‘ मनमा आहा लागेन भने त्यस्तो कविता लेखेर के काम ’ – राष्ट्रकवि माधवप्रसाद घिमिरे

२०७४ असोज १३ शुक्रबार ०७:५२:०० मा प्रकाशित

आज म अलि बूढो भएँकि जस्तो महसुस गर्दैछु । आफ्नो बिषयमा शिकायत गर्न चाहन्छु ।  त्यो के भनेदेखि म बिहान भोजन गरेर एकैछिन अखबार हेरिसकेपछि आधा घण्टा झपक्क नसुतिकन नहुने मान्छे । आज फेरि यस्तो भयो कि बिहान उठे देखिको धपेडी नै धपेडी छ,एकैछिन आरामले बस्न पाएको होईन । शुभचिन्तक र साथीभाईसँग भेटघाट वातचित् गर्दागर्दै आराम गर्न पाएकै छैन । त्यसैले घरीघरी झपक्क झपक्क भैरहेको छ,सम्हाल्न सकिरहेको छैन ।

ठीकै छ अब  अलिकति कविताकै चर्चा गरौं न ।

कविताको क्षेत्र ह्रदयको क्षेत्र

कविताको क्षेत्र दार्शनिकको क्षेत्र होइन । त्यो विज्ञानको त हुँदै होइन । कविताको क्षेत्र भनेको त ह्रदयको क्षेत्र हो । ह्रदयमा जस्तो मलाई लाग्यो त्यस्तै मैले भनिदिएँ । कुनै तर्कको कुरा नगर । लक्ष्मीप्रसाद देवकोटाजीको एउटा कविता पढ्यो, राम्रो लाग्छ आह कति राम्रो भनिन्छ । यहाँलाई राम्रो लाग्यो भने के भन्ने ! राम्रो लागेर त राम्रो लागेको हो । कविताको त्यस्तो एउटा जवाफ हुन्छ । लेखनाथको एउटा कविता म जहिले पनि उच्चारण गर्छु ‘कोइलीको कुहुकुहु सुन्यो राती जति जति, उतीउती नयाँ लाग्छ यो सारा संसार कति !’ 

एउटा ऋषि बोले जस्तो । कोइलीको यति मीठो स्वर कि त्यसले गर्दा अर्को आफ्नो जीवन पनि धन्य । संसार पनि कति रमाइलो । यो जो उनको सोचाई हो त्यो कविता हो ।

द्रष्टा र दृष्टि 

एउटा फूल देखेर तपाईँ के सोच्नुहुन्छ । फूललाई फूलै मात्र सोच्नुहुन्छ भने त्यो कविता भएन । त्यो भौतिक चिज हो । फूललाई तपाईँ सौन्र्दयको रुपमा हेर्नुहुन्छ भनेदेखि त्यो सौन्र्दय हो । त्यसको पछाडि एउटा अनौठो चिज मुस्कुराईरहेको हुन्छ । ब्रह्माण्डको श्रष्टालाई मैले देखँे भन्नुभयो भने त्यो तपाईँको कल्पना हो र अद्भूत कल्पना हो तर त्यो साँचो पनि हुनसक्छ । मान्छेहरुले कविताको कैयौं परिभाषा गर्दै आए । एउटा कविताको एउटै परिभाषा रहेन । सम्भवत जब श्रृष्टिको पहिलो फूल फुलेको थियो । त्यसमाथि फेरी पुतली नाचेको थियो । कसैको मनमा आहा कति राम्रो भन्ने शब्द निस्कियो होला । पहिलो शब्द यही केही कविताका होलान् । फूलको कविता त्यहाँदेखि बन्दै आएको अहिलेसम्म पनि त्यो कविता त्यसै पनि लेखिरहेको छ । कहिले पनि सकिएको छैन । कला भनेको त्यो हो । त्यो हो कविता भनेको कहिलेपनि नसकिने । रातभरी गीत गाएका छन् एउटै गीत हो । सधैं त्यहि गीत बजाइरहेका छन् । त्यो के हो जादु । त्यो त सकिनु पर्ने नि ! त्यो के हो त्यस्तो ? तपाईँ हिजो जिउनु भएको थियो । आज फेरि जिउँदै हुनुहुन्छ । बेहत्तर जीवन । हिजोभन्दा आज अझ राम्रो जीवन । के ले जीउन खोजेको । एउटा रमाइलो कुरो तपाईँहरुलार्इृ भन्दा मलाई चाहि त्यो कुरा झन गहिराईमा पुग्छ ।

तपाईँहरु त आज राम्रो गर्न नसके पनि पछि गर्नु होला तर मलाई त आज यति रमाइलो देखिरहेको छु । एक सालपछि को यो शरद् ऋतु म देख्न पाउँला कि नपाउँला । यो कविताको विषय हो । यो कुनै रोजगारीको बिषय पनि होइन । कुनै आईटिको बिषय पनि होइन । तर यो कविताको बिषय भने हो ।  यसै पनि कविताको परिभाषा गरेर सकिँदैन तर पूर्वका मान्छेहरुले के भनेका छन् भनेदेखि ‘वाक्यम रसाद मध्यम काल’ रसिलो वाक्य ह्रदय छुने चिज । ह्रदय छुने वस्तु चाहिँ कविता हो । ह्रदयस्पर्शी जुन चिज हो त्यो कविता हो । कविता लेखेर कसैको मनमा आहा भन्ने लागेन भने त्यो कविता लेखेर केही काम छैन । पहिला सिक्ने कुरा हो सिक्दै जाँदामा राम्रो हुन्छ । तर लेख्दै नलेखेर पाँच सातवटा कविता लेखेर आफूलाई ठूलो मान्नु चाहिँ गलत हो । एउटा राम्रो कविता लेख्नका लागि धेरै तपस्या गर्नुपर्छ । 

लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए – ‘मैले बाह्र तेह्र वर्ष लगाएर अंग्रेजी साहित्य लेख्न सिकें र त्यसमा कविता लेख्न सिके ।’ कविता त्यति सजिलो छैन भनेर उनले भनेका थिए । तर कविता कविले नै लेख्न सक्छ अरुले लेख्न सक्दैन । ‘जीवन के हो’ भन्ने कविता कसैले लेख्न सकेको छैन । माछालाई जीवन के हो भनेर सोध्ने हो भने उसले अवश्य नै पानी होला भन्छ किनकी उ सधैं पानीमा नै बसेको छ । उसलाई पानी बाहेक अरु केही थाहा हुँदैन । माछाको परिभाषा नै अपूर्ण हुन्छ किनभने त्यो समुन्द्र जति ठूलो छ माछाले त्यो जम्मै चाहारी सक्दैन । कविता पनि त्यस्तै हो ।

मान्छेलाई राम्रो लाग्न पनि सक्छ नराम्रो लाग्न पनि सक्छ । यो कुनै करकापको कुरा होइन । लक्ष्मीप्रसाद देवकोटाले लेखेर मात्र कविता हुन्छ । अरुले लेखेर पनि कुनै कविता हुन्छ भन्ने पनि होलान् । तर अरुले लेखेको कविता लक्ष्मीप्रसाद देवकोटाको भन्दा झन राम्रो पनि हुन सक्छ । 
(राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो ९९ औं जन्मदिवसका दिन गत असोज ७ मा दिएका संक्षिप्त सन्देश)
 

ताजा खबर