दक्षिण कोरियाली राजधानीमा अमृतसँगै झुमे नेपाली युवा 

२०७४ असोज २० शुक्रबार ११:३३:०० मा प्रकाशित

सिओल,दक्षिण कोरिया ।   लोक–रक ब्याण्ड नेपथ्यले सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार आफुलाई प्रस्तुत गरेको छ ।
‘ओलपार्क’का रुपमा बहुचर्चित यस ओलम्पिक हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको ओलम्पिक पार्कभित्रै समेटिएको छ । सन् २०११ मा त्यसै हललाई कोरियाली सरकारले कन्सर्ट आयोजना गर्ने थलोका रुपमा विकास गर्दै पुनःनिर्माण गरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरु ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’ले समेत आफूलाई यसै हलमा प्रस्तुत गरिसकेका छन् ।

कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’कै बखत पारेर त्यहाँस्थित कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो । चुसोक कृषिमा आधारित परम्परागत पर्व हो । खेती किसानीको सिजनलाई ध्यानमा राखेर मनाइने यो पर्वका बेला कोरियाली समाजका मानिस अघिल्ला पुस्ता र मान्यजनहरुसँग भेटघाट गर्छन् । धेरैजसो कोरियालीहरु यसै समय पारेर आफ्नो पुख्र्यौली थातथलो पनि पुगिरहेका हुन्छन् ।

तर, त्यसै मुलुकमा कमाउन पुगेका आप्रवासीहरुको निम्ति भने यो पर्व साथीभाइसँग भेटघाट गर्ने र स्वदेसका सम्झनाहरु ताजा पार्ने अवसर बन्न पुग्छ । यतिबेला दक्षिण कोरियामा चालिस हजारभन्दा बढी नेपाली कामदारहरु रोजगारीका निम्ति पुगेका छन् । इपिएस प्रणाली लागू भएयता यसरी नेपाली तन्नेरीहरु त्यस मुलुकमा जानथालेका हुन् ।

‘स्वदेसमै तपाइहरुलाई रोजगारीको प्रवन्ध गर्न नसकेकै कारण सबैजना यो ठाउँ आइपुग्नुभएको हो । आफन्त, साथीभाइ र मान्यजनहरुबाट यसरी टाढिएर बाँच्नुपर्दाको पीडा म बुझ्दछु,’ कन्सर्टकै क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘जे जस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफुमा स्वदेसका निम्ति कामलाग्ने सीप विकास गर्नुस् । हाम्रा नेताहरुमा यी तमाम तन्नेरीहरुले राष्ट्रनिर्माणमा सघाउन सक्ने वातावरण तयार पार्ने दृष्टिकोणका लागि हामी अनुरोध गर्छौं ।’

यति भनिसकेपछि अमृतले केहि वर्षअघि मात्र तयार पारेको एउटा मार्मिक गीत प्रस्तुत गरे जसको भाव आफ्नो प्रिय मानिस छाडेर हिँडेका आप्रवासी कामदार नेपालीको पीडामाथि उभिएको थियो-

‘मै मरि जाउँला, जीवन छोटो छ
लेखेको सम्झना, चेतेर नफाल
सिरानमा फोटो छ ’
 
यस गीतलाई नेपथ्यले आफ्नो २५ औं वर्ष मनाउने क्रममा हालै म्यूजिक भिडियोका रुपमा पनि सार्वजनिक गरेको छ । 

नेपथ्यका केहि सदाबहार गीतहरु प्रस्तुत गरिसकेपछि अमृत फेरि दर्शकहरुसँग कुरा गर्न तम्तयार भए । ‘यस ओलम्पिक पार्कमा उभिएर गीत गाइरहँदा मलाई यतिबेला विधान लामाको याद आइरहेको छ जसले १९८८ को ओलम्पिकमा मुलुकका निम्ति पदक हाँसिल गरेका थिए,’ उनले थपे, ‘दुर्भाग्य, त्यस्ता प्रतिभाशाली खेलाडीलाई पनि हाम्रो मुलुकले रोकेर राख्न सकेन र अहिले उनी पनि विदेशिएका छन् । यस्ता धेरै प्रतिभाशाली विधानहरुलाई यतिबेला नेपालले गुमाइरहेको छ । म हाम्रा नेताहरुलाई मुलुक भित्रै राम्रो अवसरको सिर्जना गरेर यस्ता प्रतिभाहरुलाई स्वदेशमै आकर्षित गर्न आव्हान गर्छु ।’ यो समेत गरेर दक्षिण कोरियाली राजधानी सिओलमा नेपथ्यको यो पाँचौ प्रस्तुती थियो ।
 
त्यसपछिको चरणमा ‘यो जिन्दगानी’ बाट अघि बढेको कन्सर्ट ‘कोशीको पानी’, ‘गाउँ गाउँबाट उठ’ हुँदै नेपथ्यका सुपरहिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’मा प्रवेश गरेको थियो ।

‘रातो र चन्द्रसुर्य’ बाट अन्त्य गर्नुअघि अमृतले फेरि मधुरो स्वरमा भलाकुसारी गर्न चाहे ।

‘नेतृत्वका कमी कमजोरीले गर्दा हामीले धेरै दुःख पाइसकेका छौं,’ राज्य र संसदको चुनाव आउन लागेको परिवेशमा उनले भने, ‘अब चाहिँ कम्तीमा तमाम नेपाली मतदाताहरुले झुठा वचन दिनेलाइ भन्दा एकपटक राम्ररी सोचेर सहि नेतृत्वको चयन गरुन् ।’
 
कन्सर्टमा सँधैझैँ अमृतलाई स्टेजका साथीहरु ध्रुवलामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए ।

‘नेपथ्यको २५ वर्षे सांगीतिक यात्रा मनाइरहेकै बेला सउलमा यसरी पाँचौ प्रस्तुतीका निम्ति आउन पाउँदा असाध्यै हर्ष लागिरहेको छ,’ दुइ घन्टासम्म लगातार दर्शकहरुसँग एकाकार भइसकेपछि कार्यक्रम सकिने बेलामा अमृतले भने, ‘नेपाल भित्र र नेपाल बाहिर बसेर नेपथ्यलाई सुनिदिनुहुने र हाम्रा भाकामा रमाइदिनुहुने सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु।’

कार्यक्रम सफलताका साथ सम्पन्न भएकामा कास्की परिवारका तर्फबाट खोम गुरुङले कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद ब्यक्त गरे । त्यसैगरि यस कन्सर्टलाई सफल बनाउनका निम्ति सहयोग पु¥याउनेहरु प्रति पनि उनले आभार प्रकट गरे ।

ताजा खबर