राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा,महिला यात्री आकर्षित

२०७६ कार्तिक २० बुधबार ११:०३:०० मा प्रकाशित

सिन्धुली । यस बर्षको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रामा महिला साइकल यात्रीको संख्या उल्लेख्य हुने भएको छ । महिला साइकल यात्रीलाई व्रिटिस काउन्सिल र युएन उमनलगायतका संस्थाले प्रायोजन गर्ने भएपछि महिलाको संख्या यस बर्ष निकै बढ्ने भएको हो ।

यस बर्ष राइड थ्रु सिन्धुलीगढीमा बृटिस काउन्सिलले ६ जना र युएन उमनले १० जना महिला राइडरलाई लाग्ने खर्च बेहोर्ने भएकाछन्, समृद्ध सिन्धुली अभियानले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियन्ता सौरभ ढकालले भने, सुरु गरेको चार बर्षमै हाम्रो साइकल यात्रालाई प्रतिष्ठित संस्थाहरुले पहिचान गरेका छन् । हाम्रा लागि यो गौरवको कुरा हो । दुवै संस्थाले साइकल यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई आफ्नै खर्चमा पठाउन लागेका हुन् ।

लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियान मंसिर ९ गतेदेखि ९नोभेम्बर २५० सुरु हुँदैछ । सोही सन्दर्भ पारेर संयुक्त युएन उमनले महिला साइकल यात्रीलाई सहयोग गरेको जनाएको छ। समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । पहिलो बर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई बर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस बर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।

यस बर्षको साइकल यात्राको तयारी पूरा भएको अभियन्ता हरिकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रामा बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भब्य सांस्कृतिक कार्यक्रम हुने छ ।

दोस्रो दिन साइकल यात्री ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोकसंस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा साइकलयात्रीका लागि नगर परिक्रमा कार्यक्रम राखिएको छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक बर्ष साइकल यात्रा गर्दै आएको हो । हरेक बर्ष साइकल यात्रामा १५० जन साइकल यात्री र ५० जना सहयोगीको समुह गरी २०० जना सहभागी हुने साइकल यात्राकी संयोजक दीपिका ज्ञवालीले बताइन् । अभियानले राइड थ्रु सिन्धुलीगढीमा जान चाहने साइकल यात्रीलाई अनलाइनमा नाम दर्ता गर्न सक्ने ब्यवस्था गरेको छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न साइकल यात्रा, असोज १५ गते बिजय दिवस, कला शिविर, फोटो प्रदर्शनीलगायतका कार्यक्रम गर्दै आएको छ । दुई सांस्कृतिक सहर काठमाडौं र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने साइकलयात्राले पहाड र तराई बीचको सद्भाव विस्तार गर्न समेत सघाउने आयोजकको अपेक्षा छ ।

अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना छ । ‘राइड थ्रु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई हरेक बर्ष हुने यात्रामा सहभागी गराउने योजना अभियानले बनाएको अभियानका उपाध्यक्ष दीपक श्रेष्ठ बताउँछन् । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुगिने छ ।

ताजा खबर