रेड पाण्डा हेर्न लगाएको प्रतिबन्ध खुल्ला 

२०७४ असोज १७ मंगलबार ११:०३:०० मा प्रकाशित

इलाम, १७ असोज ।  भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । 

गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ । 

पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालोटसम्मको सीमाक्षेत्रमा नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय जमुनाका कुमार गुरुङले बताए । 

दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो ।

तीन महिनामा रेडपाण्डाले प्रजनन समय पार गरिसकेको जनाउ“दै पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरिएको पार्कले जनाएको छ । कञ्चनजंघा बेस क्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । 

पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । 

पार्क खुल्ला हुनुअगावै पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकको जमघट शुरु भइसकेको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए । 

“तीन महिनादेखिको सुनसान ठाउँमा पर्यटकको चहलपहल बढेको छ”, उनले भने । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् । 

कञ्चनजंघा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खुल्लापछि स्थानीयवासी र पर्यटक खुशी भएका छन् । रासस

ताजा खबर