ओली र देउवा दन्तबझान छोड, देशलाई जोड

२०७६ मङ्सिर १० मंगलबार १२:१०:०० मा प्रकाशित

 देशको सीमा मिचिएको बिषयमा यतिबेला दलहरुबीच नै राष्ट्रिय द्वन्द देखिएको छ । यो सुखद बिषय हुँदै होइन । सिंगो देशलाई एकढिक्का पारेर अखण्डता र सार्वभौमसत्ताको रक्षार्थ राष्ट्रिय आवाज घन्काउनुपर्ने समयमा मुख्य दलहरु नेकपा र नेपाली कांग्रेस नै आपसमा दन्तबझान गरिरहेका छन् । यसले नेपाल र नेपाली जनताको हित गरिरहेको छैन । बरु नेपाललाई हेप्ने प्रबृत्ति भएका अवान्छित शक्तिहरुलाई खुच्चिङ बजाउने अवसर दिएको छ । 

हालै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा मिचिएको प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाए । पोखराको चुनावी सभामा जोशिएर बोल्दै देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले सुदूरपश्चिमको सीमा मिचेको आरोप लगाए । उनको यस्तो आरोपले राजनीतिक वृत्तमा निकै ठूलो तरंग ल्याईदियो ।

तत्कालै सकारका प्रवक्ता संचारमन्त्री गोकुल बाँस्कोटाले प्रधामन्त्रीको बचाउ गर्दै सभापति देउवा विरुध्द तीखो जवाफ फर्काए । उनले ‘बिगतमा भारतले सीमा मिच्दा र नाकाबन्दी गर्दा म्याउँसम्म पनि नगर्ने अहिले सीमा मिचियो भनेर ढाडे बन्ने’ भनेर बिरालोको उपमा दिँदै देउवामाथि शब्द वाण छोडे । 

सभापति देउवाको प्रधानमन्त्री विरुध्दको आरोपको सर्वत्र आलोचना भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा उनको उध्दारमा अग्रसर भए । उनले पोखरामै पत्रकार सम्मेलन गरी सभापतिको बचाउ गर्दै सरकारलाई नेपालको सीमा नमिचिएको नयाँ नक्शा सार्वजनिक गर्न तीनदिने अल्टिमेटम दिए । तर विवाद मत्थर भएको छैन । 

राजनीतिमा राष्ट्रिय चेत र सहिष्णुताको संस्कृति कमजोर हुँदै गएको कुरा यो पछिल्लो विवादले संकेत गरेको छ । घरेलु मामिलामा जतिसुकै तिक्तता र विवाद भएपनि देशको सीमा विवाद र सार्वभौमसत्ताको रक्षा गर्ने जस्तो बिषयमा कुनै पनि विवाद हुनुहुँदैन । विवाद भयो भने त्यो दुर्भाग्य हो । 

नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो दल मानिन्छ । जनस्तरमा भिजेको,राजनीतिक संस्कार सिकेको र पटक पटक संघर्ष र सत्ताको समेत नेतृत्व गरिसकेको दल हो कांग्रेस । यो जगजाहेर इतिहास हो । त्यसैले यसको नेतृत्वले अपरिपक्व र कमजोर काम गर्छ भनेर सामान्यतया अपेक्षा गरिँदैन । तर यसपटक पोखराको चुनावी सभामा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमाथि जेजस्तो आरोप लगाए,त्यो उनको व्यक्तिगत र संस्थागत हैसियत सुहाउँदो थिएन ।

 प्रमुख प्रतिपक्षी दलको नेताको अभिव्यक्तिमा ओज र आधार परिपक्वसँग प्रकट हुनुपर्छ । सिकारु विद्यार्थी नेताले जस्तो आधारहीन उरेन्ठेउलो भाषण नेपाली कांग्रेसको सभापति र संसदको विपक्षी दलको नेताका लागि पटक्कै पनि सुहाउने बिषय थिएन र होइन । भारतलाई नेपालको सीमा मिच्न प्रधानमन्त्रीले सहमति दिएकै हुन् भने त्यसको ठोस आधार र तथ्यहरु सार्वजनिक गर्ने जिम्मेवारी देउवाको हो । त्यस्तो आधार र तथ्य छन् भने उपनिर्वाचनको अवसरमा सार्वजनिक गर्दा देउवालाई राजनीतिक लाभ नै प्राप्त हुने छ । यदि चुनावी जोशमा होस गुमाएर जिब्रो चिप्लिएको हो भने कांग्रेस सभापतिले उनकै समर्थकलाई समेत लज्जित बनाएका छन् ।

यता, प्रधानमन्त्री ओलीले पनि टेलिभिजनको काँचको पर्दामा चुनौति र चेतावनी दिनुभन्दा पहिले भारतको राजनीतिक नेतृत्वसँग सोझै संवाद गरेर सीमा विवादका बारेमा नेपालको पोजिसन प्रष्ट गर्न सक्नुपर्छ । समकक्षी नरेन्द्र मोदीसँग सोझै संवाद गर्दा कतिपय अन्यौल स्वत हटेर जान सक्छ । बाँकी रहेका अरु बिषय दुवै सरकारले विभिन्न एजेन्सी मार्फत सल्टाउँदै अघि बढ्न सकिन्छ । तसर्थ उत्ताउलो भाषणबाजी र चर्का दन्तबझान भन्दा सम्यमित राजनीतिक र कुटनीति प्रयाशहरुलाई नै निरन्तरता दिनु वुध्दिमानी हुने छ ।

यस्तो अवस्थामा सबैभन्दा पहिलो काम राष्ट्रिय एकता र सहमति नै हो । यो कामको संयोजन सरकारले नै गर्नुपर्छ अर्थात सत्तारुढ दल नै सिंगो देशलाई एकढिक्का पार्न अग्रसर हुनुपर्छ । प्रमुख दुइ दल नेकपा र नेपाली कांग्रेस मात्र होइन,अरु साना दलहरु अनि पूर्व राजालाई समेत राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका बिषयमा एकठाउँ उभिने वातावरण सरकारले निर्माण गर्नुपर्छ । अनिमात्र सिंगो एक ठाउँमा उभिएको हुने छ अनि त्यही जगमा उभिएर सरकारले अरु छिमेकीसँग आफ्नो कुरा निर्धक्कसँग भन्न पाउने छ सक्नेछ ।

दुर्भाग्यको कुरा हो, एउटा सर्वदलीय बैठक बाहेक राष्ट्रिय सहमतिका लागि थप अरु प्रयाश भैरहेको देखिँदैन । बरु ठूला दल नै देशको सीमा विवादको बिषयलाई उपनिर्वाचनको प्रचार मसला बनाईरहेका छन् । यसले उनीहरुको नालायकी र अयोग्यता प्रमाणित गरिरहेको छ । यसलाई रोक्नुपर्छ । किनभने देशको सीमा जस्तो संवेदनशील बिषय उपनिर्वाचनको प्रचारको तहमा बहस गर्ने बिषय हुँदै होइन । यो कसैको जय पराजयको मुद्दा पनि होइन । 

भारत,चीन र अमेरिका नेपाललाई आआफ्ना स्वार्थका आँखाले हेर्छन् । बेलायत र यूरोपियन युनियनका पनि उस्तै स्वार्थ होलान् नै । ऐतिहासिक दस्तावेज र तथ्य प्रमाणहरुले नेपाली भूमि मिचिएको छ भनेर प्रशस्त जवाफ दिइसक्दा पनि सीमा मिच्ने पक्षहरु ओठे जवाफ दिएर मौन बस्नुको अरु नै कुनै गम्भीर कारण हुनसक्छ भनेर नेपालले बुझ्न विलम्व गर्नु हुँदैन । सीमा विवाद त नेपालको प्रतिक्रिया बुझ्ने एउटा चाल मात्र हुनसक्छ । भित्री उदेश्य र दाउपेच अरु नै नहोला भनेर कसरी ढुक्क हुनसकिन्छ र ? त्यसैले यस्तो संवेदनशील अवस्थामा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सिंगो देशलाई एकढिक्का बनाएर राष्ट्रिय शक्ति जुटाउन हरप्रयाश गर्नुपर्ने बेला हो । परस्पर आरोप र प्रत्यारोप गरेर रमिता देखाउने समय होइन । मुख्य दलहरुलाई सद्वुध्दि प्राप्त होस्, शुभकामना ।

ताजा खबर