चीनमा उपभोक्ताले पनि प्रयोग गर्न थाले मोबाइलमा फाइभ जी

२०७६ कार्तिक १५ शुक्रबार १४:२५:०० मा प्रकाशित

चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका छन्। राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन्।

प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ। व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो। दक्षिण कोरिया, अमेरिका र यूकेले यही वर्ष फाइभ जी सुरु गरिसकेका छन्।

के हो फाइभ जी?

फाइभ जी मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता हो। यसबाट सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ। यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ। चिनियाँ दूरसञ्चार कम्पनीहरू आगामी वर्ष फाइभ जी सेवा सुरु गर्ने योजनामा थिए। तर त्यो योजना परिवर्तन भयो र फाइभ जी चाँडै सञ्चालन आयो।

कहाँ उपलब्ध छ?

फाइभ जी सेवा बेइजिङ र शाङ्घाईसहित चीनका ५० वटा सहरमा उपलब्ध छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार १२८ यूआनदेखि ५९९ यूआन (करिब २,००० देखि ९,६०० नेपाली रुपैयाँ) प्रतिमहिना शुल्क तिरेर यो सेवा लिन सकिन्छ।

फाइभ जी सञ्जाललाई सबल बनाउन यो वर्षको अन्त्यसम्ममा १,३०,००० वटा बेस स्टेशनलाई क्रियाशील बनाइने सरकारले जनाएको छ। त्यसो हुँदा यो संसारकै सबैभन्दा ठूलोमध्ये एउटा फाइभ जी सञ्जाल हुने बताइएको छ।

अमेरिकी प्रतिबन्ध किन?

प्रविधिको क्षेत्रमा चीन र अमेरिकाबीच भइरहेको सङ्घर्षमा चिनियाँ प्रविधि कम्पनी ह्वावेई पनि देखिएको छ। ह्वावेईले चीनको फाइभ जी सेवाका लागि ठूलो परिमाणमा उपकरण उपलब्ध गराएको छ। फाइभ जी सञ्जाल विस्तारका लागि आवश्यक उपकरणको विषयमा उसको अरू देशसँग पनि वार्ता भइरहेको छ।

तर उक्त कम्पनीको उपकरण प्रयोग गर्दा राष्ट्रिय सुरक्षा जोखिममा पर्ने भन्दै अमेरिकाले ह्वावेईलाई कालोसूचीमा राखेको छ। आफ्ना साझेदार राष्ट्रहरूले पनि ह्वावेईका उपकरण प्रयोग नगरून् भनेर अमेरिकाले चेतावनी दिने गरेको छ। ह्वावेईले चीन सरकारका लागि जासुसी गर्न सक्ने अमेरिकी आशङ्का छ। तर ह्वावेईले अमेरिकी आरोप र आशङ्काको खण्डन गर्ने गरेको छ। चीनको बढ्दो आर्थिक प्रभावका कारण अमेरिकाले चीनलाई निरुत्साहित पार्न ह्वावेईलाई प्रतिबन्ध लगाएको धेरै चिनियाँको विश्वास छ।

ताजा खबर