू आआफ्नो बाटो लागे
आमा !
मलाई जसरी नै शहरका अस्पतालमा
अरु थुप्रैलाई पनि ल्याउँछन् नि
कति हो कति रुन्छन् तिनका आफन्तहरू
मेरा त आफन्त पनि छैनन् यहाँ
रुनु पनि परेन कसैले
अफिसका मान्छेले पनि थाहा पाएका छैनन्
अब मलाई डढाउँछन् कि गाड्छन् थाहा छैन
बरफ हालेर केहीदिन
यतैकतै फालिराख्छन् कि !
आमा !
तपाईंलाई कहिल्यै थाहा नहोस् है
म मरेको कुरा
कसैले थाहा पाएर
तपाईंलाई सुनाउन आयो भने
मेरी आमा
तपाईं पहिले नै मरिसक्नु है
मेरी प्यारी आमा
तपाईं पहिले नै मरिसक्नु है !