दोलखा भीमेश्वरलाई एकैदिन दुईपटक पसिना !

२०७४ असोज १० मंगलबार १८:५८:०० मा प्रकाशित

दोलखा, १० असोज  । भविष्यद्रष्टाको रुपमा चिनिने प्रसिद्ध दोलखा भीमेश्वरलाई मंगलबार एकै दिन दुईपटक पसिना आएको छ । 
 दिउँसो २ः५५ देखि ३ः१७ बजेसम्म पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । सबैभन्दा पहिले गुठियारहरु लक्ष्मीनारायण श्रेष्ठ र काशीनारायण श्रेष्ठले पसिना आएको देखका थिए । त्यसपछि मन्दिरका सबै घण्टा, नगरा बजाएर भीमेश्वरको शिलामा पसिना आएको जानकारी स्थानीयलाई दिइयो । स्थानीयवासी र सदरमुकाम चरिकोटबाट समेत मानिसहरु मन्दिरमा पुगे । मन्दिरका पुजारी, गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गरे ।

भीमेश्वरको शिलामा पसिना आएपछि दीक्षा प्राप्त गरेको व्यक्तिले विधिपूर्वक पूजाआजा गरी शिलामा आएको पसिना कपासले पुछ्नुपर्ने प्रचलन   छ । प्रचलनअनुसार शिलामा आएको पसिना दीक्षित प्रभुनारायण श्रेष्ठले विधिपूर्वक पूजा गरी पुछे र मन्दिरमा जम्मा भएका भक्तहरुलाई बाँडियो । 
पहिलो पटक आएको पसिना पुछेर भक्तहरुलाई बाँडिनसक्दै भीमेश्वरको शिलामा फेरि पसिना आयो । दोस्रो पटक ३ः५१ बाट आउन थालेको पसिना ५ः१५ सम्म आएको भीमेश्वर नगरपालिका २ का अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । यसरी उही दिन दोस्रोपटक पनि पसिना आएपछि फेरि विधिपूर्वक पूजा गरी पसिना पुछिएको थियो ।

भीमेश्वरलाई पसिना आउँदा गाढा कालो रङको शिला फुस्रो रङमा परिणत हुन्छ । शिलामा पसिनाको मसिना दाना देखिन्छ । विस्तारै पसिनाको दाना ठुलो हुँदै जान्छ र बग्न थाल्दछ ।

भीमेश्वरलाई पसिना आएको जानकारी आएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा, रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्रबहादुर रेश्मी, प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की भीमेश्वर मन्दिर पुगेका थिए ।

भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ । यसरी राष्ट्रपति कार्यालयमा प्रसादको रुपमा कपास पठाएपछि त्यहाँबाट क्षमापूजा पठाइने प्रचलन छ । विधिपूर्वक सो क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास छ । राष्ट्रपति कार्यालयमा भोलि विहानै प्रसाद पठाउने तयारी भएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा गणतन्त्र स्थापना हुनुपूर्व भने राजदरवारमा सो प्रसाद पठाउने प्रचलन थियो ।

भीमेश्वरको सिलालाई पसिना आउदा हरेक पटक मुलुकमा कुनै न कुनै ठूलो तथा राष्ट्रिय घटना भएको दावी स्थानीयको छ । भीमेश्वरलाई आउने पसिना राष्ट्रमा हुने परिवर्तनकारी घटनाको पूर्वसंकेत भएको मानिन्छ ।

भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् ।

त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको पनि उनीहरुको स्मरणमा छ । त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते पसिना आएको थियो । भीमेश्वरलाई पसिना आउँदा अनिष्ट हुने नभै मुलुकमा हुने परिवर्तनको पूर्वसंकेत स्वरुप पसिना आउने गरेको दोलखाको संस्कृतिको अध्येता शान्तकृष्ण श्रेष्ठले बताए । दोलखा भीमेश्वरलाई पसिना आउँदा जनतालाई संकट परेका घटना कमै भएको उनको दावी छ ।  
 

ताजा खबर