ट्वीटरमा काम गर्ने कर्मचारीहरुले साउदी सरकारको लागि जासुसी गरेको आरोप

२०७६ कार्तिक २१ बिहीबार १४:४९:०० मा प्रकाशित

ट्वीटरका दुई कर्मचारीहरुमाथि साउदी अरबको लागि जासुसी गरेको आरोप लागेको छ । बुधबार सान फ्रान्सिस्कोमा सार्वजनिक भएको मुद्दाका अनुसार ती कर्मचारीहरुले साउदी एजेन्टले चाहेको केही ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत जानकारी दिएका थिए । त्यसरी खोजिएका धेरैजसो ट्वीटर एकाउन्टहरु साउदी सरकारका मुखर आलोचकहरु थिए । 

 

अदालती कागजातले आरोप लागेका दुई कर्मचारीहरुको नाम पनि सार्वजनिक गरेको छ । तिनको नाम अहमद अबुआम्मो र अली अल्जाबराह रहेको अदालतले जनाएको छ । अहदम अमेरिकी नागरिक हुन् भने अली साउदी अरबियाका हुन् । 

तेस्रो व्यक्ति साउदी नागरिक अहमेद अल्मुटेरीमाथि पनि जासुसीको आरोप लागेको छ । अल्मुटेरीले आरोपित ट्वीटर कर्मचारी र साउदी अधिकारीबीचमा मध्यस्थकर्ता गरेको मुद्दामा उल्लेख छ । अबुआम्मोलाई बुधबार सियाटल अदालत अघि प्रस्तुत गरिएको थियो । शुक्रबार अर्को सुनुवाई बाँकी रहेकाले उनलाई हिरासतमै राखिएको छ ।

उनलाई जाली कागजात र एफबीआईलाई झुटो वयान दिएको आरोप पनि लगाइएको छ । अहिले अबुआम्मोले ट्वीटरको मिडिया साझेदारी म्यानेजरको काम छाडिसकेको बताइएको छ । अलि अल्जबराह र अहमद अल्मुटेरी दुवै साउदी अरबमै रहेको विश्वास गरिएको छ । ट्वीटरका पूर्व इन्जीनियर अल्जाबराहले ६ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत सूचना हेरेको छ । अल्जाबराह सन् २०१५ मा साउदी एजेन्टको रुपमा भर्ति भएको अनुसन्धानले देखाएको छ । 

तर अल्जाबराहको कार्यबारे ट्वीटरका उच्चाधिकारीले पहिले सुइको पाएपछि उनीसँग सोधखोज गरिएको थियो । त्यस लगतै उनले प्रशासनिक बिदा लिएर आफ्नी श्रीमती र छोरीका साथ साउदी अरब लागेका थिए । घटनाबारे ट्वीटरले एक वक्तज्य जारी गर्दै भनेको छ ,‘ट्वीटर प्रयोग गरेर विश्वसँग आफ्नो दृष्टिकोण साझा गर्ने र शक्तिमा रहेकाहरुको उत्तरदायित्व माग गर्ने मानिसहरुले सामना गर्ने असाधारण खतराबारेमा हामी जानकार छौं । हामीसँग तिनको गोपनीयता र महत्वपूर्ण काम गर्ने तिनको क्षमता संरक्षण गर्नको लागि उपायहरु छन् ।’

साउदी अरब मध्य–पूर्वमा अमेरिकाको प्रमुख मित्र शक्ति हो । अघिल्लो वर्ष साउदी संस्थापनका विरोधी पत्रकार जमाल खशोग्गीलाई साउदी अरबले  हत्या गरेको आरोप लागेपछि ठूलो अन्तराष्ट्रिय आलोचना भएको थियो ।त्यसको बावजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग नजिकको सम्बन्ध कायम राखिरहेका छन् । खशोग्गी इस्तानबुलस्थित साउदी अरबको वाणिज्यदूतावासमा पासपोर्टको लागि काम गर्न जादाँ मारिएका थिए । 

ताजा खबर