दशैँको मुखमा तलब नपाउँदा महोत्तरीका शिक्षक हिस्स !

२०७४ असोज १० मंगलबार ०८:२२:०० मा प्रकाशित

महोत्तरी, १० असोज । दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । 

प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ । 

नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताईन्। वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उनको भनाइ छ । 

ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताए। 

यस सम्बन्धमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताए। 

यता महोत्तरीलगायत २ नं प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएपनि कार्यालय पूर्णरुपमा सञ्चालनमा नआएकाले शिक्षकले तलब पाउन नसकेको जिशिअ दाहालले बताए। 

यता भर्खरै स्थानीय तहको निर्वाचनको परिणाम आएकाले हरेक विद्यालयमा तलब पठाउने व्यवस्था भइरहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । जिल्लाभरिमा दुई हजारको हाराहारीमा शिक्षक कार्यरत रहेका छन् । रासस

ताजा खबर