१ लाख विद्यार्थी ११ कक्षामा भर्ना नहुने  

२०७४ असार ४ आइतबार ०७:५८:०० मा प्रकाशित

काठमाडौं ४ असार । एसईई परीक्षाको समग्र नतिजा सुधारोन्मुख देखिए पनि एक लाखभन्दा बढी विद्यार्थी ११ कक्षामा भर्ना हुन नसक्ने अबस्था देखिएको छ । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुनसुकै विषय पढ्न पनि अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य सामाजिकमा त्यसभन्दा तल डी र ई ल्याउने १ लाख ६ हजार ४ सय ६४ विद्यार्थी छन् । अंग्रेजीमा डी र ई ल्याउने ६५ हजार ७० र नेपाली विषयमा ६५ हजार छन् ।

सामाजिक विषयलाई मात्रै आधार मान्ने हो भने परीक्षा दिएका ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थीमध्ये ३ लाख ३९ हजार एक सय जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् । यसमा १।६ भन्दा कम जीपीए ल्याउने ६९ हजार, बीचैमा परीक्षा छाडेका र परीक्षा रद्द गरिएका विद्यार्थी जोडिएको छैन । गतवर्ष ४ लाख ३७ हजार विद्यार्थीले परीक्षा दिएकामा १ लाख १२ हजारले सामाजिकमा डीभन्दा कम ग्रेड ल्याएका थिए ।

गतवर्ष परीक्षा दिएकामध्ये ३ लाख ४८ हजार अर्थात् ८० प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना भएका छन् । यसमा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्नुअघि श्रेणीका आधारमा पास गरेका विद्यार्थी पनि भर्ना भएका छन् । गतवर्ष भर्ना भएको संख्यालाई आधार मान्ने हो भने यसवर्ष ३ लाख ५० हजार हाराहारी मात्रै ११ कक्षामा भर्ना हुन योग्य हुनेछन् ।

भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १ दशमलव ६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ । विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।

त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न पनि अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ । त्यसबाहेक तीन सय पूर्णांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ । व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।

गत चैतमा भएको परीक्षामा ४ लाख ४५ हजार ५ सय ६४ जनाले परीक्षा दिएकामा १२ हजार २ सय ८४ जनाले ३ दशमलव ६५ देखि ३ दशमलव ६० जीपीए ल्याएका छन् । यो गत वर्षभन्दा १ दशमलव ०१ प्रतिशत कम हो । गतवर्षभन्दा यसपालि परीक्षा दिने विद्यार्थीे संख्या ८ हजार २ सय ३८ जना बढी छन् । यसको आधारमा यो समूहमा पर्ने विद्यार्थीको संख्या बढ्नुपर्नेमा झन् घटेको छ ।

यसबाहेक अन्य समूहमा भने गत वर्षको भन्दा सुधार भएको छ । ३ दशमलव २५ देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९ दशमलव ५० प्रतिशत रहेकोमा यसपालि ९ दशमलव ५२ पुगेको छ । त्यस्तै २।८५ देखि ३।२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११ दशमलव ११ प्रतिशत रहेकोमा यसपालि १३ दशमलव ९० प्रतिशत पुगेको छ । त्यस्तै विषयगतको आधारमा डी र ई ल्याउने विद्यार्थीको संख्या पनि गत वर्षको भन्दा घटेको छ । यसले पनि गत वर्षको भन्दा नतिजा सुधारोन्मुख देखिन्छ ।

कर्णाली प्रदेश कमजोर स्थितीमा 
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा प्रदेश नम्बर ६ को शैक्षिक गुणस्तर सबैभन्दा कमजोर देखिएको छ । ३३ हजार १ सय ९४ विद्यार्थी सहभागी भएको ६ नम्बर प्रदेशमा २ दशमलव ८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७ दशमलव १५ प्रतिशत छन् । तीमध्ये ३ दशमलव ६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ दशमलव २७ प्रतिशत जना मात्रै छन् । जबकि अन्य प्रदेशमा २।८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी प्रतिशत ४० सम्म छ । यो प्रदेशमा रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्ला पर्छ ।

ताजा खबर