‘संकट टरोस्’ भन्दै दोलखा भीमेश्वरमा क्षमापूजा

२०७४ असोज १६ सोमबार १३:३०:०० मा प्रकाशित

दोलखा, १६ असोज । प्रसिद्ध दोलखा भीमेश्वरमा सोमबार क्षमापूजा गरिएको छ । एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि ‘संकट टरोस्’ भन्दै आज क्षमापूजा गरिएको हो ।

राष्ष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोही अनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासहितले आज भीमेश्वरमा क्षमापूजा गरिएको हो । पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले ‘मुलुकमा कुनै संकट नआओस्’ भन्ने कामना गरेकी थिइन् ।

सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । क्षमापूजाका क्रममा १३ जना पण्डितहरुबाट लघुरुद्री गरिएको छ । सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका वडा नं २ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो ।

लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट जोरबोका र स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोका बलि दिनुपर्ने प्रचलन अनुसार बलिपूजा गरिएको छ । बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ । 
क्षमापूजा समापनपछि आजै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर २ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । 

ताजा खबर