इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालीहरुले केसम्म गरेका थिए ?

२०७४ असोज ७ शनिबार ११:५४:०० मा प्रकाशित

हिजो नेपाल आइडल उपाधिको घोषणाभयो। १० वर्षअघि सन् २००७ मा इन्डियन आइडलको सिजन ३ मा नेपाली मूलका प्रशान्त तामाङलाई जिताउन नेपालीहरुले के केसम्म गरेका थिएरु त्यतिबेला इलाममा रहेर नजिकैको दार्जीलिङमा समेत गएर स्थलगत रिपोर्टिङ गरेका पत्रकार बेनुप भट्टराईको डायरी यस्तो छ।

निर्णायकको सधैंको आलोचना, गायन तालिमको अभाव र प्रतिस्पर्धीबाट हुने हेलाहोचोका बावजुद दार्जिलिङका प्रशान्त तामाङ जब इण्डियन आइडल बन्न सफल भए उनको जतासुकै चर्चा चलिरहेको छ । साताअघि आइडल भएको खुसीयाली मनाउनेक्रम अझै जारी छ । यही सिलसिलामा प्रशान्त आइडल भएपछि दार्जिलिङमा छाएको हर्षबढाईं र खुसीको लहरबारे दुई दिनअघि समाचार सम्प्रेषण गर्दै इमेल चेक गर्दैथिएँ, म त तीनछक्क परें । चौविस घण्टामा प्राप्त भएका ७६ सन्देश खोलेर हेर्दा धेरै चिनेका थोरै नचिनेका शुभेच्छुक र पाठकको रहेछ ।

इमेलकर्ता सबैजसोको सन्देशको सार एउटै थियो– ‘प्रशान्तलाई जिताउन अमूल्य सहयोग पुऱ्याएकामा तपाईंलाई पनि बधाई र धन्यवाद ।’ सात महिनासम्मको खरो प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट चुनिएपछि प्रशान्तलाई लाखौंले शुभकामना दिनु आश्चर्य होइन तर मलाई यति धेरैले धन्यवाद दिनु शुरुमा अनौठो र अपत्यारिलो लाग्यो । इमेल गर्ने नेपालीमा कोही जर्मनीमा नोकरी गर्नेहरु थिए भने कोही हङकङमा बस्ने व्यापारीहरु । कसैले प्रशान्तको तस्वीर पठाइदिन आग्रह गर्दै सन्देश लेखेका थिए भने कसैले उनको स्थायी ठेगाना सोध्दै ।

‘भारतीयले कान्छा, चौकीदार र सिपाहीमात्र भन्ने नेपालीले आज ठूलो सफलता पाएर नौलो परिचय दिएका छन्’ चितवनबाट एक युवतीले पठाएको इमेल सन्देशमा उल्लेख छ ‘सिपाहीलाई आइडल बनाउन भोट गर्ने समग्र शुभेच्छुक र उसको समाचार लेख्ने तपाईंलाई मुरी मुरी बधाई ।’ एकपछि अर्को धन्यवादका सन्देशहरु पढ्दै जाँदा मैंले झल्झली सम्झिएँ कान्तिपुरमा फरक धारका समाचार लेख्ने काठमाडौंका अग्रज सहकर्मी दिनेश वाग्लेलाई । जसले जेठ अन्तिम साता मेरो तत्कालीन कार्यक्षेत्र इलामबाट फोन गर्दा भनेका थिए ‘इण्डियन आइडलमा भिड्दै गरेका दार्जिलिङका प्रशान्त तामाङबारे तत्काल रिपोर्टिङ गर्नु है ।’

अग्रजको सुझावलाई नाइनास्ती गर्नसक्ने कुरै थिएन । तर कस्तो आपत आइपरेको थियो भने इलाममा त्यसबेला सोनी च्यानल आउँदैनथ्यो । टीभी नहेरेकाले कार्यक्रमबारे पूर्णरुपमा अनभिज्ञ थिएँ तर हिम्मत हारिनँ । प्रशान्तको घर पत्ता लगाई परिवारलाई भेटेर रिपोर्टिङ गर्ने योजनासाथ भोलिपल्टै अर्थात जेठ २४ गते दार्जिलिङ आइपुगेको थिएँ । पहिलेपनि आइरहने भएकाले सीमापारीको पहाडीथलो दार्जिलिङ बिरानो ठाउँ थिएन । आइपुग्नासाथ साथीभाईलाई सोधपुछ गर्दा थाहा भयो– चौरस्ता नजिकै तुङसुङ बस्तीमा प्रशान्तको डेरा रहेछ, जहाँ हजुरआमा, आमा र दिदी बस्दारहेछन् । प्रशान्त चाहिं त्यसबेला मुम्बई बसेर पियानो राउण्डमा गाउँदैथिए ।

संयोग यस्तो परेछ, म आएकै दिन प्रशान्तका पक्षमा जनमत बटुल्ने लक्ष्यसाथ ‘हिमालय दर्पण’ ले चौरस्तामा हस्ताक्षर संकलन गर्दैथियो । प्रशान्त टप टेनमा पुग्न एक महिनै बाँकी थियो । दार्जिलिङमा चार घण्टा रिपोर्टिङ गरेपछि त्यसैदिन इलाम फर्केर हतार हतार समाचार सम्प्रेषण गर्दा पनि राती नौ बजिसकेको थियो । भोलिपल्टको कान्तिपुरमा तस्वीरसहित ठूलो आकारमा समाचार प्रकाशित भएपछि नेपालभर प्रशान्तको परिचय फैलियो ।

नेपाली मिडियाले सांगीतिक क्षेत्रलाई राम्रै स्थान दिंदै आएपनि प्रशान्तलाई जति सायद अरु कसैलाई हाइलाइट गरेका थिएनन् । उनलाई आइडल बनाउन मिडियाको मिसन नैं चलेको थियो भन्दा अत्युक्ति हुँदैन । त्यहीभएर केही महिनाका लागि मेरो रिपोर्टिङको मुख्य बिषयनैं ‘इण्डियन आइडलमा प्रशान्तको गायन’ हुनपुग्यो । इलामबाट दार्जिलिङ धाउँदै, परिवारजन र शुभेच्छुकसंग भेट्दै प्रशान्तको सफलताको कथा लेख्दा नेपालीत्वको महत्व बुझ्दै गएँ ।

नेपालीमूलका प्रशान्तको इण्डियन आइडलमा सफलता चुम्दै गर्दा धेरै व्यस्त भएको थिएँ म । चितवन, पोखरा, तनहुँ, काठमाडौं, काभ्रे, मोरङ, धरानलगायतका स्थानबाट प्रशान्तको जित्ने संभावना, पारिवारिक अवस्था र भोट गर्ने तरिकाका बारेमा चासो राखेर दिनहुँ फोन र इमेलमा सम्पर्क गर्नेहरु धेरै थिए । कतिसम्म भने दार्जिलिङ भएका बेला भारतीय मोवाइलमैं फोन गरेर प्रशान्तको खबर सोध्नेहरु लामो समयसम्म कुरा गर्थे । प्रशान्तले एकपछि अर्को श्रृंंखलामा खारिएको गायन प्रतिभा प्रस्तुत गरेपछि उत्साहित शुभेच्छुकले उनलाई आइडलको कामना गर्दै भोटका लागि मलाई थप सम्पर्क गर्थे ।

काठमाडौंका पुरुषोत्तम भट्टराईले हप्तैपिच्छे कुरा गर्दै प्रशान्तलाई जिताउन आइएसडी भोट मात्र गरेनन् पैसै पठाएर उदारता देखाए । चितवनकी सुजता तामाङको महानता झनै ठूलो छ । उनले तीन दिनमैं बटुलेको ३१ हजार रुपैंयाँ प्रशान्तको परिवारलाई म मार्फतै पठाइन् । प्रशान्त टप थ्रीमा पुगेपछि सहयोग गर्नेको लर्को नैं लाग्यो । फिल्मी उद्योगमा आवद्ध काठमाडौंका दिनेश सुब्वा, काभ्रेका निमा पाख्रिन, कान्तिपुर पव्लिकेशन्सका कैलाश सिरोहिया, गोर्खा अभियानका कृष्ण गिरी, मोरङ मधुमल्लाका साइन श्रेष्ठ, धरानस्थित तामाङ घेदुङका पदाधिकारी, क्रिस्टल भिजनका तेज राई, हेयर डिजाइनर निलडेविड कट्वाल, इलामका ट्याक्सी चालक, होटल व्यवसायी आदि प्रशान्तलाई जिताउन महत्वपूर्ण सहयोग पुऱ्याउनेहरु हुन् ।

दार्जिलिङस्थित फ्यान क्लवले प्रशान्तलाई नेपालबाट भोट–खर्च ल्याउने ४० बढी समूह रहेको उल्लेख गर्दै उनीहरुबाट लाखौं रुपैंयाँ हातलागी भएको जनाएको छ । प्रशान्त फाइनल पुगे लगत्तै कतिजना शुभेच्छुक त दार्जिलिङमैं आएर हजारौं रुपैंयाँको भोट गरेर फर्केका थिए । भोट गर्न आएका नेपालीहरु प्रशान्त आइडल भएपछि विजयोत्सवमा चन्द्र सूर्य अंकित झण्डा फहराएर सहभागी हुँदै मेचीखोलाको सीमाना बिर्सेर नेपालीपन सम्झनुपर्ने बताउँदैथिए । पाँच महिनाको अवधिमा मैंले प्रशान्तकै मात्र लगभग २० वटा रिपोर्टिङ गर्दा दार्जिलिङ र नेपालवीचको सम्बन्ध बिगतभन्दा धेरै गाढा भएको अनुभव गरें ।

सिक्किम, भुटान, असम, हङकङ, अमेरिका, बेलायत, बु्रनाई, लखनउ, दिल्ली, लखनउ, देहरादुनजस्ता भिन्न भिन्न ठाउँमा छरिएर बस्ने नेपालीहरु प्रशान्तकै माध्यमले एकजुट भएर अपनत्वको महत्वबोध गर्दैथिए । प्रशान्तलाई औधी सहानुभूति गरेको देखेर दार्जिलिङवासी नेपालप्रति त यसपटक साहैं्र कृतघ्न देखिए । प्रशान्तलाई जिताउन हूलका हूल नेपाली ओइरिएको थाहा पाएर दार्जिलिङका पासाङथेन्डुप लामाले आफ्नो रापखाङ होटलमा निस्शुल्क बस्ने व्यवस्था मिलाइदिए । ‘गोर्खालीको गौरव प्रशान्तलाई माया गरेर आएकालाई बस्न दिनु हाम्रो कर्तव्य थियो’ सातदिनमा ५० बढी नेपाली बसाएका उनले भने ‘आखिर चिताएकै पुग्यो पनि, राम्रै भयो ।’ नेपाली फ्यानलाई खानेबस्ने सुविधा दिएका अरु थुपै्र लज, होटल र रेष्टुरेन्ट पनि प्रशान्तको जितपछि हर्षित छन् ।

टीभीमा हप्तौंसम्म कार्यक्रम नहेरी रिपोर्टिङ गरुञ्जेल प्रशान्तको प्रतिभाबारे अनभिज्ञ थिएँ म । जब उनी टप सेभेनमा पुगेको क्षण टीभीमा हेर्न पाएँ, उनको सरल व्यक्तित्व र आत्मविश्वास देखेर मलाई लाग्यो उनको जित सुनिश्चित छ । त्यतिञ्जेलमा मेरो रिपोर्टिङको कार्यक्षेत्र पनि इलामबाट फेरिएर दार्जिलिङ भइसकेको थियो । टप थ्रीमा पुगेलगत्तै भदौ दोस्रो साता प्रशान्त जब गृहनगर दार्जिलिङ आए, उनका पक्षमा उर्लिएको जनमत देखेर आश्चर्यचकितै भए म । सबैको आँखाको नानी बन्दैगरेका प्रशान्त दार्जिलिङ आउने दिन बिहानै अरु शुभेच्छुक जस्तै म पनि चौरस्ता उक्लिएको थिएँ । एककप चियाबाहेक केही खाएको थिएन ।

सिलिगुडीबाट हिंडेको, खरसाङ आइपुगेको भन्नै खबर सुन्दै प्रशान्तलाई पर्खिरहँदा चार दिउँसो चार बजिसक्दा बल्ल उनी झुल्किए । बस्तीबस्तीदेखि ओइरिएका शुभेच्छुकको भीडले घेरिएका प्रशान्तको तस्वीर खिच्न निकै मुस्किल पऱ्यो । उनको व्यस्तताले कुराकानी गर्ने वातावरण त मिल्दै मिलेन । समाचार पठाउँदा राती नौ बजिसकेको थियो, कोठा पुगेर केही नखाई सुत्नुपऱ्यो । उनलाई एक झल्को हेर्ने चाहना राखेर पछ्याउनेरु गाडी र मोटरसाइकलसहित सिलिगुडी झरेका थिए भने कोही चौरस्ता, सिङमारी, घूम, जोरवङ्ला पुगेका थिए । राती २ बजेसम्म प्रशान्तलाई भेट्न खोज्नेहरु घर र उनी बसेको होटल पुगेका थिए । प्रशान्तलाई भारतको सान बनाउन नेपालीहरु यतिधेरै एकजुट थिए कि, १९८६ आसपास चलेको गोर्खाल्याण्ड आन्दोलनमा पनि यतिको एकता देखिएको थिएन ।

प्रशान्त कोलकाता हुँदै मुम्बई फर्किएर जब फाइनलका लागि छनौट भए दार्जिलिङमा खुसीको सीमा रहेन । उनलाई जिताएरै छोड्ने संकल्पसाथ बालबालिकादेखि बुढापाकासम्म भोट गर्न ओइरिए । त्यसबेलाको माहौल देख्दा लाग्थ्यो ‘एउटा व्यक्तिको जितका लागि लाखौंले यसरी दत्तचित्त भएर कतैपनि भोट नगर्लान ।’ हुन पनि दिनरात नभनी भोट गर्नेहरु प्रशान्तकै लागि मरिमेटेका थिए । एकता नैं बल हो भन्ने पुरानो उक्ति प्रशान्तले यसपटक चरितार्थ गरेर दार्जिलिङवासीलाई सन्देश दिएका छन् । सुरुमा कसैले पत्याएका थिएनन् उनी आइडल हुन्छन् भन्ने ।

रोजीरोटीका लागि प्रहरी सेवामा जागिर खाएका उनी जब २८ हजार प्रतिस्पर्धीलाई उछिनेर इण्डियन आइडल घोषित भए तब दार्जिलिङका नेपालीले बुझे, अधिकारका लागि टुटेर फुटेर होइन जुटेर मात्र सफलता प्राप्त गर्न सकिने रहेछ । विजयोत्सवमा दार्जिलिङवासी अचेल यही सन्देश दिंदैछन् । सबैको बलले प्रशान्त आइडल हुँदा अरु धेरैले पनि सफलता पाएका छन् । प्रशान्तको प्रचारका लागि गीत गाउने सागर किरण दार्जिलिङमा हिजोआज चर्चित छन् भने धेरै कलाकार, चित्रकार, संगीतकार पनि उदाएका छन् । दर्जनौं संघ संस्थाहरु जन्मिएका छन् जसले प्रशान्तलाई जस्तै परेको खण्डमा जोकोहीलाई सहयोग गर्ने प्रतिवद्धता साँचेका छन् ।

आइडल घोषित भएपछि प्रशान्तले जेजति सेवा, सुविधा, मान र सम्मान पाउँदैछन् त्यो उनको प्रतिभासंगै समग्र नेपालीको योगदानको उपज हो । दार्जिलिङस्थित फ्यान क्लवका अगुवा तेन्जिङ खाम्बोछेका भनाइमा ‘प्रशान्त समग्र नेपालीका एकजना त्यस्ता प्रतिनिधि पात्र हुन्, जसले भारतका सान बनेर गोर्खालीको असली पहिचान दिएका छन् ।’ प्रशान्तलाई अब सबैले थप प्रोत्साहन दिएर उत्कृष्ठ नेपाली गायक बन्ने मौका दिनुपर्ने सबैको चाहना छ ।  

माईसंसारबाट साभार (त्यहीबेलाको तस्बिर बेनुपले खिचेका हुन्)

ताजा खबर