सन्दर्भ हिन्दु राष्ट्रः धार्मिक माओवाद जन्माउने खतरा  

२०७६ कार्तिक १७ आइतबार १७:३३:०० मा प्रकाशित

प्रश्न गर्न निरुत्साहित गर्ने र उत्तर दिन भन्दा अन्ध विश्वासी बन्न सिकाउने धर्मले धार्मिक माओवाद मात्रै जन्माउँछ ।

. सनातन हिन्दुहरूका जन्मदेखि मृत्युसम्मका र बिहान उठेदेखि सुत्न ओछ्यानमा जाँदासम्मका, भोजनदेखि दिसा गर्ने र पिसाव फेर्नेसम्मका नियम छन् ।
निसन्देह ती विज्ञानसम्मत छन् ! गहिरिएर बिचार गर्दा ती आयु, आरोग्य, सुख, सम्पत्ति, यश, कीर्ति र सफलतासँग सम्वन्धित छन् । फलदायी छन् । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व समुदाय हित लक्षित छन् ।

. वेद,पुराण, उपनिषद् लगायतका प्राचीन हिन्दु साहित्यबारे खासै नजान्ने म जस्तो अज्ञानी मानिसले पनि तिनमा व्यक्ति र परिवार कल्याणदेखि राजनीति, समाज व्यवस्था, शिक्षा, स्वास्थ्य ,वातावरण सुद्धि र संरक्षण, दण्ड प्रशासन,कृषि, उद्योग, व्यापार, कर प्रणाली लगायतका यावत कुरा समेटिएको देख्दछ– पाउँछ !

३. वास्तवमा हिन्दु धर्म भनेको सामान्य अर्थमा धर्म नै होइन ! हिन्दु समाजमा धर्मलाई व्यवस्था, कानुन, समाजका सबैको दायित्व व्यवस्थापन र प्रकृतिको अर्थमा बुझिन्छ ।
ईश्वर माने पनि हिन्दु ईश्वर नमाने पनि हिन्दु ! ईश्वर मान–नमान तिम्रो खुशी, एक ईश्वर मान्ने पनि हिन्दु, बहु ईश्वर माने पनि हिन्दु ! आफ्नो कर्म गर, कर्तव्य पालन गर, ईश्वरको जति सुकै विरोध गर फरक पर्दैन । सर्वशक्तिमान शिव, विष्णु, दुर्गाको जति विरोध गरे पनि ती तिम्रै भक्त बन्दछन्, तिम्रो सफलताको लागि सहयोगी बन्न आउँछन । कर्म अर्थात् आफ्नो काम नै ईश्वर, आफ्नो कर्तव्य नै ईश्वर !

४. तर यति उदार, यति वृहत र फराकिलो धर्मलाई कर्मकाण्ड मात्रै बुझियो । अनि कर्मकाण्डी व्राहमणलाई, धर्मको आचरण नगर्ने र धर्मको व्यापार गर्ने केही मठाधीशहरूलाई मात्रै हिन्दु धर्मका ठेकेदार मानियो । व्याख्याता र प्रमाण मान्ने गरियो ! कर्महीन, पुरुषार्थहीन, आचरणहीन तर सहज सम्मानित जीवन यापनकालागि नेपालका राजनीतिक नेताले दल चलाए जसरी मठ संचालनगर्ने मठाधीशहरूलाई हिन्दु धर्मको ठेकदार मानियो ।

५. प्राचीन हिन्दु, वौद्ध धर्म,संस्कृति र सभ्यता अन्तर्गतका भाषा, ज्ञान, विज्ञान, दर्शन, साहित्य, कला र संस्कृतिको अध्ययन, विकास,प्रवर्द्धन र विस्तारगर्ने उद्देश्यले खोलिएका स्कूल, कलेज र विश्व विद्यालयहरू जय नेपाल र लाल सलामका स्तोत्र पाठ र पारायण स्थल भन्दा माथि उठ्न सकेनन् ।

६. देश विदेश देखेका–बुझेका, विदेशका प्रतिष्ठित विश्व विद्यालयहरूमा अध्ययन गरेका, हरेक कुरालाई तथ्य र प्रमाणको कसीमा घोटेर, प्रायोगिक र आनुभाविक परीक्षण गरेर सत्य ठहरिएका कुरालाई मात्रै स्वीकारगर्ने आधुनिक युवा युवतीहरूलाई काल्पनिक चमत्कार र तिलस्मको कथा –पुराण सुनाएर, रहस्यको पोको देखाएर, विश्वास गर भन्ने अनि अन्धविश्वासी बनाउने परम्पराबाट हिन्दुत्व माथि उठ्दैन । हिन्दु धर्म र संस्कृतिको बिकास र बिस्तार गर्न सकिन्न !

७. वेद, पुराण र उपनिषदमा दृष्टि लगाउँ त हिन्दु धर्मले त प्रश्न माथि प्रश्न गर्न सिकाउँछ र उत्तर दिनुलाई प्रथम कर्तव्य पो बुझाउँछ । त्यसैले युवा पुस्ताका हरेक प्रश्नको उत्तर चित्त बुझ्दो तरिकाले दिने सँस्था, संरचना निर्माण गरिनु पर्दछ । हिन्दु धर्म र संस्कृतिका विद्वान र पण्डितहरूलाई एउटा दुइटा केन्द्रमा जोडेर उनीहरूका ज्ञान र अनुभवहरूलाई समाजलाई उपलव्ध गराइनु पर्दछ । कम्तीमा एउटा वेवसाइट तत्काल खोलेर कसैका पनि धर्म र संस्कृति तथा धार्मिक आचार–बिचार सम्वन्धी जिज्ञासाहरू शान्त गराउन शुरू गरिहाल्नु पर्दछ ।

८. वास्तवमा प्रश्न नै विज्ञान हो र उत्तर ज्ञान–विज्ञान दुबै हो । प्रश्न गर्न निरुत्साहित गर्ने र उत्तर दिन भन्दा अन्ध विश्वासी बन्न सिकाउने धर्मले धार्मिक माओवाद मात्रै जन्माउँछ ।
त्यसैले प्रश्नलाई प्रोत्साहन गर्ने, प्रश्नकर्तालाई चित्त बुझाउने संरचना बेगरको हिन्दु राष्ट्र अभियानले हिन्दु राष्ट्र दिए पनि जोगाउन सक्दैन । अनि धार्मिक कट्टरता मात्रै आउने हो  मुलुकमा !

९. हो, हिन्दु राष्ट्रको अजेन्डाको राजनीतिक र रणनीतिक पक्ष पनि छ । यसमा नेपालको एकता, अखण्डता सुरक्षा र समृद्धिको पक्ष पनि जोडिएको छ । तर यो राजनीतिक र रणनीतिक पक्षको रक्षण र पोषणकालागि पनि यसको सुष्पष्ट धार्मिक र सांस्कृतिक पक्ष देखिनु पर्दछ, उभिनु र उजिलिनु पर्दछ ।

१०. हिन्दु धर्म, परम्परा र संस्कृतिबारे आमनेपाली नागरिक र खास गरेर युवाहरूका प्रश्न र जिज्ञासा शान्त पारिदिन सक्ने सँस्था र संरचनाको अभावमा मुलुक हिन्दु राष्ट्र घोषित गरिए पनि त्यो नाऊँ मात्रको हिन्दु राष्ट्र हुने छ । त्यसले धार्मिक, राजनीतिक र रणनीतिक कुनै उद्देश्य प्राप्त गर्न सक्दैन ।

अनि निष्ठाहीन राजनीतिक आस्था, असभ्य र अशोभनीय सत्तास्वार्थले थिलथिलो पारेको मुलुकलाई त्यस्तै निष्ठाहीन धार्मिक आचार, बिचार, अभ्यासको भरमा र सवल तथा सम्मानित राष्ट्रिय सँस्थाहरूको दर्विलो संरक्षकत्व विहीन हिन्दु राष्ट्रले मुलुकलाई कहाँ पुर्याउला ?

(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको समसामयिक रोचक टिप्पणी उनको फेसबूकबाट साभार/फायल तस्बिर)

ताजा खबर