गायक राजेशको संगीत सँगालो  ‘अभ्यर्थना’ सार्बजनिक

२०७४ असोज ८ आइतबार ११:०४:०० मा प्रकाशित

काठमाडौं । सुमधुर स्वर र कर्णप्रिय संगीत सिर्जनाका धनी राजेश चाम्लिङको सांगीतिक यात्राको दोस्रो उपहार  ‘अभ्यर्थना’ सार्बजनिक भएको छ । 
उनले आफ्ना स्रोता र दर्शकका लागि दशैं उपहार जसरी तयार गरेको यो गीतको सँगालो शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा संगीतकार गणेश रसिकको प्रमुख उपस्थितिमा सार्बजनिक भएको हो ।

साथै गीतकार अशोक वान्तवा, गायक तथा संगीतकार चाम्लिङलगायतले पनि  ‘अभ्यर्थना’ एल्बम सार्वजनिक गर्न रसिकलाई सघाएका थिए।

गायक तथा संगीतकार रसिकले गायक चाम्लिङका गीतहरु मन छुने किसिमका रहेको टिप्पणी गरे । उनले आम श्रोताले यसलाई मनपराउनेमा विश्वास पनि व्यक्त गरे । ‘पछिल्लो समयमा म्युजिक भिडियो अनिवार्य बनिसकेको छ । एल्बममा रहेको गीत अनुसार भिडियो पनि मर्मस्पर्शी लाग्यो,’उनले भने,‘आगामी दिनमा गायकले अझ राम्रा गीतहरु ल्याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

गायक चाम्लिङले सानैदेखिको संगीत प्रतिको रुची र सांगीतिक गुरु दाजु हस्त चाम्लिङको प्रेरणाले संगीत क्षेत्रमा पाइला चालेको बताए । एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् । गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन् ।

कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीमबहादुर बम्जन हुन् । भिडियोमा गायक राजेशसहित सुस्मिता बस्नेत र अल इन वान ग्रुपले फिचरिङ गरेका छन् । २०५७ सालबाट औपचारिक रुपमा संगीत शुरु गरेका राजेशले २०६८ सालमा पहिलो एल्बम ‘स्पर्ष’ बजारमा ल्याएका थिए । उनले हालसम्म २० वटा गीत लेखन, ६० गीतमा संगीत र ४० वटा गीतमा स्वर दिइसकेका छन् ।

ताजा खबर