निर्माण भयो नेपालको दोस्रो लामो पुल 

२०७६ कार्तिक १३ बुधबार ०७:१२:०० मा प्रकाशित

 

तुलसीपुर । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । 

अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२र७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६र७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना  कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए । “पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो”, उनले भने, “तर सम्झौता अवधि पूरा गर्नु चार महीनाअघि नै हामीले काम पूरा गरेका छौँ ।”

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले बताए। उक्त पुलको आउँदो माघ महीनामा उद्घाटन हुनेसमेत उनको भनाइ छ । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । 

“पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो”, उनले भने, “भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो । अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ ।”

यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ  । जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ । तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् ।  पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए। रासस

ताजा खबर