अस्वस्थ प्रधानमन्त्री र किंकर्तव्यबिमूढ नेता

२०७६ कार्तिक १७ आइतबार १३:३४:०० मा प्रकाशित

यतिबेला समाचारका मुख्य शीर्षक छन् बिरामी प्रधानमन्त्री र यौन दुव्र्यवहारको अभियोग लागेका निवर्तमान सभामुख । एकजना सरकारी निवासमा बसेर अस्पताल धाईरहेका    छन् । अर्का चैं अस्पतालमा बसेर अदालतको कठघरामा उभिँदै बयान दिईरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि उत्पन्न स्वास्थ्य समस्याको उपचार गर्न नियमितजसो अस्पताल धाउनुपर्ने भएको बुझिएको छ । उनी पदीय जिम्मेवारीका हिसाबले प्रधानमन्त्री र नेकपाको अध्यक्षको भूमिकामा छन्, त्यसैले उनको शारीरिक अस्वस्थताले यी दुवैतिर प्रभाव पर्छ नै,परिरहेको पनि देखिन्छ । 

निवर्तमान सभामुख कृष्णबहादुर महराको प्रसंग फरक छ,उनी जननिर्वाचित संस्थाको उच्च पदमा रहँदा नै यौन दुव्र्यवहार अर्थात् जबर्जस्ती करणीको अभियोगमा कानूनी कार्बाहीको प्रक्रियामा छन् । तर महरा अनुसन्धानको कठघरामा परिसकेपछि संसदले नेतृत्व पाउन सकेको छैन । यसबारेमा पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल छिटो निर्णय गर्नुपर्छ भन्नेमा त्यतिसारो चिन्तित देखिँदैनन् । संसदलाई नेनृत्वविहीन राखिरहनु उपयुक्त होइन,यो त एककिसिमले जनअभिमतको अपमान पनि हो ।

अस्वस्थ प्रधानमन्त्रीको उचित उपचार हुनुपर्छ । तर यता केपी शर्मा ओली प्रधानमन्त्री र अध्यक्षको दुइ दुइवटा महत्वपूर्ण जिम्मेवारीमा रहँदाको चाप र अस्वस्थ हुँदाको प्रभावको बारेमा सत्तारुढ दलका नेता किँकर्तव्यबिमूढ देखिन्छन् । उनीहरु न प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाव दिने आँट गरिरहेका छन् न त शासन,प्रशासन र राजनीतिक अलमललाई गति दिन नै अग्रसर भैरहेका छन् । यस्तो सुस्तताले सिँगो देश एउटा अलमलको स्थितिबाट गुज्रिरहेको छ,जसलाई सत्तारुढ होस् कि प्रतिपक्ष कुनै पनि दलले रमिता हेरेर बसिरहन मिल्दैन । प्रधानमन्त्रीको स्वास्थ्य उपचार ख्यालठट्टाको बिषय पनि होइन तर यसो भनेर उनको अस्वस्थता नै राष्ट्रिय गतिहीनताको कारण बन्नु हुँदैन । यसो नहुन अरु बलिया बांगा नेताले हात बाँधेर अन्यमनष्क अवस्थामा बसिरहनु पनि हुँदैन । अहिले भैरहेको छ यस्तै । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सिंगापुरमा पनि उपचार गराएका थिए । ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि पटक पटक सिंगापुरमा स्वास्थ्य परीक्षण गरिएका हो । पछिल्लो पटक उनको मिर्गौलाको ‘एन्टिबडी’ उपचार भएको बताईएको थियो । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल प्लाज्माफेरेसिस गरिएको बताईएको थियो । 

उपचारमा सिंगापुर बस्दा प्रधानमन्त्री ओलीले दुइपटक त्यहीँबाट मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गरेका थिए । यद्यपि सरकारी प्रवक्ताले यसलाई अर्कै अर्थमा बुझ्न सल्लाह  दिएका थिए । यसबारेमा बहस चलिरहेकै छ, प्रविधिको प्रयोग गर्ने नाममा मन्त्रीपरिषद्को बैठक नै त्यसरी गर्नु हुन्थ्यो कि हुँदैनथियो भनेर । कतिपयले राष्ट्रको गोपनीयताको प्रश्न समेत उठाईसकेका छन् ।

  नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले यसवीच ठूलो राजनीतिक दौडधुप गरेको कुरा सबैलाई जानकारी भएकै बिषय हो । उनले त्यही अनुसारको उपलव्धि समेत हासिल गरिसकेका छन् । पार्टीको नेतृत्व लिनेदेखि दुइ–दुइ पटक प्रधानमन्त्री हुनेसम्मको उपलव्धि ओलीले हासिल गरिसकेका छन् । अझ दोस्रोपटक त दुइ विपरित धु्रवका कम्युनिष्ट पार्टीलाई एक गराएर दुइतिहाई बहुमत प्राप्त दलको सरकार प्रमुख नै बन्ने पहिलो वामपन्थी नेता बनेका छन्– ओली । एउटा राजनीतिक व्यक्तिको जीवनमा यो चानचुने उपलव्धि होइन ।

हालैको स्वास्थ्य परीक्षणका क्रममा प्रकाशमा आएका विवरण अनुसार, यतिबेला ओली गम्भीर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेको बुझ्न सकिन्छ । उनको बलियो इच्छाशक्तिले मात्र धान्न कठिन हुनेगरी स्वास्थ्य अवस्था चुनौतिपूर्ण रहेको स्वास्थ्यविज्ञहरु बताईरहेका छन् । पहिलो पटक ओली आफैंले मिर्गौलाले अलिक दुख दियो भनेर प्रतिक्रिया दिएका छन् । यसअघि उनको मुखबाट यस्तो निराशाजनक शब्दहरु सुनिएको थिएन । एकातिर दुइतिहाई बहुमतको प्रभावकारिता सिध्द हुन नसकिरहेको अवस्था र आफ्नै नेतृत्वमा उल्लेख्य काम गर्ने महत्वाकांक्षाको लामो तर अपूरो कार्यसूचि, यी दुइ कुराले पनि प्रधानमन्त्री ओलीलाई चर्को मानसिक दवाव पारिरहेको बुझ्न सकिन्छ । यसो हुनु अस्वाभाविक पनि होइन । इतिहासले उनलाई बलियो बहुमत र जनसमर्थन जुन उपलव्ध गराएको छ, यसको बढिभन्दा बढी उपयोग गर्न चाहनु कुनै पनि प्रधानमन्त्रीको स्वाभाविक महत्वाकांक्षा हो । प्रतिकूल स्वास्थ्य अवस्था र कार्यकारी कार्ययोजनाको चिन्ताले प्रधानमन्त्री ओलीलाई थप क्लान्त बनाईरहेको बुझ्न सकिन्छ । यस्तोमा इच्छाशक्तिले मात्र भर दिन सक्दैन । 

त्यसैले प्रधानमन्त्री ओलीमाथि परिरहेको यस्तो दोहोरो चाप र तापलाई ध्यानमा राखेर नेकपाका नेताहरुले ओलीलाई आराम गर्ने सल्लाह दिनुपर्छ, कुनै राजनीतिक दाउपेचबिना उनलाई यस्तो सल्लाह दिन नेताहरुले आँट गर्न सक्नुपर्छ । तर ओली पछिका कुनै पनि नेता उनलाई यस्तो सल्लाह दिन आँट गरिरहेका देखिँदैनन् । उनलाई अभिभावकीय भूमिकामा रहन र कम्तीमा सरकार प्रमुखको दौडधुप व्यस्तताबाट अलग बस्न सुझाव दिनुपर्ने समय आएको छ । त्यसपछि उनकै सल्लाह सुझावमा सरकारको नेतृत्वमा विकल्प दिनुपर्छ । यो कुरा स्वयं प्रधानमन्त्री ओलीको हितमा छ भने देशले पनि यसको आवश्यकता महसुस गरिरहेको छ । यसमा अब विलम्व गर्नु कुनै किसिमले पनि वुध्दिमानी देखिँदैन । पूर्ण रुपले आराम गरी आफ्नो शरीरलाई पूर्ण स्वस्थ्य बनाउनु प्रधानमन्त्री ओलीको अधिकारको हो । उनलाई यसमा सहयोग उपलव्ध हुनुपर्छ र पूर्ण सफलता पनि मिल्नुपर्छ ।
 
 

ताजा खबर