ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्युको  घोषणा गरेका त्रिकालदर्शी कमलानन्द रहेनन् 

२०७४ असोज १८ बुधबार ०८:१९:०० मा प्रकाशित

चितवन,१८ असोज । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमाएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) आफ्नै निवास भरतपुर महानगरपालिका कृष्णपुरमा मङ्गलवार साँझ साढे नौ बजे ब्रह्मलिन भएका छन्।

वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा पर्वत जिल्लाको हुवास अन्तर्गत किक्रिकमा जन्मिएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउनु हुने उनी राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल परेका थिए।

ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने उनको भविष्यवाणीले अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो । २०५१ सालमा गिरिजाप्रसाद कोइरालालाई मध्यावधी निर्वाचन नगर्न सल्लाह दिएका थिए। उनको सल्लाह कोइरालाले नमान्दा नेपाली काँग्रेसले पराजय भोग्नु परेको कुराले पनि निकै चर्चा पाएको थियो ।

ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुवी भएका उनलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै सम्पूर्णानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो ।

यसै गरी उनमा भएको आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो ।

स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी छन् । जेठा छोरा रुद्रप्रासद अद्वैत सत्सङ्गी छन् भने माइला छोरा स्वामी दुर्गादास शब्द चिन्तन दर्शनका प्रधान संरक्षक हुन्। स्व. कमलानन्द सरस्वतीलाई केही वर्ष यता मधुमेहको रोगले गालेको थियो । 
  
 

ताजा खबर