सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

२०७६ कार्तिक १९ मंगलबार १३:३४:०० मा प्रकाशित

बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले  ती विद्यालयका  शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ । 

वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षक कार्यरत छन् । 

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएकाले यसमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकार बताउँछन् । वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी अध्ययनरत रहेकामा तीन  शिक्षक कार्यरत छन् । वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८  विद्यार्थीका लागि १२ शिक्षक कार्यरत छन् भने मण्डलास्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थीका लागि चार  शिक्षक कार्यरत छन् । 

उक्त नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयले विद्यार्थीको अभाव जेल्दै आएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताए । सदरमुकामका कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो । 

जिल्ला शिक्षा समितिले पनि विद्यालय समायोजनको नीति बनाउन सकेको छैन् । सङ्घीय शिक्षा ऐन नै नआएका कारण अहिले नै समायोजनका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताए । रासस

ताजा खबर