रोमाञ्चकता सञ्चार गरौं

२०७६ कार्तिक २३ शनिबार १०:१०:०० मा प्रकाशित

काठमाडौँ । प्रतिस्पर्धा, क्यारियरप्रति बढ्दो झुकाव, आरामदायक जीवनशैलीको चाहनासँगै आजभोलि युगल जोडीको रोमान्टिक सम्बन्ध बिस्तारै नीरस हुँदै गएको पाइन्छ । यसले उनीहरूको यौनजीवनलाई पनि उत्तिकै प्रभावित तुल्याउँछ ।

युगल जोडीको अन्तरंग क्षणहरूमा पर्दै गएको प्रभावको पछाडि प्राइभेट सेक्टरको बढ्दो वर्किङ आवर जिम्मेवार देखिएको छ, जसले व्यक्तिको स्वास्थ्य त प्रभावित भएको छ नै, त्यसको नकारात्मक प्रभाव यौन जीवनमा समेत देखिएको छ । बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार धेरै लामो समयसम्म काम गर्ने हरेक पाँचमध्ये एक कर्मचारीको यौन जीवन लगभग अन्त भएको पाइयो । 

लामो वर्किङ आवरले निम्न तरिकाबाट युगल जोडीको अन्तरंग जीवनमा प्रभाव पार्छ । 

    प्रेमपूर्ण अन्तरंग क्षणका लागि समयको कमी

    थकानका कारण यौनप्रति रुचि घट्दै जानु 

    चरम सन्तुष्टिको अनुभूति नहुनु

    शयन कक्ष वा बेडमा रिल्याक्स महसुस नहुनु

    इन्टरकोर्सका क्रममा महिलामा ल्युब्रिकेसनको समस्या हुनु

    पुरुषको उत्तेजनामा समस्या

    तनावका कारण पार्टनरलाई सन्तुष्ट तुल्याउन नसक्नु वा पार्टनरबाट सन्तुष्ट नहुनु 

    यौन क्रियाका बेला नयाँ प्रयोगका लागि उत्साहित नहुनु

    कामेच्छामा कमीका कारण पार्टनरसित दूरी बढ्नु

यतिबेला आफ्नो पर्सनल जीवनलाई सही ट्रयाकमा ल्याउन आफ्नो क्यारियरसित सम्झौता गर्ने सम्भावना कमै हुन्छ तर आफ्नो पर्सनल र प्रोफेसनल लाइफका बीच तालमेल बसाउन प्रयास भने अवश्य गर्न सकिन्छ ।

इमान्दार रहनुपर्छ

पूरा साताको व्यस्त सेड्युलका कारण यदि प्रेमका ती विशेष पलहरूको आनन्द उठाउन समय छैन भने प्रेमपूर्ण स्पर्श र साथ मात्र पनि पार्टनरका लागि पर्याप्त हुनसक्छ । पार्टनरसित आफ्नो मनको कुरा सेयर गर्नुपर्छ । यसबाट उनलाई तपाईं उनको नजिक रहेको आभास हुन्छ । यदि जोडीले एक–अर्कासित कुराकानी नै गरेनन् भने अवश्य पनि उनीहरूबीच दूरी बढ्छ । अत: विकेन्डमा यौन जीवनका लागि समय निकाल्न सक्नु हुन्न भने कम्तीमा पार्टनरसित कुरा गर्ने समय निकाल्नु आवश्यक छ । यसबाट दुवै जनालाई एक–अर्काको व्यस्तता र बाध्यताका सम्बन्धमा जानकारी हुन्छ र एक–अर्काका लागि समय प्राप्त नभएकोमा एक–अर्कासित गुनासो पनि रहँदैन । 

अटेन्सन दिऊँ

सम्बन्धमा न्यानोपन कायम राख्न इमान्दारिता मात्र पर्याप्त हुँदैन । पार्टनरलाई ध्यान दिनु, उसका बारेमा कति ख्याल राखिन्छ भन्ने कुरामा उनलाई महसुस गराउनु पनि जरुरी हुन्छ । यौन जीवनको कमी पूर्ति गर्न पार्टनरलाई अटेन्सन दिनु धेरै हदसम्म जरुरी हुन्छ र यसले सकारात्मक प्रभाव पनि पार्छ । 

आफ्नो भाषामा ध्यान दिऊँ 

कैयन् पटक हामी घरमा पनि अफिसमा बोल्ने जस्तो भाषा प्रयोग गर्छौं, जुन सही होइन । अफिसमा आफूभन्दा जुनियरलाई निर्देशन दिएजस्तो भाषा–शैली आफ्नो पार्टनरसितको कुराकानीमा प्रयोग गर्नु गलत हो । यसबाट पार्टनरको भावनामा चोट पर्ने सम्भावना हुन्छ । यदि तपाईं स्वस्थकर रोमान्टिक जीवन चाहनुहुन्छ भने घर पुगेपछि अफिसलाई बिर्सनु नै राम्रो हुन्छ । 

बिदामा अफिसलाई बिर्सनु 

यदि तपाईं आफ्नो प्रेममय सम्बन्धमा मिठास र सुमधुरता कायम राख्न चाहनुहुन्छ भने सप्ताहन्त र बिदाका बेला आफ्नो पार्टनरलाई प्राथमिकता दिनु राम्रो हुन्छ । उनलाई मनपर्ने क्रियाकलापमा सहभागी बन्नुहोस् र बढीभन्दा बढी समय उनीसँगै व्यतीत गर्ने प्रयत्न गर्नुहोस् । त्यो एक दिन उनीप्रति नै समर्पित गर्नुहोस् । यसले आपसी सम्बन्धमा प्रगाढता बढाउने कार्य त गर्छ नै, आफ्नै सप्ताहभरिको कामको थकान र तनाव पनि हट्छ । यतिबेला अफिसको काममा ध्यान दिनु ठीक होइन ।

सेक्सलाई बनाऔं स्पेसल

दैनिक रोमान्टिक क्षण व्यतीत गर्न सम्भव नहोला, तर जब–जब पनि समय प्राप्त हुन्छ, त्यसलाई स्पेसल बनाउन अधिकतम प्रयास गर्नुपर्छ । यौन जीवनलाई रोमाञ्चक बनाउन नयाँ प्रयोग गर्ने कुरामा उत्साहित रहनुपर्छ । (साप्ताहिकबाट)

ताजा खबर