शनिबार टिका लाउँदा कुनै दोष छैन

२०७४ असोज १२ बिहीबार १५:४१:०० मा प्रकाशित

अघिल्ला दुई वर्ष   दशैंको टिका तिथि अनुसार परेका थिएनन् र नवमीकै दिन दशैंको टिका लगाइएको थियो । यसलाई धेरैले अनिष्ट पनि भने र कतिले देशमा के नराम्रो हुने हो भनेर आशंका पनि गरे । यो वर्ष बिजया दशमीको टिका शनिवारको दिन परेको छ । धेरैले यसलाई अशुभ मानेका छन् । यस बिषयमा रहेको अन्योल प्रष्ट पार्न सरलपत्रिकाले नेपाल पञ्चाङ समितिका पूर्व अध्यक्ष तथा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा.माधव भट्टराईसँग कुराकानी गरेको थियो । भट्टराईसँग गरिएको कुराकानी जस्ताको तस्तै :

तिथि टुट्नु राम्रो होईन

दशमीको टिका शनिबार होस् या अरु कुनै बार केही फरक पर्दैन । खाली तिथि टुट्नु मात्र नराम्रो कुरा हो । हामीले गएका दुई वर्ष भोग्यौं नि, भुँईचालो भन्दा अघिल्ला दुईवटा वर्ष लगातार दशमी तिथि नै थिएन । टिकाको दिन नै थिएन । हामीले नवमीको दिन टिका लगायौं । त्यो चाहिँ अनिष्ट हो । अरु यो बार त्यो बार भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो शरद्कालिन उपासनाको कुरा हो । यसमा के हुन्छ भने, मुख्य गरेर घटस्थापनाको दिन कस्तो परेको छ भन्ने कुरा हो ।

जमरा राख्ने दिन नराम्रो परे नराम्रो फल

जमरा राख्ने दिन कस्तो परेको छ । जमरा राख्दाको दिन नराम्रो परेको छ भने त्यसको फल नराम्रो हुन्छ र त्यो शान्ती गरेर मात्र गर्नुपर्ने हुन्छ । तर टिका शनिवार परेर मात्रै चाहिँ खासै केही फरक पर्दैन । यो साइत मात्र हेरेर गर्ने कुरा पनि होइन । अब जस्तै अरु कुराहरुमा नयाँ कुनै काम शुरु गर्नुपर्यो भने के बार पर्यो, के तिथि, के नक्षत्र, कस्तो गुण, कस्तो लग्न हामी हेर्छौं । दशैंको टिका भनेको दशैंको टिका नै हो । बारसँग यसको सम्बन्ध छैन ।

मान्छेहरुले शनिवार, मंगलवार टिका पर्यो अब अशुभ हुन्छ भन्ने गरेका छन् । त्यो उनीहरुको एउटा मनोविज्ञानको कुरा मात्र हो । मान्छेहरु एउटा के छ भने मंगल, शनि अथवा राहु भनेपछि मान्छेमा एकखालको त्रास उत्पन्न हुन्छ । मनोवैज्ञानिक त्रास हुन्छ । मैले शनिवारको दिन टिका परेको राम्रो हुँदैन भन्ने कुरा पनि धेरै पटक सुनेको छु । शनिवारको कारणले नराम्रो हुने होइन । उपासना कस्तो भयो भन्ने कुरा हो । सबैभन्दा बिधिपक्षको महत्व छ । हामीले कुनै पनि देवी देउताको उपासना गर्दा विधि पुर्याएका छ कि छैनौं । हामीले भक्ति र श्रद्धाले त्यसको आराधना गरेका छौं कि छैनौं त्योसँग सम्बन्ध आउँछ ।  तिथि टुट्दा र योग नराम्रो पर्दा कहिलेकाहीँ दोष हुन्छ तर बारकै कारणले चाहिँ टिकालाई असर पर्दैन ।

धेरै शुभ पनि छैन र अशुभ पनि छैन

यसपटक क्यालेन्डर अनुसार पनि सामान्य नै देखिन्छ । धेरै शुभ पनि छैन र अशुभ भनेर त्यस्तो अशुभै पनि छैन । जहाँसम्म बारको कारणले अशुभ भनेर भनिएको छ, यसमा हामीले कति पनि त्रास मान्नु पर्दैन । अहिले जति पनि यज्ञ, अनुष्ठा, पूजा हवन, पुराणहरु जे जति हुन्छन् , यसमा के छ भने कुनै मुर्हुत हेरिँदैन । अचेल हेर्नै छाडे । त्यसका सिद्धान्त छन्, जस्तो बृहस्पति अस्ताउँदा, शुक्र अस्ताउँदा नयाँ यज्ञ गर्नुहुँदैन । कतिपय दक्षिणायनमा गर्न नहुने कर्महरु छन् । बिवाह वत्रबन्ध कै कुरा गरौं । वत्रबन्ध त दक्षिणायनमा गर्न हुँदै हँुदैन ।

असोज कात्तिकमा विवाह गर्न हुँदैन

विवाह पनि असोज कात्तिकमा त कहिले पनि गर्न हुँदैन । अहिले मान्छेहरु दशैंको बेला बिदेशमा बसेको छ छोराछोरी हुन्छन् अनि यहाँ आएर फटाफटी विवाह गर्दिन्छन् । दशैंको बेला के हो के हो । कहिलेकाहीँ यति वाध्यता पर्छ कि जाने इच्छा नहँुदा नहँुदै पनि त्यहाँ पुग्दिनु पर्ने हुन्छ । फेरि म मुर्हुत नभएको त्यस्तो कुनै पनि कर्ममा सहभागी नै हुन्न । त्यो चाहिँ अहिले हाम्रो लागि घातक भइरहेको छ । मुर्हुत नहेरिकन, समय नहेरिकन जथाभावी गर्ने प्रवृति नराम्रो हो । वेदले भन्छ, विधिपूर्वक गएन भने जसको त्यो आयोजक हो सबैभन्दा पहिला हानी उसैलाई गर्छ । यजमानलाई नै हानी गर्छ । त्यसले गर्दा यतिका यज्ञ, पुराण भइरहेका छन् किन त नेपालमा शुभ र असल अवस्था आएन भन्दा बिधिपूर्वक भएन ।


किन तर्सिनु ?

अहिले मान्छेहरु बिना कारण तर्सेका हुन् । यो शनिवारको कारणले तर्सनु पर्दैन । विधि, नियम, निष्ठा र श्रद्धापूर्वक देवीको उपासना गर्ने र आफ्नो परम्परा अनुसार गर्ने । यसपटक तिथि टुटेको छैन । सबैभन्दा समस्या कहाँ पर्छ भने जब यो आश्विन शुक्लपक्ष अर्थात् दशैंको दुर्गा पक्षमा जब तिथि टुट्छन् बडो आपत्ति छैन । तर टुटेर घटे भने चैं त्यसले अनिष्ट गराउँछ । शनिवारको कारणले केही घटना हुँदैन । त्यसमा कुनै शंका गर्नुपर्दैन । 

टिकाको साइत ११ः५५ बजे

टिकाको साइत त पञ्चाङ्ग निर्णायक समितिले ११ः५५ बजेको दिएको छ । यसमा म अध्यक्ष हुँदा के निर्णय गरेको थियो भने साइत भनेको एउटा कार्यतालिका बमोजिमको शुभ समय हो । दशैंको टिका भनेको प्रसाद लगाउने एउटा समय हो । यसको देवी बिसर्जनको साइतको महत्व हुन्छ । टिका लगाउने भनेको ठुलाबडाको कार्यतालिका बिमोजिम एउटा समय निकालेको हुन्छ । उहाँहरुको राशीबाट । अब अहिले कसको राशीबाट निकालेको छ त्यो मलाई थाहा छैन । तर सामान्यतया विधिपूर्वक घटस्थापनाको पूजा गरेर त्यसको बिर्सजन गरिसकेपछि टिका आफ्नो अनुकूलले लगाए हुन्छ । अझ हाम्रो त पूर्णिमासम्म लगाउने चलन छ । त्यसले गर्दा टिकाको लागि साइत अनिवार्य होइन । तिहारको लागि मध्यान्हको समय लिनुपर्छ र दशैंको लागि टिकाको साइत अनिवार्य होइन । 
(राष्ट्रिय धर्मसभाका अध्यक्ष,  प्रा।डा। माधव भट्टराईसँगको कुराकानीमा  आधारित) फायल तस्बिर


 

ताजा खबर