'यो उमेरमा एउटा महाकाव्य लेखिसक्न नपाएर झोक्राएको झोक्राएकै छु'

२०७४ असोज ७ शनिबार १५:५६:०० मा प्रकाशित

काठमाडौं । सँधै झैं यसपटक पनि आयो ७ असोज राष्ट्रकविको जन्मदिवस लिएर । आजबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे ९८ वर्ष पूरा गरेर ९९ औं वर्षमा पदार्पण   गरे । राष्ट्रकविले जन्मदिवसको पहिलो दिन आफूभन्दा ८२ वर्ष कान्छो उमेरका एक विद्यार्थीको कविता संग्रह लोकार्पण गरेर सुरु गरे । लैनचौर कालधारामा आफ्नै घरछेउको एउटा आँगनमा भेला भएका साहित्यप्रेमीमाझ उनले जीवन र जगतको महत्वका बारेमा गम्भीर चर्चा पनि गरे ।

केही समययता लेख्दै गरेको एउटा महाकाव्य यो जन्मदिवसमा लोकार्पण गर्ने लक्ष्य राखेका राष्ट्रकविले विनोदपूर्ण शैलीमा भने – ‘ म बूढो यो उमेरमा एउटा महाकाव्य लेखिसक्न नपाएर झोक्राएको झोक्राएकै छु । ’ उनले नवोदित कवि विनिष गिरीको ‘जीवन के हो’ शीर्षकको कविता  संग्रह लोकार्पण गरे ।

 उमेरले शताव्दिको नजिक पु्याउँदा पनि उनको सिर्जनशील उर्जा घटेको छैन । लेखन जारी छ र प्रशन्नताको झरना झरेको झरेकै छ । राष्ट्रकविको योजना थियो यो जन्मदिनमा एउटा महाकाव्य लेखिसिध्याएर विमोचन गर्ने । तर सम्भव भएन । उनले भने,‘ तीन वर्षयता आएर लेख्ने वेग कम भएको छ ।’

उनको शव्द कोषमा थकाई नामको शव्द निषेधित छ । उनी अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखिरहेका छन् ।

‘यति धेरै बाँचिरहेको छु मलाई नै आश्चर्य लागिरहेको छ । नेपाली दाजुभाई दिदीबहिनीको अपार माया र आशिर्वादले गर्दा मैले यति लामो आयु पाएको छु’ सरल पत्रिकासँग कुरा गर्दै राष्ट्रकविले भने,‘ यही उर्जाले त मलाई वृध्द अवस्थामा पनि लेखिरहने जाँगर चलेको छ ।’

विसं १९७६ सालको यही दिन अर्थात् असोज ७ गते लमजुङ जिल्लाको उत्तरीभेगको पुस्तुन गाउँ , बाहुनडाँडामा जन्मिएका थिए उनी।


राष्ट्रकविको जीवनमा अटुट रुपमा ताजगी बनाईराख्ने रहस्य कुनै नयाँ विषय छैन । योग र ध्यानको अविच्छिन्न साधना नै यसको मूल कारण हो । उनी भन्छन्–‘ योग र ध्यानलाई जसले जीवनको अभिन्न अंग बनायो उसले संसार जित्यो ।’

राष्ट्रकविले भने ‘मलाई जीवनमा तीनवटा कुरा प्रिय छन । ती हुन, कविता, प्रेम र योग ।’

योगको रहस्यबारे उनको मीठो उदाहरण यस्तो छ, ‘एउटा पुतली सललल उडेर आएर फूलमा वस्यो भने योग भयो’, उनी भन्छन, ‘नीलो आकाश हेरेर आनन्दित हुनु पनि योग हो । योग हो, जीवनमा सन्तुलन । आसन, प्राणायाम र ध्यान हुँदै आत्मसाक्षात्कारसम्म पुग्नु नै योग हो।’
‘आई कहिल्यै नसकिने
चैत वैशाख मेरो,
लाई कहिल्यै नसकिने 
प्रीत नौलाख मेरो ।’

राष्ट्रकवि घिमिरेको जीवनमा कवितामा भनिए झैं अझै पनि उस्तै छ, वसन्तको बहार । अब उमेरले सय टेक्न अब केवल दुई वर्ष मात्र बाँकी छ । यो बृद्धवयमा पनि उनको जीवनमा आएकै छ, चैत वैशाख । पुराना कुरा सम्झँदा उनी कहिले रोमाञ्चित हुन्छन् त कहिले द्रवित ।

उनी डेढ वर्षको छँदा आमाको निधन भयो । त्यसपछि बुबाले कान्छी आमा नर्मदालाई भित्र्याए । कान्छी आमाको वात्सल्यमा हुर्कने क्रममा सानोमा उनी बालसखाहरुसँग बाख्रा हेर्न र गाई चराउन जान्थे । फाँटमा गएर गिर खेल्थे । त्यो जमानामा पढाई कस्तो हुन्थ्यो भने औंसी पूर्णिमा छुट्याउन सक्ने र रुद्री र चण्डी पाठ गर्नसक्ने भएपछि पुग्थ्यो । ‘त्यहाँभन्दा बढी पढेमा घिमिरेलाई फाप्दैन भन्थे गाउँलेहरु । मलाई त पढाई फाप्यो बा’, कविवर भन्छन् ।


पन्ध्र वर्षको उमेरमा उनी पढ्न भनी आफ्नो घरभन्दा दश किलोमिटर तलको भाषा पाठशालामा भर्ना भए । त्यहाँ संस्कृत मात्र पढाईन्थ्यो । तर उत्कृष्ट अंक ल्याएर पास हुने विद्यार्थीलाई पुरस्कार स्वरुप नेपाली भाषाका पुस्तकहरु पनि दिईन्थ्यो । घिमिरेले पनि पाठशालामै पुरस्कार स्वरुप पाएको संक्षिप्त महाभारत, रामायण र लेखनाथ पौड्यालका कविता पढ्ने मौका पाए । ‘स्कुलवयमै ममा कविताको संस्कार बसेको हो, पढाईसँगै कविता पनि लेख्न थालें’, कविवर सम्झन्छन, ‘कविता आफैं बन्ने नभई, मजस्तै मानिसले लेख्ने रहेछन् भन्ने थाहा पाएँ । १९९३ सालमा सत्र वर्षको उमेरमा मेरो पहिलो कविता गोरखापत्रमा छापियो ।’

 
प्रथमा तहको पढाई पूरा गरेपछि अठार वर्षको उमेरमा उनी आए, काठमाण्डौ । ‘त्यसबेला काठमाण्डौ हैन, नेपाल जाने भन्थे’, कवि सम्झन्छन, ‘सात मोहर साथमा लिएर नेपाल आएको ।’ संस्कृत पाठशाला९पाकशाला०बाट उनले प्रथम श्रेणीमा उत्तर मध्यमा र शास्त्री तह पूरा गरे । त्यसबेला दर्शन शास्त्र र ज्योतीष शास्त्र निकै कठिन विषय मानिन्थे । उनको विषय थियो, दर्शन शास्त्र। ‘मलाई कोर्षको विषय त तातो पिँडालु निलेजस्तो हुन्थ्यो’, कवि भन्छन, ‘त्यसैले म संस्कृत साहित्यकारका कृति खोजेर पढ्थें । राणाले पुस्तकालय खोल्न दिँदैनथे । तैपनि हामी लुकीलुकी भारतीय साहित्यकार रविन्द्रनाथ ठाकुर र शरद्चन्द्रका कथाहरु रातभर रोइरोई पढ्थ्यौं ।’

शास्त्री पढ्ने बेलामा घिमिरे नेपाली भाषा प्रकाशिनी समितिको भाषा अनुवाद परिषदमा सम्बध्द भए । तीन वर्षीय योजना थियो, उनको आर्थिक खर्च पनि त्यसैबाट तत्कालको आवश्यकता निर्वाह भयो । त्यसपछि उनी गोरखापत्रको सम्पादकीय विभागमा जागीरे भए।

२००४ सालमा श्रीमती गौरीको देहान्त भयो। त्यसपछि उनी आधार शिक्षाको तालीम लिएर लमजुङ पुगे, जहाँ स्कुल स्थापना गरेर शिक्षणमा संलग्न रहे । २००८ सालको अन्त्यतिर काठमाण्डौ फर्कंदा मुलुकमा राणा शासन ढलिसकेको थियो। काठमाण्डौमा त्रैलोक्यनाथ उप्रेतीमार्फत उनी ‘टिचर्स ट्रेनीङ सेन्टर’मा सम्बध्द रहेर नेपाली विषय पढाउन थाले। ‘कथाकार रमेश विकल, बासु शशी सबै मेरा चेला हुन’, उनी भन्छन्। २०१४ सालमा प्रज्ञा प्रतिष्ठान स्थापना भएपछि माधव घिमिरे प्रज्ञाको संस्थापक सदस्य भए । २०२८ सालमा आजीवन सदस्य भएर बाहिरिए । तर २०३६ सालमा प्रज्ञाको उपकुलपती भए। २०४६ सालमा कुलपती भए। ‘झगडा–तगडा सुन्नुभन्दा एकान्तमा बस्नु बेस भनेर एकेडेमी छाडें’, उनी सम्झन्छन, ‘नयाँलाई मौका दिनुपर्छ भनेर पनि हो।’

राष्ट्रकविका हालसम्म ‘गौरी’, ‘राष्ट्र निर्माता’, ‘धर्ती माता’, ‘पापीनी आमा’, ‘राजेश्वरी’, ‘नव मंजरी’, ‘नयाँ नेपाल–खण्ड काव्य’, ‘मालती मंगले – गीति नाटक’, ‘आफ्नै बाँसुरी आफ्नै गीत–निबन्ध संग्रह’, ‘शकुन्तला–नाटक’, ‘किन्नर किन्नरी–कविता संग्रह’, ‘बाल लहरी’ र ‘घामपानी–बाल कविता संग्रह’ प्रकाशित छन्। उनले केही नाटक र कविता संग्रहको अनुवाद पनि गरेका छन् ।

२०६२ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला कविवर माधव घिमिरेलाई राष्ट्रकवि घोषित गरियो ।

 
पहिले पहिले उनले धेरैजसो राष्ट्रिय परिवेशका कविता र गीत लेखे। ‘एउटा नेपालीले अहिलेको विश्वलाई कसरी हेरिरहेको छ त भनेर मैले अन्तर्राष्ट्रिय परिवेशमा हात हालें। ‘अस्वस्थामा’ लेखें। अस्वस्थामाको सीमा महाभारतमा मात्र सिमीत थियो, तर अहिलेको अस्वस्थामाले बनाउने न्यूक्लीयर हतियारको दुरुपयोग भयो भने त विश्व नै ध्वस्त हुन्छ’, उनी भन्छन् । तर ‘अस्वस्थामा’मा नकारात्मक दिशामा गएको विश्वबारे लेखिएकाले अब सकारात्मक पक्षबारे उनी नयाँ महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका छन् ।

‘देश र काललाई मानिसले जितिसक्यो, मानिस त एउटा कोठामा केन्द्रीत भईसक्यो’, राष्ट्रकवि भन्छन, ‘तर यो भौतिक रुपले मात्र भयो । अहिले जसरी भौतिक रुपमा विश्वव्यापीकरण भईरहेको छ, अव त्यसलाई भावनात्मक रुपमा पनि एक बनाउनुपर्छ । त्यसैका लागि महाकाव्य लेख्दैछु ।’

कविता, प्रेम र योग

उनी विहान ६ बजे उठछन्। पहिले उनी चुरोटका अम्मली नै थिए। तर अचेल चुरोट खान छाडेका छन्। अध्यात्ममा रुची छ । ‘म इश्वर मान्छु, तर आकार जे बनाए पनि हुन्छ, त्यसले फरक पार्दैन’, उनी भन्छन्। अचेल उनी विवेकानन्दको पुस्तकहरु पढिरहेका छन्। अरविन्द र ओशो रजनीश सबैका पुस्तक मनपर्ने उनी बताउँछन। ‘तर यी सवैको विचारको मूल त विवेकानन्द नै रहेछन’, उनको ठम्याईँ छ।

राष्ट्रकविको दीर्घायूको रहश्य पनि कविता, प्रेम र योग हो । त्यसैले उनले छाडेका छैनन् कविता लेख्न, प्रेम गर्न र योग गर्न ।

ताजा खबर