प्रमको स्वास्थ्य-स्थिति र देशको राजनीति

२०७६ कार्तिक १५ शुक्रबार ०७:४०:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति अत्यन्तै  सम्वेदनशील अवस्थामा पुगेको देखिन्छ । खेदको विषय चाहिँ के छ भने शारीरिक र मानसिक दुवै रूपले दिन- प्रतिदिन कमजोर हुँदै जानु भएका ओली महोदयलाई देखाएर सत्ताको चरम् दुरुपयोग गरिरहेको सत्तासिन नेकपा भित्रको एउटा भुइँफुट्टा समूहचाहिँ अझै पनि उहाँको स्वास्थ्य सामान्य नै रहेको प्रोजेक्सन गर्ने भरमग्दुर प्रयास गरिरहेको छ । पछिल्लो पटक त्यस सत्ताखोर दुष्ट समूहको यस्तो कुत्साहपूर्ण डिजाइनमा ग्र्याण्डी अस्पतालसमेत सामेल भएको देखिनु अर्को दुर्भाग्यपूर्ण विषय हो ।

ग्र्याण्डीका प्रमुख चिकित्सक चक्रराज पाण्डे र प्रधान्मन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या शाहले संयुक्त हस्ताक्षर गरी जारी गरेको प्रमको स्वास्थ्यसम्बन्धी बुलेटिनमा उहाँ सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना हुनुभएको र खासै कुनै त्यस्तो जटिलता नदेखिएकोले उहाँलाई अस्पतालबाट छिट्टै डिस्चार्ज गरिने कुरा उल्लेख गरिएको थियो । यथार्थताको आलोकमा भने त्यो जानकारी पूरै गलत र भ्रामक थियो । यस मामिलालाई लिएर ती दुई डाक्टरले 'आफूले उपचार गरिरहेको कुनै पनि बिरामीको स्वास्थ्य स्थितिका बारेमा झुटो विवरण दिनु नहुने' चिकित्सासम्बन्धी आचारसंहिताको निर्लज्जतापूर्वक उल्लङ्घन गरेका थिए । ती दुई योग्य चिकित्सकले नैतिक र कानूनी दुवै दृष्टिले त्यस्तो गलत विज्ञप्ति किन र कसका लागि जारी गरेका थिए भन्ने कुराको खुलासा हुन बाँकि छ । यथासमय यसभित्रको सत्यकथा बाहिर आउला भन्ने आशा गरौँ ।

प्रमका प्रमुख सल्लाहकार विष्णु रिमालहरूले जस्तोसुकै प्रयत्न गरेर ढाकछोप गर्न खोजे पनि यथार्थमा ओली महोदयको स्वास्थ्य अत्यन्त क्षीण अवस्थामा पुगिसकेको छ भन्ने कुरा सार्वजनिक हुन धेरै समय लागेन । सारा दुनियाँलाई छिट्टै थाहा भयो -  करीब १२ वर्ष पहिले प्रत्यरोपण गरेको उहाँको मिर्गौलाले काम गर्न लगभग छोडिसकेको छ । मिर्गौलाले छानेर उहाँको शरीरबाट बाहिर निकाल्नुपर्ने दुई-तीन किसिमका विकारयुक्त रसायनहरू उहाँको शरीरभित्रै जम्मा भएका छन् र तिनको मात्रा अत्यधिक, ज्यानकै जोखिमको हदसम्म बढिसकेको छ । चिकित्साशास्त्रका हिसाबले प्रमको स्वास्थ्यको यो साँच्चिकै जटिल अवस्था हो र उहाँलाई बँचाएर सामान्य अवस्थामा ल्याउने हो भने यस अवस्थाबाट छिटोभन्दा छिटो बाहिर निकाल्न ढिलो गर्ने जोखिम उठाउँन हुँदैन ।

मानिसको मिर्गौलाले काम गर्न छोड्न थालेको अवस्थामा  उपचारका दुईवटा विधि अपनाउँन सकिन्छ १) मिर्गौलाको पुन: प्रत्यारोपण र २) हेमोडायलिसिस । मिर्गौला पुन:प्रत्यरोपण एकदमै जटिल र अधिकांश मामिलामा पूरै जोखिमपूर्ण उपचार पद्धति हो । रोगीको उमेर बढी छ र शरीर पनि रुग्ण भइसकेको छ भने त्यस्तो पाको र रुग्ण शरीरले दोस्रोपटक हाल्न खोजिएको मिर्गौलालाई स्वीकार नगर्न सक्छ । त्यसमाथि  मिर्गौला फेर्ने काम तुरुन्ता तुरुन्तै हुन सक्दैन । मिल्ने मिर्गौला र दाता पाउनु पर्‍यो, प्रत्यारोपणको जटिल शल्यक्रियाका लागि रोगीको शरीर उपयुक्त र तयार हुनुपर्ने लगायतका समस्याको समाधान भएपछि मात्र मिर्गौलाजस्तो भित्री र प्रमुख अंगको प्रत्यारोपणको काम अगाडि बढ्न सक्छ ।

यो, दु:खलाग्दो तर तीतो सत्य हो कि प्रधानमन्त्री ओली महोदयको उमेर र स्वास्थ्य-स्थितिले उहाँको शरीरमा फेरि एकपल्ट नयाँ मिर्गौला हाल्ने सम्भावना लगभग छँदैछैन । उहाँको स्वास्थ्यलाई लिएर हामी शुभचिन्तकहरूले कामना गर्ने भनेको १२ वर्षअघि फेरिएको उहाँको मिर्गौलाले राम्रोसँग काम गरिरहोस् र उहाँ आगामी केही वर्षसम्म हाम्राबीच रहेर अनेक चुट्किला र कौतुकपूर्ण कुरा गर्दै हाम्रो चित्तलाई प्रसन्न पारिरहनु होस् । स्वास्थ्य विज्ञानका दृष्टिले यो कामना असम्भव हुँदै होइन । मैले चिनेका नेपालीमध्ये डाक्टर चन्द्रवीर गुरुङ, डाक्टर कुमारबहादुर जोशी, सञ्चारकर्मी यज्ञनिधि दाहालका फेरिएका मिर्गौलाले १२ वर्षभन्दा निकै बढी समयसम्म राम्रैसँग काम गरेका थिए ।

दु:खको कुरा, प्रम ओलीको प्रत्यारोपित मिर्गौला कमजोर भई उहाँको शरीरमा हानिकारक रसायन ठूलो मात्रामा जम्मा भएको छ । यो कुरो पछिल्लो पटक उहाँ भर्ना भएको ग्र्याण्डी अस्पतालका प्रमुख डाक्टर चक्रदेव पाण्डेले पत्रकार सम्मेलन गरेर स्वीकार गर्नुभएको छ । पाण्डेका अनुसार ओली महोदयलाई गत हप्ता नै २ पटक हेमोडायलिसिस दिइसकिएको छ भने आइन्दा केही समयसम्म उहाँमाथि हप्ताको २ पटक डायलिसिस उपचार पद्धति नै चलाइनेछ ।

डाक्टर पाण्डेद्वारा गरिएको प्रमको रोगको डाइग्नोसिस र उहाँले  उपचारको लागि चलाउनु भएको औषधिलाई हेर्दा एउटा कुरा प्रष्ट हुन्छ: प्रम ओलीको स्वास्थ्य नाजुक (क्रिटिकल) अवस्थामा पुगेको छ । डायलिसिस मिर्गौलाको सट्टा काम गर्ने संयन्त्रका रूपमा चलाइने उपचारको अस्थायी उपकरण हो जसको आधारमा मात्र रोगीलाई लामो अवस्थासम्म स्वस्थ राखिरहन सम्भव हुँदैन । मिर्गौला फेल भएको बिरामीको दीर्घायु मिर्गौलाले मात्रै गराउँन सक्छ । त्यसैले उहाँ स्वस्थ र सक्षम हुनुहुन्छ भन्ने जुन दावी उहाँ स्वयम् र उहाँको वरिपरि घेरा बाँधेर बसेकाले गरिरहेका छन्, त्यो नेपाली जनतामाथि गर्न खोजिएको धोखेबाजी मात्र हो ।

संघीय गणतन्त्र नेपालका सार्वभौम जनताले मिर्गौलाको कडा रोग लागेका कारण शारीरिक रूपले अस्वस्थ भई आफ्नो कर्तव्य पूरा गर्न असमर्थ बन्न पुगेका केपी ओलीजस्ता रुग्ण व्यक्तिलाई देशको कार्यकारी प्रमुखका रूपमा स्वीकार गरिरहनु पर्छ भन्नू एउटा अत्याचार नै हो । साथै, यसलाई ओली महोदय र उहाँका साथीहरूले गर्न खोजेको 'कुनै पनि राज्यको शासकीय प्रणालीमा व्यवस्था गरिने कार्यकारी पदमा पुग्ने व्यक्तिले पदत्याग गर्नुपर्ने अवस्था सम्बन्धी प्रावधान' को धज्जी उडाउने निर्लज्ज प्रयत्नका रूपमा पनि लिन सकिन्छ । हाम्रो देशको वर्तमान शासकीय प्रणाली कुनै राजतन्त्र जस्तो होइन नि जहाँ एकपल्ट राजा भएको व्यक्ति रोगी वा पागल नै किन नहोस् गद्दीबाट ओर्लिदैन, आफ्नो तानाबाना चितामा पुगेपछि मात्र बुझाउने गर्दछ ।

डायलिसिसपछिको सिथिल शरीर अस्पतालको बेडमा बिसाएर मलिन मुद्राका केपी ओली महोदयले आफू पूर्ण स्वस्थ रहेको र छिट्टै नियमित कामकाजमा फर्कने घोषणा गरिरहेको दृश्य साँच्चिकै टिठलाग्दो देखिएको थियो । त्यस दृश्यले सत्तासिन नेकपा संसदीय दलका ती तमाम सदस्यलाई पनि ओली महोदयको चाला देखेर निश्चय नै पनि घोरिन बाध्य बनाएको हुनु पर्छ । ओली महोदयले उहाँको दल र सायद उहाँलाई समेत्  विश्वास गरेर नेपाली जनताले वि. स. २०७४ को आम चुनावमा दिएको सुविधाजनक बहुमत आफ्नो अहङ्कार, अल्पदृष्टि, निहित स्वार्थ र पाखण्डका कारण पूरै खेर हाल्नु भएको छ । प्रम भएका दिनदेखि उट्पट्याङ वाक्विलास गर्दै आएकाले उहाँको बोली र कामका बीच १०००:१ को अनुपातमा पनि सन्तुलन देख्न पाइएको छैन । अलि कठोर भएर भन्ने हो भने ओली महोदयले सारा कम्युनिस्टहरूलाई नै गरिखान नसक्ने वर्ग बनाएर छोडिदिनु भएको छ ।

नेपाली ब्रेकएनलिंक्समा हरि अधिकारी लेख्छन्- मेरो विचारमा अस्वस्थ ओलीलाई तनावरहित अवस्थामा स्वास्थ्य उपचार गराउने समय उपलब्ध गराउँनका लागि प्रम पदबाट राजिनामा गराउँन नेकपाका सांसद नै अगाडि आउनु पर्दछ । एक बिरामी व्यक्ति र उहाँका भारदारको सत्तालिप्साको वेदीमा पूरा पार्टी र प्रकारान्तरमा सारा देशले नै पीडा भोगिरहन सक्दैनन्, त्यस्तो हुन दिनु हुँदैन ।

ताजा खबर